• २१ वैशाख २०८१, शुक्रबार

त्यो मानेश्वर यो मानेश्वरी

blog

पनौतीको बसपार्क मानेश्वरी पार्क नामले चिनिन्छ । मानेश्वरी मन्दिरकै बगलमा भएकोले पहिलेदेखि मानेश्वरी बसपार्क नाम रहन गएकोमा कुनै विवाद छैन तर यस देउतालाई मानेश्वर भन्ने कि मानेश्वरी, समान धारणा भने छैन तर पनि अधिकजसोले मानेश्वरी माई नै भन्छन् । 

मानेश्वरलाई श्वेत वराहका रूपमा पनि मानिन्छ । मानेश्वर अत्यन्त दयालु देशको रक्षक, अपूर्ण कामलाई पूर्ण गरिदिने साक्षात देवताको रूपमा पूजा गरिन्छ । त्यसैले पनि मानेश्वरको नाम जपेर कुनै पनि काम गर्दा सफलता मिल्छ भन्ने जनविश्वास छ (तुयुकाजी ताम्राकार, पनौतीको प्राचीन कथाहरू–२) । मानेश्वर देवी होइनन् अर्थात् मानेश्वरी भन्नुभन्दा मानेश्वर भन्नु बढ्ता सान्दर्भिक हुन्छ भनेर ‘लबिङ’ गर्नेमा स्थानीय बुद्धिजीवी तुयुकाजी ताम्राकार पर्नुहुन्छ । 

त्यसो त मानेश्वर, मानेश्वरी मन्दिरमै कुनै शिलापत्र वा लेखोट छैन तर पनि मानेश्वर मन्दिर कति पुरानो हुनु पर्छ र मानेश्वर वराहकै अवतार हुनु पर्छ भन्ने कुराको पुष्टिका लागि मानेश्वरीको दक्षिणतर्फ रहेको पाटीमा दक्षिणाभिमुख नेसं ८३३ (विसं १७७०) को शिलापत्रको सहायता लिनुपर्ने हुन्छ । उक्त शिलालेखको सुरुवातमै ॐ वराह कल्पमा श्री ३ इन्द्रेश्वर शिव निकट श्री २ मानेश्वरी स्थानमा भनी लेखिएको छ भने भोनि संष भारोले पाटी कीर्ति बनाएर खेत चढाई, त्यसको आम्दानीबाट पूजाआजा चलाउनुपर्ने र समय समयमा जिर्णोद्धार गर्नुपर्ने उल्लेख छ । यस शिलापत्रको आधारमा पनि मानेश्वरी मन्दिर निकै पुरानो हुनु पर्छ र मानेश्वर वराहकै अवतार नै हो भन्ने आधार मिल्छ ।

विष्णुको तेस्रो अवतार अर्थात् वराह अवतार । त्यसो त पौराणिक कथन अनुसार पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले वराहको अवतार लिनु भएको मानिन्छ । वराहले कसरी पृथ्वीको उद्धार गर्नुभयो भन्ने सवालमा कुनै समय भगवान् विष्णुको दर्शन गर्न र बैकुण्ठधामको वैभव हेर्न सनकादि ऋषिहरू दरबारमा पुगेका बेला विष्णुका पार्षद्हरू ढोकैमा रोकेका कारण द्वारपालका रूपमा रहेका जय, विजयले ऋषिहरूको श्राप मुताविक वैकुण्ठबाट झरेर कश्यप ऋषिकी पत्नी दितीको गर्भबाट हिरण्याक्ष र हिरण्यकशिपुको रूपमा जन्मिन पुगे । बालक छँदै तीनै लोकमा उपद्रो मच्चाउन थालेका हिरण्याक्षले ब्रह्माको कठोर तपस्या गरी पाएको वरदान अनुसार पृथ्वीलाई लात्ती हानि पानी मुनि पुर्‍याइदिए । कालान्तरमा यस कार्यबाट सारा चराचर र देवतागण भयभीत भएपछि ब्रह्माजीका नाकको प्वालबाट प्रकट भएका सेतो वर्णका शिशु वराह (बँदेल रूप) ले हिरण्याक्षसँग लडाइँ गरी उनलाई पराजित गरी पृथ्वीलाई उद्धार गरे (श्रीमद्भागवत तृतीय स्कन्धअध्याय) । मानेश्वर पनि उनै श्वेत वराहमध्येका एक रूप हुन् भनिन्छ ।

