• १२ साउन २०८१, शनिबार

डडेल्धुरामा एक बालिका पटक-पटक बलात्कृत

blog

फाइल तस्बिर

डडेल्धुरा, फागुन १ गते । आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटक-पटक बलात्कृत हुनु परेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घटना खुल्न आएको हो । 

उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ । बालिका आइतबार उपचारका लागि आफन्तसहित परशुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो । 

प्रहरीले अनुसन्धान गर्दा बालिका पटक-पटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताउनुभयो । गत वर्ष भदौमा काका नातापर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । 

पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको छ । पीडित पक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताउनुभयो । 

बालिका वृद्ध हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुन सक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ । रासस