• १३ साउन २०८१, आइतबार

आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता

blog

आँखा । फाइल तस्बिर

दमौली (तनहुँ), माघ २७ गते । तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । भानु-२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो । 

केन्द्र सञ्चालनका लागि नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल र स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई र नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालका तर्फबाट अध्यक्ष जयराम श्रेष्ठ, उपाध्यक्ष तेजेन्द्र खड्का र बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेले हस्ताक्षर गर्नुभएको छ । 

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवम् गुणस्तरीयरुपमा सञ्चालन गर्नका लागि आठ सदस्यीय सहयोग समिति गठन गरिने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । सम्झौतापत्रमा आँखा उपचार केन्द्रका लागि भवन उपलब्ध गराउने, प्रचारप्रसारको जिम्मा र आँखा स्वास्थ्य सेवाको विस्तार नगरपालिकाले गर्नुपर्ने जनाइएको छ । 

आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक औजार उपकरण, औषधी, चस्मा, लेन्स तथा अन्य स्टेसनरी सामग्री तथा मर्मतसम्भार, आवश्यकताअनुसार कम्तीमा वर्षको एक पटक निःशुल्क आँखाको अप्रेसनसहितको आँखा शिविर सञ्चालन नेत्रज्योति सङ्घले गर्ने सम्झौतामा उल्लेख छ । 

आँखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि भानुमै उपचार केन्द्र स्थापना गर्न लागिएको नगरप्रमुख त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका सर्वसाधारण आँखा परीक्षणका लागि दमौली, चितवन जानुपर्ने बाध्यता थियो, अब यहीँ सेवा पाउनेभएपछि सहज हुनेछ ।” रासस