अर्को प्रचलित किंवदन्ती अनुसार यतातिरका एक सिद्धहस्त तान्त्रिक चीलले हिमालपारी घुम्न गएका बेला अत्यन्त राम्री, सेतो वर्णकी सुन्दरी र मायालु शिशु देखेर तिनलाई आफैँले स्याहार्ने विचारले सुताइ राखेको ठाउँबाट आफ्नो खुट्टाको पञ्जाले च्यापी दक्षिण दिशातिर उडाई ल्याए । यस घटनाबाट भयभीत शिशुकी आमाले चिच्याउँदै चिलको पछिपछि वायु वेगले पछ्याइन् । तान्त्रिक चिलले उडाउँदै ल्याउने क्रममा थाक्न लागेको र रात पनि निकै छिप्पिन लागेकोले तल झरेर शिशु बिसाए । त्यतिखेर शिशुको आमा बाँसडोलखोला (पनौती बसपार्कको पश्चिमोत्तर दिशा) पारी पुगिसकेकी थिइन् । शिशु बिसाएको देखेर छोरीलाई यता फर्क भनेर जोडले चिच्याइन् (त्यसैको असरले मानेश्वर लगायत मुलु गः देखि बासडोल खोला दोभानसम्मका सबै ढुङ्गा उत्तरदिशातर्फ फर्के भन्न जनविश्वास छ) । यति नै बेला बिहानको भाले पनि बासेका कारण तान्त्रिक, छोरी मानेश्वरी र पारिपट्टि आमा भालेका डाँकसँगै शिलामा परिवर्तन भए । त्यसबेलादेखि छोरी फिर्ता लैजान आएकी आमाछोरीका मुख एक आपसमा हेराहेरकै अवस्थामा रहिरहेकै छ (ताम्राकार, ऐ ऐ) । मानेश्वरी जसरी स्थापित भएको भए पनि मानेश्वर पनौतीको शक्तिपीठ रक्षक र आराध्य देव हुन् । पनौतीको चारदिशामा रहेका चार देवीदेवतामा मानेश्वर उत्तरपश्चिमपट्टि रहेको छ । तान्त्रिकशक्तिद्वारा प्रतिष्ठापित मानेश्वरको पूजा एवं भक्तिभाव हुँदै आएको पाइन्छ ।

मानेश्वरलाई श्वेत वराहका रूपमा पनि मानिन्छ । मानेश्वर अत्यन्त दयालु देशको रक्षक, अपूर्ण कामलाई पूर्ण गरिदिने साक्षात् देवताका रूपमा पूजा गरिन्छ । त्यसैले पनि मानेश्वरको नाम जपेर कुनै पनि काम गर्दा सफलता मिल्छ भन्ने जनविश्वास छ ।

मानेश्वरको स्थापना सम्बन्धमा अर्को भनाइ अनुसार करिब १६०० वर्षअघि नेपालमा राजा मानदेवले आफ्नो शक्तिद्वारा सबै साना ठुला सामन्तलाई दमन गरी चारैतिर साम्राज्य  फैलाएका थिए तर राजा मानदेवले विजयी प्रदेशहरू उनै पराजित सामन्तहरूलाई फर्काए, केवल वार्षिक कर उठाउने गरी विकेन्द्रित शासन गरेका थिए । यसै मेसोमा यस पनौतीका वा यस इलाकाका सामन्तले मानदेवलाई खुसी पार्न स्वामीभक्ति र वफादारी जाहेर गर्न उनकै नामले एक ईश्वरको स्थापना गरे मानेश्वर ( मान+ईश्वर) नाम राखी ईश्वरको मूर्ति स्थापना गरेको कुराको जाहेर राजालाई पठाए । मानेश्वरको जात्रा चलाए, जग्गाको व्यवस्था मिलाए, जात्रा अहिलेसम्म चल्दै आएको छ (ताम्राकार, ऐ, ऐ)। यसै सिलसिलामा लिच्छविकालमा मानेश्वर, मानेश्वरीको प्रसङ्ग यस प्रकार छ ।

मानदेव, मानेश्वर र मानगृह 

लिच्छविकालीन राजा मानदेव (विसं ५२१–५६२) को शासनकाल समृद्धशाली थियो । उनले समग्रमा लिच्छवि राज्यको गौरव बढाएका थिए । उनले मध्यम राजकुललाई विस्थापित गरी मानगृहको निर्माण गरे । त्यहाँदेखि एक शताब्दीभन्दा लामो समयसम्म लिच्छवि राजाहरूले यसलाई शक्ति केन्द्रको रूपमा प्रयोग गरेको देखिन्छ । 

विसं ६५९ मा अंशुवर्माले आफ्ना लागि बनाएका कैलाशकुट दरबार शासनशक्तिको प्रतीक बनेसँगै मानगृह चाहिँ शक्तिविहीन लिच्छवि राजा शिवदेवको निवास भइरह्यो र शिवदेवको मृत्युसँगै मानगृह खाली भयो । सातौँ शताब्दीमा समेत मानगृह र कैलाशकुट भवन दरबारलगायत मानेश्वर सहरको मध्य क्षेत्र नरेन्द्रदेव र भीमार्जुनदेवको बिचमा चलेको शक्ति सङ्घर्षका साक्षी थिए । विसं ६९८ मा राजा नरेन्द्रदेवले सम्भवतः सामन्तहरूलाई सदाका लागि निर्मूल पार्न कैलाशकुट भवनलाई कब्जा गरे । यसै क्रममा भएको ठुलो युद्धमा मानगृह ध्वस्त हुन पुगेको अनुमान छ । अन्ततः मानगृह प्रयोजनविहीन र परित्यक्त हुन थाल्यो भने त्यसपछिका अभिलेखहरूबाट मानगृहको उल्लेख पूर्णतः हराएर गयो । 

मानदेवले त्रिविक्रम विष्णुका दुई मूर्ति बागमती र टुकुचा नदी किनारमा स्थापना गर्न लगाएबाट यी मूर्तिहरूले घेरिएको क्षेत्रले राजधानी (विशालनगर)लाई सङ्केत गर्दछ र मानगृह दरबार लाजिम्पाट र तिलगङ्गाको बिचमा कतै रहेको हुनु पर्छ भन्ने बलियो आधार छ र टुकुचा र रुद्रमती (धोबीखोला) लाई जोड्ने सिधा रेखाको ज्यामितीय मध्यबिन्दुमै हालको मनमानेश्वरी स्थल रहेको छ । मनमानेश्वरीको हालको मन्दिरमा दुई प्रतिमा रहेका छन्–लिच्छविकालीन शिवलिङ्ग र तान्त्रिक देवी मनमानेश्वरी जसलाई महेश्वरी (शिव महेश्वरका शक्ति) पनि भनिन्छ । त्यस क्षेत्रलाई सत्रौँ शताब्दीपछिका अभिलेखहरूमा मनोहर–मानेश्वरी भनिएबाट सो मन्दिरको नाम मनमानेश्वरी पर्न गएको हुनु पर्छ । प्रवर्ध–मानेश्वर मन्दिर मानगृहको मूल चोकको उत्तर पश्चिम कुनाको नजिकै रहेको थियो । ‘ईश्वर’ प्रत्यय लागेको हुनाले यो मानदेव आफैँले स्थापना गरेको शिवलिङ्ग थियो भन्ने बुझिन्छ । मानगृहका इष्टशिवलिङ्ग पछि मानेश्वरको नामबाट प्रसिद्ध भयो भने राजधानी सहरलाई नै मानेश्वर भनेर नामकरण गरियो । हालको मनमानेश्वरी मन्दिरको कक्षमा रहेको लिच्छवि शिवलिङ्ग नै सोही मानेश्वर हुनु पर्छ; मानेश्वरी चाहिँ यसै मन्दिरमा स्थापना गरिएको पछिल्लो कालका तान्त्रिक देवी हुन् । 

