• १३ साउन २०८१, आइतबार

भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा कुपोषणको समस्या

blog

बालबालिकामा पोषणको अवस्था जाँच गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, माघ २७ गते ।
 भूकम्प प्रभावित जिल्ला रुकुमपश्चिमका बालबालिकामा कुपोषण देखापरेको छ । जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गरिएको पोषण अवस्थाको लेखाजोखाको क्रममा बालबालिकाहरूमा कुपोषण देखिएको हो ।

यूकेएड र स्टार्ट फन्डको सहयोगमा वर्ल्ड भिजन इन्टरनेशनल, नेपाली प्राविधिक सहयोग समूह र पाँच तारा युवा संरक्षण मञ्चको साझेदारीमा गरिएको ‘आपत्कालीन अवस्थामा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था लेखाजोखा’को क्रममा बच्चाहरूका कुपोषणको समस्या पत्ता लागेको हो ।

प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी आमा तथा बच्चाहरूमा कुपोषणको अवस्था पहिचान गरिएको थियो । यस क्रममा दुई वटै स्थानीय तहमा रहेका बालबालिकामा कुपोषणको समस्या देखापरेको नेपाली प्राविधिक सहयोग समूहका वास अधिकृत प्रेम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको जाँच पाखुराको नापद्वारा गरिएको थियो ।

आठविसकोट नगरपालिकामा गरिएको लेखाजोखा अनुसार १६ जना बच्चामा कडा शीघ्र कुपोषणको समस्या देखिएको छ भने १७२ जनामा मध्यम कुपोषण रहेको छ । दुई हजार ७७५ जना बच्चाको जाँच गरिएकोमा दुई हजार ५७८ जनाको अवस्था भने सामान्य रहेको अधिकृत ओलीले जनाउनुभयो । त्यसैगरी सानीभेरी गाउँपालिकाका एक हजार ८०१ जना बच्चाहरूको नाप लिँदा छ जनामा कडा शीघ्र कुपोषण र ७१ जनामा मध्यम कुपोषण देखिएको छ । सानीभेरीमा एक हजार ७२४ जनाको अवस्था भने सामान्य रहेका पाइएको छ ।

दुवै पालिकाको चार हजार ५७६ जना बच्चाहरूको कुपोषण लेखाजोखा गर्दा चार हजार ३११ जना सामान्य, २४३ जनामा मध्यम कुपोषण र २२ जना बच्चाहरूमा कडा शीघ्र कुपोषण देखापरेको ओलीले जानकारी दिनुभयो । भूकम्पपछि गत मङ्सिर २१ देखि माघ ६ गतेसम्म उक्त लेखाजोखा गरिएको थियो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुशील पोखरेलका अनुसार आपत्कालीन अवस्थामा बच्चाहरूको स्तनपानमा हुने समस्या, असल खानपिनको अभाव, खानेपानी, सरसफाइ तथा स्वच्छतामा ध्यानमा नपुर्‍याउँदा बालबालिकामा कुपोषण हुने गर्दछ । उहाँले भूकम्पको बेलामा घरको अन्नपातमा क्षति पुगेपछि राहतका लागि बाँडिएका जङ्क फुडका कारण पनि कुपोषण देखिएको बताउनुभयो । आपत्कालीन अवस्थामा विशेष गरी महिला, बालबालिका, विपन्न वर्गका घरपरिवारमा कार्य बोझ, शारीरिक असमर्थता, मानसिक तनावले पोषणमा समस्या हुने उहाँको भनाइ छ । कुपोषणका कारण बालबालिकाको मृत्यु समेत हुनसक्ने डा. पोखरेलले बताउनुभयो ।

आठविसकोट नगरपालिकाका प्रमुख रबी केसीले पोषण र खानेपानी सरसफाइ तथा स्वच्छतामार्फत पोषण अवस्था सुधार गर्नका लागि विभिन्न निकायको सहकार्यमा काम गरिएको बताउनुभयो । विपद्को समयले निम्त्याएको जोखिपूर्ण अवस्थाबाट थप क्षति हुन दिन स्थानीय सरकार जिम्मेवारीपूर्वक लागि परेको उहाँको भनाइ छ ।