• ६ वैशाख २०८१, बिहिबार

हाम्रो सम्पदा

सेनकालीन पाल्पाको भैरव मन्दिर (फोटो फिचर)

blog

पाल्पा, फागुन ५ गते । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा अवस्थित सेनकालीन भैरवको मन्दिर प्रख्यात रहेको छ। यो मन्दिर समुन्द्र सतहदेखि एक हजार ४७० मिटर उचाइ अर्थात् प्राकृतिक सम्पदाले भरिपूर्ण डाँडाको टाकुरामा रहेको छ । जसको क्षेत्रफल ११ रोपनी ४ आना छ।

यस पाल्पा भैरव मन्दिरको स्थापना मुकुन्द सेन प्रथमले गरेको जनश्रुति रहेको छ। मुकुन्द सेन प्रथमले वि.स. १५८१ साल फाल्गुण १९ गते माघ कृष्ण षष्ठिका दिन विक्रम सेन, भुवन सेन र रुद्र सेन सहित ठुलो फौज लिएर काठमाडौँमा हमला गरेका थिए। त्यसको १३ महिनापछि पुनः उनले काठमाडौँमा हमला गरे। पटक-पटक काठमाडौँमा हमला गरेपछि काठमाडौँबाट भैरवको मूर्ति ल्याएको भन्ने भाषा वंशावलीमा उल्लेख गरिएको छ। यी सन्दर्भलाई जोडेर हेर्दा मच्छिन्द्रनाथको जात्रामा निकासीराख्याको भैरवको मूर्ति मुकुन्द सेन प्रथमले ल्याएर पाल्पामा स्थापना गरेका थिए भन्ने बोध हुन्छ।

तले शैलीको यस मन्दिर सेनकालीन प्रसाद ब्लाईन्ड बिँडो भएकोले राणाकालीन भवन अनि कङ्क्रिट भवनले मल्लकालीन, सेनकालीन र राणाकालीन स्थायित्व कलाहरू यस मन्दिरमा देख्न सकिन्छ। यस मन्दिरको चौकमा अजंगको त्रिशूल लगायत विभिन्न साल अङ्कित घण्टहरू रहेका छन्। मल्लकालीन कलाले निर्माण गरिएको गजुर भएको यस मन्दिरको माथिल्लो तलामा सर्वसाधारणका लागि दर्शनार्थ निकै नै कलात्मक र आकर्षक कीर्तमुख भैरवको मूर्ति स्थापना गरिएको छ। यस मन्दिरको खास भैरवलाई हेर्न नहुने मान्यता रहेको छ। उक्त भैरवको मूर्ति मन्दिरको भुईँ तलामा रहेको छ। जहाँ यस मन्दिरका पुजारी बाहेक सर्वसाधारणहरूलाई प्रवेश निषेध गरिएको हुँदा भक्तजनहरूले बन्द ढोकामा पूजा अर्चना गर्ने गरेका छन्। नजिकको कोठामा कालीको मूर्ति रहेको छ। दश महाविधाका दश भैरवमा कालीको महाकाल भैरवसँगको सामीप्य हुने भएकोले खास भैरव मूर्ति महाकाल भैरव भएको यस मन्दिरमा विगत २१ वर्षदेखि पुजारी रहेका कमलनाथ योगी बताउनु हुन्छ।

अन्य मन्दिरको तुलनामा यस मन्दिरको पूजा गर्ने विधि पनि फरक शैलीको रहेको छ। अखण्ड धुनी गरिने यो मन्दिरमा पूजा गोरक्षनाथ सम्प्रदायका योगीहरूबाट हुने गर्दछ। यस मन्दिरमा विशेष गरी वैशाख, मङ्सिर र नवदुर्गाको समयमा भक्तजनहरूको अत्यधिक घुइँचो लाग्ने गर्दछ। यस मन्दिरमा पूजा र बलीको लागि कुनै बार र तिथिको छेकबार रहेको छैन। यस मन्दिरमा  भाकल पूजा, क्षमा पूजा र पन्च बली पूजा हुने गर्दछ र पूजामा प्रसादीको रूपमा चढाइने रोट भनिने विशेष प्रकारको प्रसादी चढ्ने र यस मन्दिरको नित्य पूजा विधि पनि विचित्रको रहेको पुजारी कमलनाथ योगी बताउनु हुन्छ।

दिनको करिब ३ वा ४ बजे पुजारीले रातो कपडाले मुख छोपी, दाहिने हातका औँलाहरूमा फूलपाती सिउरी जल घडाको मुखलाई पनि रातो कपडाले छोपी दाहिने काँधमा बोकी कसैसँग नबोली, सोही ठाउँमा रहेको प्राचीन जय धाराबाट जल लिएर पुजारी आउँछन्। जल मन्दिरमा भित्रिएपछि भक्तालुहरूको पूजा लिने गरिँदैन। यो जल भोलीको नित्य पूजाको लागि प्रयोग गरिन्छ। बिहान निशान्तको बेला जागा भई पुजारीले स्नान गरी पहिले धुनी पूजा र घण्ट पूजा गरिन्छ। तल्लो तलामा रहेको खास भैरव जुन पुजारीहरू बाहेक अरूहरूले हेर्न नहुने मान्यता रही आएको उक्त भैरवको विशेष सिँगार पूजा गरिन्छ। तत्पश्चात् माथिल्लो तलामा रहेको भैरवको पूजा गरिन्छ, जुन सर्वसाधारणहरूले पनि पूजा अर्चना गर्दछन्। तेस्रो पूजा कालीको हुने गर्दछ। घण्टाको नाद र आरतीसँगै हुने यस नित्य पूजा प्रत्येक शनिवार र मङ्गलवार तीन वटा रोट पेलेर महाकाल भैरव, कीर्तमुख भैरव र कालीलाई एक एक वटा चढाइन्छ।

यस मन्दिरमा नाथ समुदायहरूको पुजारी रहने परम्परा रहिआएको छ। यस मन्दिर परिसरमा अन्य विभिन्न प्राचीन देव देवताहरूको मूर्ति, सुन्दर बगैँचाले सजिएको छ। उच्च डाँडामा रहेको यस मन्दिरबाट विभिन्न हिमश्रृंखलाहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। मन्दिरलाई व्यवस्थित रूपमा संचालानार्थ श्री भैरवनाथ मन्दिर व्यवस्थापन समिति समेत गठन गरिएको छ।