इजिप्ट, माघ २८ गते । इजिप्ट र बुल्गेरियालीले रक्षा र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् । इजिप्टको विदेश मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
इजिप्टका विदेशमन्त्री सामेह शौकरी र बुल्गेरियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मारिया ग्याब्रिएलको सहअध्यक्षतामा भएको दुई देशबिचको संयुक्त सहयोग समितिको पहिलो बैठकमा एमओयुमा हस्ताक्षर भएको हो ।
पहिलो एमओयु दुवै देशका रक्षा मन्त्रालय र दोस्रो इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालय र बुल्गेरियाको ऊर्जा मन्त्रालयबिच हस्ताक्षर भएको बताइएको छ । भेटका क्रममा इजिप्टको प्रतिनिधिमण्डलले बुल्गेरियालाई इजिप्टको अत्यावश्यक स्वेज नहर आर्थिक क्षेत्रमा लगानी गर्ने अवसरहरू प्रस्तुत गरेको थियो ।
बुल्गेरियाका कम्पनीहरूलाई इजिप्टको उदीयमान सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेको थियो । दुवै पक्षले वार्षिक रूपमा आफ्नो संयुक्त सहयोग समितिको बैठक बोलाउन र अर्को बैठक २०२५ मा बुल्गेरियामा आयोजना गर्न सहमत भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल