• १४ फागुन २०८०, सोमबार
blog

काठमाडौँ, माघ २९ गते । नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् । 

किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । आइतबार आयोजित ‘नेपालमा बाली प्रजनन र आनुवंशिकीको दृष्टिकोण र रणनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का अनुसार देशभर करिब ९० जनाको हाराहारीमा मात्र बाली प्रजनक सङ्ख्या रहेको छ । 

प्रमुख बालकृष्ण जोशीले बाली प्रजनकको बारेमा सम्पूर्ण जानकारी निकाल्ने प्रयासमा रहेको बताउँदै उनीहरूले गरेको योगदानले नेपाललाई कत्तिको फाइदा भइरहेको त्यसका बारेमा पनि खोजीनिती गर्ने बताउनुभयो । बाली प्रजनकलाई राम्रोसँग पहिचान गर्न सकियो भने उनीहरूले खाद्य, पोषण, स्वास्थ्य, व्यापार, वातावरण गरी पाँच वटा क्षेत्रमा योगदान दिन सकिने बताउनुभयो । 

बाली प्रजनकका लागि आफूले पटक पटक सरकारलाई ध्यानाकर्षण गराएको बताउँदै प्रमुख जोशीले बाली प्रजनकका लागि नीतिको मास्यौदा तयार गरी कृषि मन्त्रालयलाई बुझाएको एक दशकभन्दा बढी भइसक्यो तर हालसम्म त्यसका बारेमा कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा १० देखि १२ जना मात्रै वरिष्ठ बाली प्रजनन वैज्ञानिक रहेका छन् त्यसले बाली प्रजननका क्षेत्रमा लक्ष्य अनुसार काम गर्न सकिने अवस्था नरहेको बताउनुभयो । 

वरिष्ठ बाली प्रजनक डा. रामप्रताप साहले पनि न्यून जनशक्तिका कारण बाली प्रजननको क्षेत्रमा उत्साहजनक काम नभएको बताउनुभयो । बाली प्रजननका लागि नीतिगत सुधारका साथै जनशक्तिको पनि आवश्यकता रहेको कुरामा जोड दिँदै उहाँले पछिल्लो समय बढ्दो प्रविधि अनुसार बाली प्रजनकले आफूलाई स्तरोन्नति पनि गर्नुपर्ने सुझाव दिनुभयो । किसानले विकासे जातको बिउ मन पराएको बताउँदै उहाँले बदलिँदो वातावरणको आधारमा बालीको विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

नेपालमा विक्रम संवत् २००६ देखि धान, मकै, गहुँ जस्ता मुख्य बालीको जातीय विकाससम्बन्धी कार्य सुरु भएको नार्कले जनाएको छ । त्यसताका फिलिपिन्समा रहेको अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान संस्थाले होचो जातको बढी उत्पादन हुने धानको जात विकास गर्न नेपाललाई सहयोग पुर्‍याएको थियो । त्यस्तै मेक्सिकोमा रहेको अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्रले बढी उत्पादन हुने मकै तथा गहुँका होचा जातहरू विकास गर्न नेपाललाई सहयोग पुर्‍याएको थियो । 

नेपालमा पहिलो पटक २०१६ मा लेर्मा ५२ नामको गहुँको उन्नत जात र २०२६ मा मेक्सिकोमा विकास गरिएका लेर्मा रोजो ६४, पिटिक ६२, एस ३३१, आदि जस्ता होचा जातका गहुँ उपयुक्त भएको पहिचान गरी कृषकलाई उपयोगका लागि सिफारिस गरिएको थियो । नार्कको स्थापना भएपछि कृषिका विभिन्न बाली, पशुपन्छीका क्षेत्रमा विभिन्न अनुसन्धान गर्दै आइरहेको छ ।