• १४ मंसिर २०८१, शुक्रबार

सार्वजनिक सुनुवाइमा न्यून सहभागिता

blog

तानसेन समाचारदाता

तानसेन, फागुन १ गते । पाल्पा जिल्लाका १० वटा स्थानीय तहले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्वसाधारणको सहभागिता न्यून देखिएको छ । स्थानीय तहबाट भइरहेका विकास निर्माणका काम, दैनिक सेवा तथा अन्य विविध विषयमा गुनासो सुन्नका लागि गरिएको उक्त कार्यक्रममा सर्वसाधारणको सहभागिता कमजोर देखिएको हो ।

यस जिल्लाका दुई नगरपालिका तानसेन, रामपुरसहित आठ पालिकाले गत आव र चालु आवको अर्धवार्षिक कार्यक्रमको सार्वजनिक सुनुवाइ गरिरहेका छन् । उक्त सुनुवाइमा जनप्रतिनिधि र कर्मचारीको मात्र बढी सहभागिता हुने गरेको रैनादेवी छहरा–४ का स्थानीय कमल घिमिरेले बताउनुभयो । पालिकाले आयोजना गरेको कार्यक्रममा सर्वसाधारण नागरिकलाई सहभागिता गराउन कन्जुस्याइँ गरिएको उहाँको भनाइ छ । पालिकाले सार्वजनिक सुनुवाइमा सर्वसाधारणको सहभागितालाई बेवास्ता गर्दा यस्ता कार्यक्रम प्रभावकारी हुन नसकेको सर्वसाधारण बताउँछन् । जनप्रतिनिधि  तथा कर्मचारी जनताको गुनासो सुन्नेभन्दा पनि सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी बाध्यताका कारण औपचारितामा मात्र सीमित बनेका स्थानीयवासीको आरोप छ । 

यस जिल्लाका अधिकांश पालिकाले गरेको सार्वजनकि सुनुवाइ कार्यक्रम केवल पालिकाका जनप्रतिनिधि र कर्मचारीको भाषण सुन्ने काममा मात्र सीमित बनेको नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष गोविन्द भट्टराईले बताउनुभयो । 

पालिकाले गरेका सार्वजनिक सुनुवाइमा सेवाग्राही र अन्य सर्वसाधारण नागरिक, नागरिक समाजको सहभागिता कम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सुनुवाइमा पालिकाभित्रका कर्मचारी, जनप्रतिनिधि, विपक्षी दलका केही नेताको मात्र सहभागिता देखिन्छ, आमनागरिकको सहभागिता ज्यादै न्यून पाइएको छ ।” जनताको गुनासो सुन्ने, गुनासो राख्ने सर्वसाधारणको सहभागिताको पक्ष धेरै कमजोर रहेको उहाँले बताउनुभयो । नागरिक सहभागी नहुँदा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिमा गुनासो सुन्नै नसक्ने प्रवृत्ति हाबी भएका कारण जनसहभागिता न्यून देखिएको कतिपयको बुझाइ छ । पालिकाको कामकारबाहीप्रति गुनासो राख्यो, उसलाई अर्कोदिनदेखि विभिन्न तवरबाट दबाब दिने, एक्ल्याउने गरिएको जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले बताउनुभयो । गुनासो सुनेर आफूलाई सुधार गर्नुको साटो गुनासो र सुझाव राख्नेलाई एक्लो बनाउने गतिविधिले सार्वजनिक सुनुवाइ जस्तो हुन नसकेको उहाँले बताउनुभयो ।  

पछिल्लो पटक रिब्दीकोट, रैनादेवीछहरा, माथागढी, पूर्वखोला, रम्भा, निस्दी, तिनाउ, बगनासकाली गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेका छन् । यहाँका केही पालिकाले वर्षको एक पटक पालिका र केही पालिकाले वडा तहमै पुगेर सार्वजनिक सुनुवाइ गरिरहेका छन् तर अधिकांश पालिकाले गरेका कार्यक्रममा सर्वसाधारण नागरिकको सहभागिता न्यून रहेको जनप्रतिनिधि नै स्वीकार गर्छन् । आफूहरूले सबै नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे पनि सहभागिता न्यून भइरहेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।