त्यसो त मानगृहको कुनै भौतिक अवशेष वा यससम्बन्धी कुनै लेख्य प्रमाण पाइएको छैन तर पनि प्राप्त कोरा जानकारीहरूको आधारमा तुलनात्मक विधि अपनाउँदै विश्लेषण गर्दा त्यति बेला तीन चोकयुक्त रचनाशैलीको (त्रिपुर) दरबारको निर्माण गर्ने चलन थियो । त्यसैले पनि मानगृहभित्र चोक (राज–आँगन), यसको वरिपरि खण्डक, मानदेवको राजकीय देवशाला/मन्दिर (प्रवर्ध–मानेश्वर) र प्रेक्षण मण्डपि रहेको प्राङ्गणसहितका अन्य चोक रहेको अनुमान छ । त्यसबेला सहरमा प्रवेश गर्दा खन्दकमाथि रहने सङ्क्रम (उठाउन मिल्ने पुल भएर मूल प्रवेशद्वार एवं यससँग जोडिएका दरबारका सुरक्षा कक्षहरू) हुँदै अन्ततः प्रेक्षण मण्डपि भएको चोकमा पुग्न सकिने गरी दरबारको पहिलो चोकको निर्माण गरिएको हुन्थ्यो ।

छिमेकी उपत्यकाका विद्रोहीहरूसँग जुधे लगत्तै मानदेवले प्रतिशोधवश सत्यनारायणमा रहेको मूल स्थलबाट अण्डीपृङ्गकी देवीलाई अन्यत्र हटाउन लगाएका थिए । पछि त्यसको कुनै औचित्य नरहेको अनुभूति गर्दै अण्डीपृङ्गकी देवीलाई सारिएको नयाँ ठाउँमा तोरणदेवीको मन्दिर र पीठको निर्माण गराए । मानेश्वरमा यस देवीको जात्रालाई पनि उल्लासका साथ मनाउने स्वीकारोक्ति प्रदान गरे (सुदर्शन राज तिवारी, हाँडीगाउँ)। 

मानेश्वर राजधानी रहेन

गोपालराज वंशावलीमा राजा भाष्करदेवले आफ्नो कुलदेवतालाई लत्याएको र मानेश्वरीलाई अनादर गरिएको घटना मानेश्वर राजधानी नरहेपछिको हुनु पर्छ । भाष्करदेवबाट भएको दुव्र्यवहारका घटना लगत्तै राजा भएका बलवन्तदेवले हरिपुरको निर्माण गरेका थिए । इतिहासकारले हरिपुरको निर्माणलाई मानेश्वर सहरको सम्भावित पुनर्निर्माण हो भनेर मान्ने गरेका छन् । पछि गुणकामदेवको पालामा उनले काठमाडौँ (यम्बुक्रम) मा गुणपौ दरबारको निर्माण गराएको उल्लेख छ । त्यसै बेला राजधानीलाई काठमाडौँमा सारिएपछि मानेश्वरीलाई मान्ने एउटा समूह छुट्टिएर पनौती/बनेपा क्षेत्रमा गई त्यहाँ शासन गर्न थालेको देखिन्छ । त्यस नयाँ राज्यलाई भोंत भनिन्थ्यो । तर वास्तवमा त्यसबेला उपत्यका केही समयका लागि बनेपा क्षेत्रको प्रभावमा आएको थियो । बाह्रौँ शताब्दीको मध्यदेखि मल्लहरूले भादगाउँलाई राजधानी बनाएर शासन चलाउने क्रममा तचपाल क्षेत्रमा त्रिपुर दरबारको निर्माण गरिएको थियो । रूद्रदेवको काल (विसं १२३२ तिर) मा भक्तपुर राजधानीको रूपमा कायम भइसकेको थियो ।

