• १२ वैशाख २०८२, शुक्रबार

काभ्रेमा ट्राफिक सप्ताह : ग्रामीण सडक लक्षित कार्यक्रम

blog

ट्राफिक सप्ताह । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, माघ २७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकले ट्राफिक सप्ताह’ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सप्ताह कार्यक्रम ग्रामीण क्षेत्रलाई लक्षित गरी बनाइएको प्रहरीले जनाएको छ । 

‘ट्राफिक प्रहरीको आह्वान, सुरक्षित र सहज आवागमन’, ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिकको परिचय दिऔँ’ भन्ने नाराका साथ बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले भन्नुभयो, “लापरबाही गरी चलाएका सवारीसाधनबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न समुदायमा सचेतना फैलाउनुपर्छ । त्यसका लागि यो कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा लिएका छौँ ।”  

सप्ताह अन्तर्गत यस पटक ग्रामीण क्षेत्रलक्षित कार्यक्रमलाई जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताउनुभयो । अभियानको पहिलो दिन ट्राफिक प्रहरीले प्रभातफेरीसहित लामो दूरीका सवारीसाधनमा ब्यानर तथा स्टिकर टाँस गरेको थियो । 

सोही दिन बनेपामा जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित बृहत् सचेतना प्रभातफेरीसमेत गरिएको थियो । दोस्रो दिन (शुक्रबार) स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाइएको, विभिन्न क्षेत्रमा सचेतना स्टिकर टाँस, पर्चा पम्लेट वितरण गर्ने कार्यक्रम भएको छ । तेस्रो दिन आज ग्रामीण सडक लक्षित कार्यक्रमअन्तर्गत बढी भाडा अनुगमन, मास्क वितरण र सिट क्षमताभन्दा बढी यात्रु अनुगमन भइरहेको घिमिरेले बताउनुभयो । 

आइतबार ‘सवारी चालकसँग पाँच मिनेट’को कार्यक्रम तथा ओभरटेक गर्ने विधिको प्रशिक्षण, तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिइनेछ । सोमबार विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम, गाउँगाउँमा आमासमूह टोल सुधार समिति र युवाक्लबका सम्पूर्ण प्रतिनिधिलाई ट्राफिक सचेतना गराइने जनाइएको छ । मङ्गलबार चालक तथा सहचालकको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम तथा सवारीसाधनको यान्त्रिक परीक्षण गरिनेछ । कार्यक्रमको अन्तिम दिन आउँदो बुधबार ट्राफिक सप्ताहको उपलब्धि र प्रभावकारिताका बारेमा सम्पूर्ण सरोकारवाला क्षेत्रसँग अन्तक्रिया गरिने प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले यसअघि माघ दोस्रो साता काभ्रेपलान्चोकको बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको थियो । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठुला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाएको छ ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार ट्राफिक र स्वास्थ्य कार्यालयका अधिकारीले चालकलाई दुर्घटना न्यूनीकरणका उपाय र प्राथमिक उपचारका बारेमा जानकारी गराइन्छ । जिल्लामा चालू वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ वटा दुर्घटना भएका छन् । तीव्र गति, बढी आत्मविश्वास र अस्वाभाविकरुपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिनुभयो । 

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ । यसमध्ये ७५ प्रतिशत बागमती प्रदेशमा दुर्घटनामा पर्ने गरेका उहाँले जानकारी दिनुभयो । काभ्रेपलान्चोक अन्तर्गत काठमाडौँबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा र रामेछाप, बिपी राजमार्गबाट सिन्धुली हुँदै मध्य एवम् पूर्वी तराई तथा हेलम्बु राजमार्गबाट सिन्धुपाल्चोक मेलम्चीमा यातायातका साधन सञ्चालन हुन्छन् । 

यसैबिच जिल्ला ट्राफिक प्रहरी कार्यालयले काभ्रेपलान्चोकमा चालु आवको छ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने १४ हजार चार ९९ वटा सवारीसाधनलाई कारबाही गरेको छ । प्रहरी निरीक्षक घिमिरेले छ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने सवारीसाधनको कारबाहीबाट ९७ लाख ९४ हजार पाँच सय जरिवाना (राजस्व) सङ्कलन गरिएको बताउनुभयो । उक्त अवधिको तथ्याङ्कअनुसार सबैभन्दा बढी सवारी नियम उल्लङ्घन गर्नेमा मोटरसाइकल रहेको छ ।  

यस अवधिमा सवारी नियम उल्लङ्घन गरेबापत चार हजार आठ सय २० वटा मोटरसाइकल चालकलाई कारबाही गरिएको छ । मोटरसाइकल कारबाहीबाट मात्रै ३२ लाख ६२ हजार राजस्व सङ्कलन गरिएको छ । “सडकमा अन्य सवारीसाधनको तुलनामा मोटरसाइकल बढी गुड्ने गर्दछन्, ती सवारीबाट नै धेरै नियम उल्लङ्घन हुने गर्दछ”, घिमिरेले भन्नुभयो । उहाँका अनुसार मोटरसाइकलले ब्लूबुक तथा अन्य कागजपत्र नबोकेको, हेल्मेट नलगाएको, लेन अनुशासन पालना नगरेको, क्षमताभन्दा बढी यात्रु बोकेकोलगायत कसुर गर्ने गरेको पाइएको छ । 

मोटरसाइकलपछि दोस्रो नम्बरमा सवारी नियम उल्लङ्घन गर्नेमा ट्रक रहेका छन् । ट्राफिक प्रहरीका अनुसार छ महिनामा चार हजार दुई सय ३६ ट्रकबाट रु ३० लाख ८५ हजार जरिवाना, तीन हजार दुई २४ कार, जिप र भ्यानबाट १९ लाख ९७ हजार पाँच सय, एक हजार आठ सय २९ बसबाट ११ लाख ८८ हजार पाँच सय, दुई सय ८२ टेम्पोबाट दुई लाख एक हजार र एक सय आठ ट्र्याक्टर कारबाहीबाट ६० हजार पाँच सय जरिवाना संलग्न भएको प्रहरी निरीक्षक मिमिरेले जानकारी दिनुभयो । रासस