• १३ मंसिर २०८१, बिहिबार

सेवा अवधिको अनुभव राष्ट्र उत्थानमा लगाउन आग्रह

blog

सचिन पोख्रेल

इटहरी, फागुन ३ गते । प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित ज्ञान, सीप, अनुभव र क्षमता आफ्नो गाउँ घर समाज र राष्ट्रको उत्थानका लागि प्रयोग गर्न आग्रह गर्नुभएको छ । सेवा अवधिको क्रममा आफूले आर्जेको ज्ञान र सीप उच्च आत्मसम्मानका साथ आफ्नो समाज र राष्ट्रको हितमा समर्पित गर्न प्रधान सेनापति शर्माले आग्रह गर्नुभएको हो ।

इटहरीस्थित सेनाको पूर्वी पृतना हेडक्वाटरमा बिहीबार भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरूको सहभागितामा आयोजित भूतपूर्व सैनिक सम्मेलन–२०८० को उद्घाटन गर्दै प्रधान सेनापति शर्माले सो धारणा व्यक्त गर्नुभएको हो । 

प्रधान सेनापति शर्माले भूतपूर्व सैनिकका साथै बहालवाला सैनिकसमेतलाई सम्बोधन गर्दै राजीनामा दिएर विदेश पलायन हुनुभन्दा यही बसेर देश र जनताको सेवामा समर्पित रहन पनि अनुरोध गर्नुभएको छ । उहाँले भूतपूर्व सैनिक तथा उनीहरूको परिवार र सैनिक एकल महिलाहरूको इच्छा, आकाङ्क्षा तथा आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने क्रममा सैनिक परिवारकै रगत पसिनाबाट आर्जित कल्याणकारी कोषलाई पारदर्शी रूपमा सदुपयोग गर्दै लगिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियत कर्जामार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा प्रदान गर्ने र कल्याणकारी सेवा सुविधालाई थप विस्तार गर्दै लैजाने अभियानमा आफूहरू रहेको प्रतिविद्धतासमेत व्यक्त गर्नुभयो । 

“भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोसा” भन्ने नाराका साथ आयोजित सम्मेलनमा प्रधान सेनापति शर्माले भन्नुभयो, "नेपाली सेनाको कल्याणकारी कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै दीर्घकालीन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरी अवकाश प्राप्त सैनिक र परिवारजनको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन हामी सदैव प्रयत्नशील रहेको छौँ ।"

उहाँले सेनाको कल्याणकारी कोषमा गत पुस मसान्तसम्म ७५ अर्ब ९० करोड ५७ लाख रुपियाँ मौज्दात रहेको र कोषमार्फत गरिएको लगानीसमेतलाई आधार मान्दा कोषमा जम्मा ८० अर्ब ६६ करोड १२ लाख रुपियाँ रहेको बताउँदै सोही कोषको व्याजबाट आउने रकमलाई खर्चेर सेनाले आफ्ना कल्याणकारी गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 

प्रधान सेनापति शर्माले महिला सैनिक, सैनिक विद्यालयमा अध्ययनरत छात्रा लगायतको स्वास्थ्यलाई दृष्टिगत गरी महिला मैत्री वातावरण निर्माण गर्ने क्रमलाई सेनाले प्राथमिकता दिएको र यस क्रममा सेनिटरी प्याड उत्पादन गरी वितरण गर्न थालिएको बताउनुभयो । 

त्यसैगरी, वहालवाला र भूतपूर्व सैनिकको दम्पतीका लागि स्वास्थ्य बिमाबापत पाउँदै आएको प्रति व्यक्ति पाँच लाख बराबरको रकमलाई बढाएर प्रति व्यक्ति सात लाखको दरले जम्मा चौध लाखसम्मको स्वास्थ्य बिमा रकम पाउनसक्ने नीतिलाई कार्यान्वयनमा ल्याएको, वहालवाला र भूतपूर्व सैनिकका फरक क्षमता भएका सन्तानलाई शिक्षा र सिपमूलक ज्ञान दिने उद्देश्यले फरक क्षमता वरदान विद्यालय आगामी शैक्षिक सत्रदेखि सेनाले सञ्चालनमा ल्याउने प्रधान सेनापति शर्माको भनाइ छ । 

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले अवकाश प्राप्त सैनिक व्यक्तिहरूले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाको कल्याणकारी बोर्डले ध्यान केन्द्रित गरेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत तण्डुलका अनुसार सैनिक कल्याणकारी बोर्ड अन्तर्गत प्रत्येक प्रदेशमा कार्यालय खडा गरी सो क्षेत्रमा बसोबास गर्ने अवकाश प्राप्त सैनिकहरूको तथ्याङ्क सङ्कलन गर्दै आइरहेको छ । यस क्रममा प्रत्येक जिल्लामा भूपू सैनिक फोकल पर्सन नै तोकेर जिल्ला भरिका अवकाश प्राप्त सैनिकहरूसँग सम्पर्कमा रहने गरिएको पनि उहाँको भनाइ छ । 

सम्मेलनमा इटहरी निवासी ९३ वर्षीय भूपू ज्येष्ठ हवल्दार गङ्गाबहादुर कटुवाल र विराटनगर निवासी ९० वर्षकी एकल महिला श्रीमती भीमकुमारी लुइँटेल खत्रीलाई सम्मान गरिएको थियो । समारोहमा नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल लगायत बहालवाला र अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरूसमेतको उपस्थिति थियो। 

यस्तै, सम्मेलनमा कोशी प्रदेश अन्तर्गत सुनसरी, मोरङ लगायतका विभिन्न जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा उनीहरूको परिवार र सैनिक एकल महिलाहरूको सहभागिता थियो ।