• १२ साउन २०८१, शनिबार

पाथीभरा केबलकार निर्माण कामलाई अघि बढाइने

blog

पाथीभरा केबलकार निर्माणबारे आयोजना गरिएको बैठकका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २९ गते । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।

पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निष्कर्षमा नपुगी उहाँहरुले बैठक छाडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो । 

परियोजनाको विरोध गर्दैआएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहोर्‍याउँदै बैठक छोडेर निस्केका थिए । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख लामाले उहाँहरुको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताउनुभयो ।

उहाँका अनुसार सङ्घर्षरत पक्ष बैठक छाडेर निस्के पनि उहाँहरुसँग वार्ता र संवादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको छ । सङ्घर्षरत पक्षका नेतृत्वसँग सहमतिको बिन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहे पनि समाधानका विषयमा उहाँहरुले तत्परता नदेखाएको प्रमुख लामाले बताउनुभयो ।

उहाँले विरोध मात्र गरेर कुनै उपलब्धि नहुने भएकाले वार्ता तथा संवादबाटै समस्याको समाधान खोज्नुपर्ने र यसका सङ्घर्षरत पक्षलाई जिम्मेवार हुन आग्रह पनि गर्नुभयो । यता केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति र केबलकार परियोजना खारेजी सङ्घर्ष समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदीभन्दा माथि केबलकार बन्न नहुने सुरुकै अडान दोहोर्‍याइरहेका छन् । 

लिम्बू समुदाय तथा आदिवासीहरु ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा मुक्कुमलुङ भएकाले यहाँ केबलकार लगायत कुनै पनि संरचना बन्न नहुने अडान सङ्घर्षरत पक्षले राख्दैआएका छन् । 

सोमबारको बैठकमा पनि सङ्घर्षरत पक्षका प्रतिनिधिहरु सुरुदेखिको अडान कायम रहेको आफ्नो कुरा राख्दै बाहिरिनुभएको थियो । त्यस्तै केबलकार निर्माणविरुद्ध जनता समाजवादी पार्टी नेपालसहित स्थानीय ६ राजनीतिक दल पनि एक ठाउँमा छन् । पाथीभरा पवित्र धार्मिक तथा ऐतिहासिक सांस्कृतिक स्थल भएकाले यहाँ केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार नै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् । 

उक्त दलहरुले प्रकाशित गरेको विज्ञप्तिमा केबलकार निर्माण प्रक्रिया सुरु गर्नु धार्मिकस्थल साथै आदिवासीहरुको मौलिक पहिचानमाथि अतिक्रमण र हस्तक्षेप भएको उल्लेख गरेका छन् । केबलकार परियोजना कार्यान्यवन गर्ने प्रक्रियासँगै जग्गा खरिद प्रकरण र पछिल्लो पटक सशस्त्र प्रहरी बलको बेस क्याम्प राख्ने विषय असह्य हुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकालको नेतृत्वमा पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । कार्यान्वयनको चरण सुरु गर्नेगरी केबलकार निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्रालिले जनाएको छ ।