• २२ भदौ २०८१, शनिबार

टिकटकको पाँचबुँदे पत्र

नेपालको कानुन पालना गर्ने प्रतिबद्धता

blog

काठमाडौँ, फागुन १ गते । भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । 

त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ  गर्ने पहुँच र सामग्रीसँग सम्बन्धित सरोकारलाई सम्बोधनका लागि सम्पर्क सूत्र बनाउने पनि प्रस्ट पारेको छ । टिकटकले प्रसारित सामग्रीका सन्दर्भमा फिल्टरिङ र मध्यस्थता अझै वृद्धि गर्न नेपालीभाषी स्रोतलाई अझ विस्तार गर्ने पनि जनाएको छ । 

साथै राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि टिकटकले सरकारलाई आग्रह गरेको छ । टिकटकले विद्यालय र क्याम्पसका विद्यार्थीलाई लक्षित गरी शैक्षिक नतिजा सुधार गर्न शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाई डिजिटलाइज्ड गर्न सहकार्यको पनि प्रस्ताव गरेको छ । 

टिकटकले समुदायसम्बन्धी दिशानिर्देशलाई पूर्ण पालना गरिरहेको दाबी गर्दै नेपाल र विदेशमा बसोबास गर्ने नेपालीमाझ यस प्ल्याटफर्मको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

टिकटकले उल्लिखित विषयमा सांस्कृतिक र कानुनी पक्षको पूर्ण पालना गर्दै सहकार्यको प्रस्ताव गरेको हो । गत कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नेपाल सरकारले ‘सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको’ भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएपछि त्यसको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा झन्डै एक दर्जन रिट दर्ता भएका थिए । रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो, तर अदालतले अन्तरिम आदेश जारी गरेन ।