• १२ साउन २०८१, शनिबार

महालक्ष्मीखोला–मातातीर्थ–सतुङ्गल सडक बन्द

blog

हेटौँडा–काठमाडौँ जोड्ने महालक्ष्मीचखेल–मातातीर्थ सडकखण्डमा स्तरोन्नतिको काम हुँदै ।

राममणि दाहाल

हेटौँडा, माघ २९ गते । मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल स्तरोन्नतिका लागि मङ्गलबारदेखि बन्द हुने भएको छ ।

उक्त सडक मङ्गलबारदेखि एक साताका लागि पुनः बन्द गरिने भएको हो । महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकको मातातीर्थ सडकखण्डको धारापानी नजिक साँघुरो सडकछेउ टेवा पर्खाल लगाउने काम भइरहेकोले बन्द गरिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिनुभयो ।

उहाँले सवारीसाधन आवतजावतका कारण काम गर्न असहज भएको भन्दै फागुन १ गतेदेखि फागुन ७ गतेसम्म सो सडक खण्डमा दिउँसोको समयमा आवागमन बन्द गरिएको जानकारी दिनुभयो । उक्त सडक भएर आवतजावत गर्ने सवारी साधनले धारापानी नजिकको सडक खण्डमा बिहान ७ बजेभित्र पार गरिसक्नुपर्ने र बेलुका ६ बजेपछि मात्र आवतजावत गर्न सकिने गरी व्यवस्था गरिएको छ ।

उहाँले वैकल्पिक बाटोको रूपमा चित्लाङ–चन्द्रागिरी–थानकोट सडक प्रयोग गर्न सवारीधनीहरुलाई आग्रह गर्नुभएको छ । योसँगै सडक स्तरोन्नतिकै क्रममा मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दूरीको तीनवटै मार्गमा सवारी आवागमन बन्द भएको छ । उता कुलेखानी–चित्लाङ–थानकोट सडक र कान्ति लोकपथ सुचारु छन् ।