• १३ मंसिर २०८१, बिहिबार

दसगजामा हुँदै गरेको निर्माण रोकियो

blog

प्रेम अधिकारी 

पशुपतिनगर, फागुन ३ गते । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिका–२ स्थित पुलखोलाको दसगजामा निर्माण गर्दै गरेको पक्की संरचनाको काम तत्कालका लागि रोकिएको छ । 

सीमाको जङ्गे पिल्लर ७०/२ र ७०/३ को बिचमा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले रातारात संरचना निर्माण गर्न थालेपछि विवाद सुरु भएको थियो । स्थानीय, नेपाली सुरक्षा निकाय र भारतीय सुरक्षा अधिकारीबिच भएको छलफलपछि तत्काल भारतीय पक्षले उक्त संरचना निर्माणको काम रोक्ने मौखिक सहमति भएको छ । 

उक्त क्षेत्रमा केही दिनअघिदेखि भारतीय सुरक्षा निकायले सिमेन्ट, इँटा, गिट्टी, बालुवा प्रयोग गरी ‘गेस्ट हाउस’ बनाउन थालेको थियो । सूर्याेदय नगरपालिका–२ का वडाध्यक्ष डिकबहादुर बम्जनले भारतीय पक्षले दसगजामा पक्की संरचना निर्माण गरेको जानकारी दिनुभयो । उहाँले भारतीय पक्षले संरचना निर्माण गरेको जानकारी पाउनासाथ त्यसलाई रोक्न पहल थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडा प्रतिनिधि, सीमा प्रशासन, सशस्त्र प्रहरी र स्थानीयले स्थलगत अवलोकन गर्दा भारतीय पक्षले पक्की संरचना बनाइरहेको ठाउँ दसगजा नै भएको ठहर गरिएको छ । 

स्थानीय सीमासम्बन्धी जानकार मिलन क्षेत्रीले भारतीय सुरक्षा निकायले संरचना बनाएको स्थान दसगजा नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय पक्षले एकलौटी रूपमा गुगल म्याप बनाएर त्यसका आधारमा आफ्नो भूमि भनेर दाबी गर्दै आएको छ तर स्थलगत रूपमा हेर्दा उक्त भूमि दसगजा नै हो ।”

वडा कार्यालयको पहलमा सर्वपक्षीय बैठक बसेर लिखित रूपमै दसगजा मिचिएकोबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । पशुपतिनगरमा बसेको सर्वदलीय बैठकले दसगजामा भइरहेको संरचना निर्माण कार्य तत्काल रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार सीमा प्रशासन र वडामार्फत प्रशासनमा ध्यानाकर्षण गरिएको वडाध्यक्ष बम्जनले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरी बल इलामका प्रमुख प्रहरी उपरीक्षक द्रोण विष्टले भन्नुभयो, “भारतीय सुरक्षा अधिकारीसँगको छलफलपछि तत्कालका लागि उक्त संरचनाको काम अगाडि नबढाउने सहमति भएको छ ।” उहाँले दुवै देशका अधिकारीले दोहोरो सर्भे गरेपछि मात्र उक्त क्षेत्रको वास्तविक अवस्था यकिन हुने बताउनुभयो । 

सन् २०१२ मा एसएसबीले उक्त क्षेत्रको दसगजामै टेन्टसहितको क्याम्प बनाएको थियो । त्यस ठाउँमा ‘फेन्सिङ’ गर्न खोजेको थियो । अहिले त्यही ठाउँमा पक्की गेस्ट हाउस बनाउन थालेको छ । इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२.५ किलोमिटर सीमा क्षेत्र रहेको छ । जसमा विभिन्न ठाउँमा पटक पटक सीमा बिवाद हुँदै आएको छ ।