• १२ असार २०८१, बुधबार

यतिको उडान फागुन ५ गतेदेखि नेपालगन्ज–जनकपुर

blog

नेपालगन्ज–जनकपुर हवाई उडान सुरु गर्न तयार नेपालगन्ज विमानस्थल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १ गते । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुन थालेको छ । 

फागुन ५ गते र ७ गते लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेश प्रदेशको जनकपुरसम्म यति एयरलाइन्सले सिधा हवाई उडानको सुरुवात गर्न लागेको हो । 

केही दिनपहिले मात्र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको यस क्षेत्रका पर्यटन व्यवसायीको बैठकले नेपालगन्ज–जनकपुर उडानका लागि हवाई कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेर अनुरोध गरेपछि यति एयरलाइन्सले सो उडान सुरु गर्न थालेको हो । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेश प्रदेशको संयोजनमा यति एयरलाइन्सले चार्टर उडान गर्ने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । 

यति एयरलाइन्स नेपालगन्जका प्रमुख दिलीप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा धार्मिक पर्यटन विकासका लागि यही फागुन ५ गते शनिबार र ७ गते सोमबार नेपालगन्जदेखि जनकपुरका लागि दुई वटा चार्टर उडान गरिने बताउनुभयो । 

उहाँले अहिले यी दुईवटा उडान गरेर यात्रुको अवस्था बुझ्ने काम गरिने जनाउँदै यात्रुको माग र सङ्ख्या राम्रो देखियो भने यो उडानलाई नियमित गराउने कार्य गरिने बताउनुभयो । 

यसअघि केही वर्ष पहिले नेपालगन्ज–पोखरा उडान सुरु गर्नका लागि पनि सुरुमा चार्टर उडान गरिएको थियो । पछि यात्रुको सङ्ख्या बढेपछि नियमित उडान सुरु गरिएकोमा अझै पनि बुद्ध एयरले उडान गर्दै आएको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।