• १२ साउन २०८१, शनिबार

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

blog

काठमाडौं, माघ २९ गते । प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जापान पठाउने भनी पटक-पटक गरी ३५ लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ३७ वर्षीय पुरुषोत्तम अधिकारी पक्राउ परेका छन् । 

स्थायी घर मकवानपुर भई ललितपुर सानेपा बस्ने अधिकारीले रिता मल्ल समेत छ जनालाई जापान जान आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेको थिए ।

यस्तै, दुबई पठाउने भनी तीन लाख रुपियाँ ठगी गर्ने ६१ वर्षीय डुल बहादुर खड्का पक्राउ परेका छन् । स्थायी घर सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ भई हाल ललितपुर महालक्ष्मी नगरपालिका बस्ने खड्काले सुमन केसी समेतलाई दुबई जान प्रतिव्यक्ति छ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक तलब ९० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

यसैगरी, खाडी मुलुक पठाउने र आकर्षक तलब हुन्छ भनी पीडितहरूबाट रकम लिई सम्पर्कविहीन बनेका ४९ वर्षीय सुन्दर श्रेष्ठ पक्राउ परेका छन् ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।