• १२ साउन २०८१, शनिबार

सडक सञ्जालले जोडिँदै स्वामिकार्तिकका दुर्गम गाउँबस्ती

blog

सडक सञ्जालले जोडिएका जिल्लाको स्वामिकार्तिक गाउँपालिका-२ को मुक्त्तीकोट बस्ती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, माघ २८ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिकाका सबै गाउँ बस्ती सडक सञ्जालले जोडिएका छन् । यहाँका स्थानीयको दैनिक उपभोग्य सामग्री घरमै ढुवानी गर्न सहज हुनेगरी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकता दिँदै गएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा सडक जोडिएका हुन् ।

दैनिक उपभोग्य सामग्री ल्याउन एक महिला लाग्थ्यो । अहिले घर छेउबाटै सडक निमार्ण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ का अनोज धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामिकार्तिक कोटीला, जेरा, जुकोट हुँदै मुक्तीकोट बस्तीका चारै तिरबाट सडक सञ्जालले जोडिएपछि अहिले गाउँमै व्यापार गर्न सहज भएको छ ।”

दैनिक उपभोग्य सामग्री नुन तेल चामल दाल किन्न पसिना चुहाउँदै साँफे बार्गुगाड तिपाडा मार्तडी कोल्टी हुँदै पीलिचौर बजारमा धाउन पर्दथ्यो अहिले सो बस्तु गाउँमै पाइन थालेको धामीले बताउनुभयो। पछिल्लो समय स्थानीय तहले सबै वडाहरूलाई सडक सञ्जालले जोड्दै गएपछि अहिले यहाँका स्थानीयबासीको जनजीवन समेत निकै फेरिएको स्वामिकार्तिक-२ का स्थानीय व्यापारी हँसबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय गाउँ बस्तीमै पुगेको सडकले यहाँका स्थानीयलाई व्यापार व्यवसाय गर्न समेत निकै सहज भएको छ । गाउँमा सडक पुगेपछि पहिला हाट ल्याउने बेला प्रयोग गर्दै आएका यहाँका डोका नाम्लाहरू समेत बिस्तारै लोप हुँदै गएको भण्डारीले बताउनुभयो ।

गाउँमा पुगेको सडकले अहिले यहाँका स्थानीयको सामाजिक शैक्षिक तथा आर्थिकरुपमा समेत विकास भइरहेको स्वामिकार्तिक गाउँपालिकाले जनाएको छ । सडक विस्तारले स्थानीयको जनजीवनमा परिवर्तन आउने भएकोले पछिल्लो समय गाउँपालिकाले यहाँका सबै वडामा सडक सञ्जालको पहुँच पुर्‍याउन जोड दिएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका स्थानीयबासीको पहिलो प्राथमिकता गाउँ बस्तीमै सडक पुर्‍याउने भएकोले गाउँपालिकाले पनि सडकलाई नै प्राथमिकता दिँदै गएको हो ।” बर्खाको समयमा गाउँपालिकाका एक दुई वडामा गाडी पुर्‍याउन कठिन भएपनि हिउँदको समय भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

त्यसैगरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, गौमूल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहले पनि गाउँ बस्तीमा सडक सञ्जालको पहुँच गर्ने कामलाई निकै प्राथमिकता दिँदै आएका छन् ।

स्थानीयबासीको गाउँमा बस्तीमा सडक सञ्चालले जोडिँदै जानु पर्ने पहिलो माग भएपछि यती बेला बाजुराका अधिकांश गाउँ बस्ती सडक सञ्जालले जोडिँदै आएका हुन् ।

गाउँ बस्तीमा यसरी जोडिएको सडक सञ्जालने यहाँका स्थानीयलाई दैनिक उपभोग्यका समान ढुवानी गर्न निकै सहज बनेको छ ।