• २१ वैशाख २०८१, शुक्रबार

५१ थरिका आयुर्वेद औषधी केन्द्रमै पाइने

blog

केन्द्रले सञ्चालन गरेको औषधि पसल । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, फागुन १ गते । दोलखाको सदरमुकाम चरिकोट स्थितको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पाँच लाख रुपियाँ बराबरको ५१ थरिका आवश्यक औषधी व्यवस्था गरेको छ । बिरामीको सहजका लागि केन्द्रमा सञ्चालित औषधी पसलमा सशुल्कका ५१ थरी औषधि व्यवस्था गरिएको केन्द्रका आयुर्वेद चिकित्सक डा.मनोजकुमार चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बागमती प्रदेशको पाँच लाख रुपियाँ बराबरको सशुल्कका यी औषधी व्यवस्था गरिएको हो । पहिलेदेखि नै प्रदान गरिँदै आइएको २३ थरी निःशुल्कका औषधी पनि छुट्टै कक्षमा व्यवस्था गरिएको छ । गत असोज महिनाबाट  सञ्चालित औषधी पसलमा भने जति रकम नहुँदा किन्दै बेच्दै गर्ने गरिएको छ । अब भने बिरामीले सहज रूपमा यही  क्षेत्रबाटै निःशुल्क र सशुल्कका आवश्यक आौषधी पाउन थालेका छन् । 

अहिले अकुपन्चर सेवा पनि थप भएको छ । अहिले दैनिक ५० जना बिरामीहरू आउने गरेका छन् । बहिरङ्ग सेवामा सबै प्रकारका र ज्येष्ठ नागरिक तथा मातृ शिशु लक्षित विशेष कार्यक्रमहरूबाट सेवा प्रदान गरिँदै आइएको छ । 

गत दुई वर्षअघि सङ्घको अस्पताल सञ्चालन ऐनले निजीले अस्पताल क्षेत्रमा औषधि पसल राख्न नपाउने भएपछि आफैँले राख्नुपर्ने हुँदा आर्थिक अभावले भने जति औषधी राख्न सकिएको छैन । केन्द्रका आयुर्वेद चिकित्सक डा.चौधरीले भन्नुभयो, बिस्तारै आवश्यक औषधी थप्दै लगिनेछ । केन्द्रलाई स्तरोन्नति गरी १६ शय्या सहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउने निर्णय भइसको छ । यसका लागि आवश्यक पर्ने जग्गाको खोजी भइरहेको छ ।