• १७ वैशाख २०८१, सोमबार

घटाइयो बजेटको आकार

blog

काठमाडौँ, फागुन १ गते । अनुमानित स्रोत अनुसारको व्यवस्थापन सम्भव नदेखिएपछि सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । चालु बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले दुई खर्ब २१ अर्ब रुपियाँले बजेटको लक्ष्य संशोधन गरेको हो । 

अर्थ मन्त्रालयमा आयोजित बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुरूपको आम्दानी हुने अवस्था भइनसकेकाले बजेटको लक्ष्य घटाइएको बताउनुभयो । “अर्थतन्त्रले बिस्तारै सकारात्मक लय लिन थाले पनि बजेट व्यवस्थापनमा विद्यमान कतिपय चुनौतीका कारण लक्ष्य हासिल गर्न सक्ने अवस्था देखिएन,” उहाँले भन्नुभयो । 

अर्थ मन्त्रालयले चालु आवको सुरु विनियोजन १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँबाट बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपियाँ हुने गरी खर्च संशोधन गरेको छ । सुरु विनियोजनको तुलनामा यो ८७.३८ प्रतिशत हो । खर्च शीर्षक अन्तर्गत चालुतर्फ सुरु ८८.२४ प्रतिशत अर्थात् १० खर्ब सात अर्ब ४५ करोड रुपियाँ हुने अनुमान मन्त्रालयको छ । 

चालु आवका लागि सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ खर्च हुने सुरु अनुमान गरेको थियो । त्यस्तै पुँजीगत खर्च पनि सुरु विनियोजनको तुलनामा ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ सुरु विनियोजनको ८७.३९ प्रतिशत हुने संशोधित अनुमान छ । चालु आवमा पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड रुपियाँ र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सुरु अनुमान थियो । 

चालु आव आन्तरिक स्रोत परिचालन लक्ष्य अनुसार हुन नसकेपछि अर्थ मन्त्रालयले सरकारको स्रोतबाट बेहोर्ने राजस्व र आन्तरिक ऋणको लक्ष्य पनि संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब नौ अर्ब ३० करोड रुपियाँ प्राप्त हुने छ । चालु आवमा यी दुई शीर्षकबाट १४ खर्ब ८९ अर्ब रुपियाँ स्रोत व्यवस्थापन हुने सुरु अनुमान गरिएको थियो । 

त्यस्तै ४० अर्ब १२ करोड रुपियाँ वैदेशिक अनुमान र एक खर्ब ८० अर्ब ८३ करोड रुपियाँ वैदेशिक ऋणमार्फत प्राप्त हुने संशोधित अनुमान गरिएको छ । बजेटमा वैदेशिक अनुदानमार्फत करिब ५० अर्ब र वैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड रुपियाँ प्राप्त हुने लक्ष्य राखिएको थियो । 

सूचक सकारात्मक, कार्यान्वयनमा चुनौती 

अर्थ मन्त्रालयले विगतमा कमजोर रहेको अर्थतन्त्रका धेरै सूचक सकारात्मक बन्दै गएको जनाएको छ । अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री डा. महतले विगत एक वर्ष अर्थतन्त्रका लागि निकै चुनौतीपूर्ण रहे पनि मन्त्रालयले सुझबुझपूर्ण रूपमा काम गर्दा सकारात्मक नतिजा देखिन थालेको बताउनुभयो । 

उहाँका अनुसार खास गरी बैङ्किङ क्षेत्रमा सुधार हुँदा तरलता पर्याप्तता बढेको, ब्याजदर घटेको छ । त्यस्तै शोधनान्तर स्थितिमा सुधार, वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि, पर्यटकमा वृद्धि, पर्याप्त विदेशी मुद्राको सञ्चिति जस्ता सुधार देखिएको उहाँले जानकारी दिनुभयो । आन्तरिक रूपमा पनि राजस्व सङ्कलन विगतको तुलनामा वृद्धि हुन थालेको, खर्च बढ्न थालेका जस्ता सुधारले अर्थतन्त्र चलायमान हुने आधार बढेको बताउनुभयो । 

अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि बजारमा त्यसको नतिजा देखिन भने समय लाग्ने उहाँको भनाइ थियो । “अर्थतन्त्र क्रमिक रूपमा सुधार हुने क्षेत्रको हो,” उहाँले भन्नुभयो, “यो एकै दिनमा तुरुन्त नतिजा आइहाल्न सक्ने क्षेत्र होइन ।” 

खास गरी सरकारले खर्च गर्न नसकेको सन्दर्भलाई उहाँले विगतको दायित्व र स्रोत सुनिश्चितताबिनाको विनियोजनको प्रवृत्तिलाई कारण देखाउनुभयो । पुँजीगत खर्च बढाउन कतिपय नीतिगत समस्या रहेकाले त्यसको समाधानका लागि कार्यविधि निर्माण भइसकेकाले अब भने त्यसले पनि गति लिने उहाँले बताउनुभयो । 

आवको बाँकी समयलाई खर्च बढाउने प्राथमिकता अनुरूप योजना बनाइएको पनि उहाँले जानकारी दिनुभयो । बजेट कार्यान्वयनमा देखिएका जटिलतालाई समाधान गर्दै दिगो विकासमा सकारात्मक प्रभाव पार्ने आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने उहाँले बताउनुभयो । 

अर्थतन्त्रमा क्रमिक सुधार देखिए पनि आत्मविश्वासका कारण बजारमा शिथिलता देखिएको स्विकार्दै उहाँले लगानी वृद्धिका लागि पुराना कानुनमा संशोधन, खारेजी तथा लगानी सम्मेलन आयोजना गर्ने जस्ता कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।