• १३ मंसिर २०८१, बिहिबार

विद्युत पोलको भाडा लिने नगरपालिकाको निर्णय

blog

नगरको बजार क्षेत्रमा गाडिएका नयाँ विद्युत पोल ।

विष्णुप्रसाद पोखरेल

दमक, माघ २९ गते । दमक नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोलहरू र विद्युत ट्रान्स्फर राखेको बापतमा भाडा लिने निर्णय गरेको छ । दमक विद्युत प्राधिरकणले महसुल नतिरेको भन्दै दमकका सडक बत्तीहरू धमाधम काट्न थालेपछि नगरपालिकाले भाडा लिने निर्णय गरेको हो ।

नगरपालिकाको १३ औँ नगर सभाले स्वीकृत गरेको दर रेटका आधारमा विद्युत प्राधिकरणबाट भाडा लिने निर्णय गरेको दमक नगरपालिकाले जनाएको छ । माघ ९ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले जानकारी दिनुभयो ।

नगरपालिकाको नाममा जडान भएका १७० वटा विद्युत मिटरमा उठेको ६ करोड ९३ लाख ६१ हजार महसुल बक्यौता उठाउनका लागि विद्युत प्राधिकरण दमकले बारम्बार ताकेता गर्दै आएको छ । कतिपय ठाउँमा मिटरको लाइन काटेपछि टोल अन्धकार बनेपछि नगरपालिकाले यस विषयमा ध्यानाकर्षण भएको बताउँदै आएको छ ।

विभिन्न टोल विकास संस्थाहरूको नाममा मिटर जडान भएका र नभएकाहरूको विल विद्युत प्राधिकरणले बक्यौता देखाएको हो । मिटर नजोडिएका ठाउँका विल धेरै देखाएर विद्युत प्राधिकरणले बढी रकम असुल्न खोजेको नगरपालिकाको दाबी छ । यस विषयमा नगर सभामा पनि बारम्बार कुरा हुने गर्छ ।

नगर सभाले पास गरेको आर्थिक ऐन २०८० मा उल्लेख भए अनुसार मासिक रूपमा प्रतिपोल १ सय रुपियाँ, टेलिफोन पोल ५० रुपियाँ, ट्रान्सफर्मर तथा टेलिफोन क्याबिनेट १ हजार रुपियाँ र इन्टरनेट केवलको प्रति बक्स २५ रुपियाँ तोकिएको छ । अहिले इन्टरनेटको केवलको पैसा पनि विद्युत प्राधिरकणले नै लिँदै आएको छ । 

नगर कार्यपालिकाले विद्युत पोलको भाडा लिने निर्णय गरेपश्चात् विद्युत पोलहरूको गणनाको तयारी भएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जनाउनुभयो । अहिले नै कतिवटा विद्युत पोलहरू छन् भन्ने यकिन भएको छैन र चाँडै यकिन गरिने उहाँको भनाइ छ ।