• १३ साउन २०८१, आइतबार

गरिव र विपन्नले उपचार पाउने क्रम बढेको छ : स्वास्थ्यमन्त्री बस्नेत

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । फाइल तस्बिर

काठमाडौँ, फागुन २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गर्नुभएको छ । 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नि:शुल्क उपचार गरिदिनुपर्‍याे भन्ने कुरा नेतादेखि लिएर धेरै खालका मानिसले भन्न आउँछन् । निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण, अरु खर्च कसरी धान्ने र त्यो अस्पतालमा त्यो रकम छ कि छैन, त्यो खालको सुविधा दिनलाई भन्नेमा साँच्चै भन्दा अमुक छ । तर संविधानमा लेखिसक्यौँ, शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार हो । भाषण गर्दा हामी थाक्दैनौँ । तर त्यो कसरी गर्ने भन्ने थाहा छैन । म आएपछि केही व्यवस्थित गरेका छन् । अस्पताल इक्विपमेन्टहरु खरिदका लागि सरकारले भन्सार छुट दिएको छ । त्यो सुविधा दिएबापत उहाँहरुले पनि सम्बन्धित अस्पतालहरुले सहयोग गर्नुपर्ने हो, सहयोग गरेको अवस्था थिएन । यसलाई हामीले अलि व्यवस्थित गरेका छौँ ।’’

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘अहिले सातै वटा प्रदेशमा स्थानीय सरकार, प्रादेशिक सरकार र सङ्घ सरकारको पहलमा धेरै कार्यक्रम गर्दै हिँडेका छौँ । प्रादेशिक अस्पतालका जनरल बेडहरु सबै निःशुल्क भएका छन् । अहिले गरिब विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको छ । संविधानमा लेख्ने एउटा कुरा, चाहे शिक्षा वा स्वास्थ्य होस् । त्यो कार्यान्वयन हुनुपर्छ । अब उप्रान्त पैसा नभएको र गरिब कुलमा जन्मिएका कारण स्वास्थ्य उपचार नपाएर कोही नेपाली मर्दैनन् ।’’

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको पनि बताउनुभयो ।