• १३ साउन २०८१, आइतबार

तिलौराकोटको उत्खननमा भेटियो यू आकारको बौद्ध मन्दिर

blog

तिलौराकोटमा उत्खनन गर्दा भेटिएको यू आकारको बौद्ध संरचना । तस्बिर : गोरखापत्र

नारद कोहार

तौलिहवा, फागुन २ गते । प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ ।

तिलौराकोटको केन्द्रिय संरचना परिसरको पश्चिमतर्फ मध्यभागमा यस्तो संरचना फेला परेको हो । विगतका वर्षदेखि नै केन्द्रीय संरचना परिसर क्षेत्रको विस्तृत जानकारी लिन उत्खनन भइरहेको पुरातत्व विदहरुको भनाई छ ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार केन्द्रिय संरचना परिसरको उत्खननमा विभिन्न चरणमा निर्माण भएका संरचनाका साथै यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको बताउनुभयो । उहाँले केन्द्रीय संरचना परिसरमा बिभिन्न चरणमा निर्माण भएका सुरक्षा पर्खाल, बिहार, स्तुपा, बिहारको मध्य भागमा यू आकारको बौद्ध धर्मसँग सम्बन्धित  संरचना पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस वर्षको उत्खनन गर्दा प्राप्त हुन गएको स्तूपा सारनाथ, नागार्जुन कुण्ड र तक्षशिला जस्ता महत्वपूर्ण तीर्थ स्थलमा पाइएको छ । उत्खननबाट प्राप्त संरचनालाई पुरातत्वविदहरुले निकै महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् । यद्यपि प्राप्त संरचनाको विस्तृत अध्ययन, अनुसन्धान गर्न अझै बढी समय लाग्ने छ । केन्द्रिय संरचना परिसर क्षेत्रको पश्चिमतर्फ मध्यभागमा प्राप्त स्तूपलगायत संरचनाहरुको थप उत्खनन गर्न बाँकी छ ।’’

लुम्बिनी र कपिलवस्तु क्षेत्र शाक्यमुनि बुद्धको जन्मस्थल साथै उनका पिताको कुल’ शाक्यहरूको राजधानीसमेत थियो त्यसैले यस क्षेत्रमा बुद्धको समयदेखि नै बौद्ध धर्मको प्रचारप्रसार र विकास भएको मानिन्छ । बुद्धको समयदेखि नै र त्यसपछि यस क्षेत्रमा प्रशस्त स्तूपहरूको निर्माण हुने कुरा पनि स्वाभाविक थियो । इसापूर्व तेस्रो शताब्दीताका पनि यस क्षेत्रमा स्तूपहरू रहेको प्रमाण पाइन्छ । 

कपिलवस्तुको निग्लिहवाको स्तम्भ अभिलेखबाट त्यहाँ कनकमुनिको जन्मस्थानमा रहेको स्तूपलाई सम्राट अशोकले जीर्णोद्धार गरी ठूलो बनाएको पुरातत्वविदहरुको भनाइ छ । राजा अशोकले बुद्धको जन्मस्थान लुम्बिनीमा समेत स्तूपको निर्माण गराएका थिए । इसाको पाँचौँ शताब्दी र सातौँ शताब्दीमा त्यस क्षेत्रको भ्रमण गर्ने चिनियाँ यात्री क्रमश: फाहियान र हेनसाँगले समेत त्यस क्षेत्रमा अनेकौँ स्तूपहरू देखेको आफ्नो यात्रा विवरणमा लेखेका छन् ।

केन्द्रीय संरचना परिसर क्षेत्रमा भूभौतिक सर्वक्षणवाट १०० मिटर लम्बाइ र १०० मिटर चौडाइ रहेको क्षेत्रफलमा फैलिएको मुख्य संरचना परिसर फेला परेको थियो । त्यस संरचनाको उत्खनन मार्फत प्रमाणिकरण गर्न सन २०१५/१६ देखि निरन्तर उत्खनन भैरहेको छ । विगतको उत्खननवाट त्यस ठाँउमा सुरक्षा पर्खाल, प्रवेशद्वार, विहारको संरचना, चौकिदार बस्ने कोठालगायतका भग्नावशेष फेला परेको थियो ।

विगत वर्षहरूमा मुख्य दरबार क्षेत्र, उत्तरी द्वार, मौर्यकालीन पोखरी, समयमाई मन्दिर पछाडि, शिवगढ, कन्थक स्तूपलगायतको क्षेत्रमा उत्खनन भइसकेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताउनुभयो ।

नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिएको हो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।