टीकापुर, फागुन १ गते । टीकापुर गौशाला सुधार योजना सुरु भएको छ । गौशाला सुधार गर्न २०८० जेठ १४ गतेदेखि नगरपालिकाबाट व्यवस्थापनको जिम्मा लिएको सामुदायिक पशु चौपाया व्यवस्थापन समिति सक्रिय रहेको छ । 
समितिले जिम्मा लिएपछि आहारा खोजी, टहरा व्यवस्थापन, खोप लगाउने काम भइरहेको छ । यसअघि टीकापुर नगरपालिकाले वर्षमा २० लाख बजेट दिए पनि त्यसबाट आठ जना गोठालालाई मात्र पारिश्रमिक दिन र नुन किन्न मात्रै पैसा पुग्दथ्यो । 
समितिले मङ्सिर १६ देखि २६ सम्म गौशाला व्यवस्थापनका लागि महायज्ञ लगाएर गाईका लागि पराल र दश लाख जति आम्दानी गरेको छ । महायज्ञमा बोलेको दानबाट ६० डन्लप (गोरुगाडा) जति पराल सङ्कलन भएको छ भने आम्दानीबाट दुई हजार ८०० वर्ग फिटको छाप्रो बनिरहेको छ । प्रदेश सरकारबाट विद्युतीय रिक्सा पाएपछि टीकापुर र आसपासका गाउँबाट निःशुल्क पराल, हाटबजारमा खेर गइरहेको तरकारी सङ्कलन गरी गाईहरूलाई खुवाउन सुरु गरिएको समितिका सचिव द्वारिका जोशीले बताउनुभयो ।
नयाँ समिति आइसकेपछि त्यहाँ स्थापना भएको गोबर ग्याँस प्लान्टबाट निस्केको जैविक मललाई प्रतिकिलो दश रुपियाँका दरले बिक्री गरिरहेको, पूजामा प्रयोग गर्न गोबरको दियो र  धूप उत्पादन भइरहेको छ । परीक्षणका रूपमा उपदान गरेको गोबरको दियो, धूप र मल बिक्रीबाट ८६ हजार आम्दानी भएको कोषाध्यक्ष रुथ सुवेदी बताउनुहुन्छ । 
स्थानीय स्तरमा गाईहरू पाल्न छोडेपछि त्यसलाई व्यवस्थापन गर्नु स्थानीय सरकारलाई चुनौतीपूर्ण छ । ‘सयौँ गाई गोरुलाई व्यवस्थापन गर्ने काम टीकापुरमा भइरहेको छ भन्ने सुनेर अवलोकन गर्न आएँ यहाँ पुगेपछि सुने भन्दा पनि फरक पाएँ,’ डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद भन्नुहुन्छ, ‘ग्याँस उत्पादन, दियो मल उत्पादन भइरहेको रहेछ यो सिक्न लायक काम रहेछ आम्दानी पनि हुने देखिन्छ ।’ बडिकेदार र जोरायल गाउँपालिकाले तेलेको लेकमा संयुक्त रूपमा छाडा पशु चौपाया व्यवस्थापन गरिरहेको छ ।
ठुलो चुनौती ठुलै सम्भावना
गाईहरू व्यवस्थापन गरेर आम्दानी लिन सकिने र रोजगारी सृजना गर्ने सम्भावना देखिएको छ तर यसमा लगानी बढाएर निरन्तरता दिन चुनौतीपूर्ण रहेको यसमा संलग्नहरू बताउँछन् । 
गौशाला व्यवस्थापन समितिका सचिव द्वारिका जोशी आम्दानीका स्रोतहरू पहिचान गरी परीक्षण भैसकेका बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘गाईका नाममा गरेको महायज्ञमा दश लाख उठ्यो, प्रतिकिलो दश रुपियाँका दरले मल बिक्री भइरहेको छ गाई प्रवेश बापत ५००, ब्याएको गाईको तीन हजार, तर्पणका लागि लिन चाहे प्रति गाई एक हजारका दरले दिइरहेका छौँ लिई रहेका छन् ५५ परिवारलाई गोबर ग्याँस वितरण भइरहेको छ उनीहरूले प्रति युनिट ३० रुपियाँका दरले तिरे १५ किलो ग्याँस एक हजार रुपियाँभन्दा कममा प्राप्त हुन्छ, दियो धूपको बजारीकरण गरेर आय गर्न सकिन्छ ।’
टीकापुरमा गौशाला व्यवस्थापन भएपछि जानकी गाउँपालिकाबाट वार्षिक २० लाख दिने गरी ५०० जति पशु चौपाया स्थानान्तरण गरिएका छन् । गौशालामा हजारको सङ्ख्यामा गाईहरू भरिएका छन् । सबै गाईको उचित व्यवस्थापन गर्न चरन, घाँस, पराल सङ्कलनका साथै व्यवस्थापनका लागि नगदको पनि खाँचो छ । सुदूरपश्चिम प्रदेश सरकारले आह्वान गरे अनुसार परियोजना पनि पेस गरिएको छ ।
बजारबाट खेदिएका गाईहरू भने गौशालामा जोगाउन धौ भइरहेको छ । बजारबाट छाडा छोडिएका गाई र बाच्छाहरू प्लास्टिक खाएका हुन्छन् गौशालामा रहँदा स्वतन्त्रता पाउँदैन आहारा पनि घट्छ त्यस्ता पशुहरू तनाव झेल्न नसकी मर्ने गरेका टीकापुर नगरपालिकाका पशु सहायक दीपक बोहरा बताउनुहुन्छ ।
                                                             
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                