• १२ साउन २०८१, शनिबार

पौडीमा नासिर र गौरीकाद्वारा कीर्तिमान भङ्ग

blog

काठमाडौँ, माघ २९ गते । नासिर याहा हुसेन र गौरीका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गर्नुभएको छ । 

नासिरले २०० मिटर फ्रिस्टायलमा नयाँ कीर्तिमान बनाउनुभएको हो । नासिरले यसअघि जापानको फुकुवाका सहरमा आयोजना भएको विश्वएक्वाटिक्स च्याम्पियनसिप सन् २०२३ मा कायम गरेको एक मिनेट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै एक मिनट ५६.३९ सेकेन्डको कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घले जनाएको छ । नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि चार मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । 

यस्तै सोमबार नै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरीकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भङ्ग गर्नुभयो । गौरीकाले जापानमै सन् २०२३ मा भएको विश्व च्याम्पियनसिपमा बनाएको एक मिनेट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान रच्नुभएको हो ।