• १३ साउन २०८१, आइतबार

दुर्गम गुर्जामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन

blog

स्वास्थ्य चौकी । फाइल तस्बिर

म्याग्दी, फागुन ३ गते । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । 

सङ्घीय सरकारको समपूरक अनुदानमा धवलागिरि गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको छ वटा स्थानीय तहको ४५ वडामध्ये सडक यातायातको सुविधा नभएको वडा गुर्जा मात्र हो । पाँच वटा कोठा र एकतले भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री रहेको धवलागिरि गाउँपालिकाका पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । 

भवन निर्माणका लागि एक करोड ३९ लाख पाँच सय ९४ मा ठेक्का लिएको पौडेल निर्माण सेवा बागलुङले एक करोड १७ लाख ३४ हजार एक सय १७ भुक्तानी पाएको उहाँले बताउनुभयो । बिरामीको स्वास्थ्य परीक्षण, उपचार, औषधि भण्डारण, प्रसूति, प्रशासनका लागि छुट्टाछुट्टै कक्ष रहेका छन् । निर्माण सकिएपछि स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । 

“यसअघि कच्ची र जीर्ण भवनको साँघुरा कोठामा स्वास्थ्य चौकी सञ्चालन भएको थियो”, उहाँले भन्नुभयो, “नयाँ भवन बनेपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई सहज भएको छ ।” अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जामा दुई सय ५० घरधुरी छन् । गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन जङ्गल र भिरको बाटोमा पैदलयात्रा गर्नुपर्छ ।

धवलागिरि गाउँपालिकामा पछिल्लो एक वर्षयता दुई करोड ७३ लाखको लागतमा गुर्जा र मुनामा स्वास्थ्य चौकी, ताकम र लुलाङमा वडा कार्यालय भवन निर्माण भएको छ । हिमालयन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ३९ लाख ७२ हजार ८१ मा ठेक्का लिएको मुना स्वास्थ्य चौकीको दुईतले सभाहलसहित नौकोठे भवन निर्माणमा पछिल्लोपटक ३७ लाख पाँच हजार दुई सय छ खर्च भएको छ ।

थापा निर्माण सेवाले ठेक्का पाएको लुलाङ वडा कार्यालय भवन निर्माणमा ५७ लाख ५९ हजार छ सय ९७ खर्च भएको सबइन्जिनियर रावलले बताउनुभयो । यसअघि ४७ लाख खर्च भएको ताकम वडा कार्यालयको भवनलाई पूर्णता दिन पछिल्लोपटक थप १४ लाख ५९ हजार पाँच सय ९२ खर्च भएको छ ।

लुलाङको वडा कार्यालय वि.सं २०७७ र अन्य तीन वटा भवन २०७८ मा निर्माण सुरु भएको थियो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, ताकममा पाँच शय्या क्षमताको अस्पताल, मुदीमा स्वास्थ्य चौकी र मराङमा वडा कार्यालयको भवन निर्माणाधीन छन् । सेवा प्रवाहलाई सहज र व्यवस्थित बनाउन गाउँपालिका, स्वास्थ्य चौकी, अस्पताल र वडा कार्यालय भवन निर्माणमा जोड दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । रासस