• २१ वैशाख २०८१, शुक्रबार

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

blog

नेपाली खेलाडी । तस्बिरः एन्फा

काठमाडौँ, माघ २७ गते । नेपाल र चीनबिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो ।

नेपालको जितमा समिर तामाङले दुई गोल गर्नुभयो । छिरिङ लामा, सञ्जिव विष्ट र निराजन धामीले एक एक गोल थप्नुभयो । चिनियाँ टोली चिङ्घाइ फुटबल क्लबका लागि जासी पेङ्कोउले सान्त्वना गोल गर्नुभयो । नेपालका सञ्जिवले खेल सुरु दोस्रो मिनेटमै  हड गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । 

३९औँ मिनेटमा समिरले गोल गर्दै पहिलो हाफमा नेपालको अग्रता दोब्बर बनाउनुभयो । समिरले ५४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गर्नुभयो । ६३औँ मिनेटमा छिरिङले गोल गर्दै नेपालको अग्रता थप बलियो बनाउनुभयो । ७५औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई सहज जिततर्फ लग्नुभयो । चीनका लागि पेङ्कोउले ७८औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन ।


मैत्री खेलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । उद्घाटन अघि सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यामबाट दुई देशबिचको मित्रताले थप उचाई लिएको बताउनुभयो ।

‘‘चीन  विश्व खेलकुदमा उत्कृष्ट रहेको छ । ओलम्पिक, एीसयाली जस्ता प्रतियोगिताहरुमा चीनले गरेको प्रगतिबाट सबैले सिक्न र सहयोग लिन सक्नु पर्दछ । चिनियाँ नयाँ बर्षको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु,’’ तिमिल्सीनाले भन्नुभयो । 

चिनियाँ राजदूत चेन सङले नेपाल चीन मित्रता सँधै अमर रहने बताउनुभयो । ‘‘दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट अझ प्रगाढ बनाउन सहयोग पुगेको छ । मैत्रीपूर्ण खेलले चीन र नेपालको सांस्कृतिक आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । चिनियाँ नयाँ बर्ष र सोनाम ल्होसारको अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु । नेपाल र चीनको सम्बन्ध सदा अटल रहिरहनेछ,’’ सङले भन्नुभयो । मैत्रीपूर्ण खेलसँगै रंगशालामा नेपाल र चिनियाँ विभिन्न सांगितीक प्रस्तुती दिएका थिए । 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको हो । प्रतियोगिताको सहआयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसीज चीनियाँ सङ्घ रहेको थियो ।