जयदेवले मानेश्वरमा आफ्नो राज्याभिषेक गर्ने निर्णय गरेको प्रतिशोध स्वरूप विसं १३३२ मा जशीमल पोः भनिने बनेपाका शासक जयसिंह मल्लले नन्दल अर्थात् हाँडीगाउँमा विध्वंस मच्चाएबाट त्यति बेलासम्म हाँडीगाउँ राजनीतिक महत्वको भएको र शक्ति सङ्घर्षको स्थल थियो भन्ने देखिन्छ । भलै उक्त विध्वंसकारी घटनापछि पछिल्लो मल्लकालका कुनै पनि घटनामा मानेश्वर/हरिपुर सहरको स्वरूपै परिवर्तन हुने गरी ठुलो भौतिक हस्तक्षेप भएको देखिँदैन । यसरी राजधानीलाई काठमाडौँ र भक्तपुरमा सारिएपछि पनि मानेश्वर एक महत्वपूर्ण सहरको रूपमा कायम रह्यो । तसर्थ राजधानी हुन छोडेको पाँच सय वर्षपछि पनि मानेश्वर एउटा समृद्ध सहरको रूपमा जीवित थियो ।  हाँडीगाउँमा विशेष महत्व दिइने मानेश्वर भनिने शिवलिङ्गको उल्लेख केही लिच्छवि अभिलेखमा मात्र पाइन्छ तर पनि अंशुवर्माको पालाको अभिलेखमा मानेश्वर र धारा मानेश्वर गरी दुई मन्दिरको उल्लेख गरिए पनि हाँडीगाउँमा अंशुवर्माले जारी गरेको राज्यबाट सहयोग प्रदान गरिने धार्मिक संस्थाहरूको सूचीमा मानेश्वरी मन्दिर भने परेको देखिँदैन । मध्यमल्लकालतिरबाट मात्रै मानेश्वरीको विषयमा बढी प्रमाणिक जानकारीहरू प्राप्त हुन थालेको हो । शायद त्यति बेलासम्म मानेश्वर भने लोक स्मृतिबाट हराइसकेको हुन सक्छ । (तिवारी, ऐ, ऐ)।

मल्लकालमा मानेश्वरी

तन्त्रमा ज्यादाजसो स्त्री रूपमा रहेका दुर्गा भवानीलाई नै इष्टदेवतामानेर पूजा गर्दथे । यसै क्रममा लिच्छविकालीन राजा मानदेवले भगवतीलाई मानेश्वरी नामले इष्टदेवतामानी आएका थिए तर पनि मल्लकालमा आएर यही लिच्छविराजाले मानिआएका मानेश्वरी र मल्ल राजाहरूका इष्टदेवतातलेजु भवानी बेग्लाबेग्लै देवता हुन् भनेका छन् । कतिपय लेखकले यसमा सहमति प्रकट गरेका छैनन् । त्यसो त नेपालमा प्रवेश भएका तलेजु भवानीको मुख्य मूर्ति श्रीयन्त्र नै थियो । तन्त्रमन्त्रको प्रभावले देवीको रूप ग्रहण गरेको मानिन्छ । वंशावलीमा नेपालमा तलेजुको प्रवेश नेपाल संवत् ४४४ (विसं १३८१) मा सिम्रौनगढका हरिसिंहदेवले गराएको उल्लेख छ । त्यसबेलादेखि मात्र नेपालमा तलेजुको नाम सुन्नमा आएको अर्थात् तलेजुलाई दुर्गा भवानीको रूपमा पुज्न थालेको देखिन्छ । अष्टमातृका गणहरूमा तलेजु भवानीलाई नाइकेको रूपमा मानी तन्त्र विधिविधान अनुसार पूजाआजा हुँदै आएको छ भने यही तलेजु यन्त्र र लिच्छविकालीन इष्टदेवतामानेश्वरी सँगसँगै राखेर आफ्ना अन्यगणहरू सहित प्रत्येक वर्ष बडादसैँको समयमा आश्विन शुदी सप्तमीको दिन मूल मन्दिरबाट कुमारी चोकमा र आश्विन  शुदी  दशमीको दिन कुमारी चोकबाट मूल मन्दिरमा भित्र्याउने चलन छ । 


भक्तपुर तलेजुस्थानमा तलेजु र मानेश्वरी सँगसँगै राखी पूजा गर्ने चलन अझै पनि छ भने काठमाडौँ हाँडीगाउँका मानेश्वरी देवताकहाँ प्रत्येक वर्ष वैशाख शुदी पञ्चमीको दिनमा भक्तपुर तलेजुस्थानबाट देवाली पूजा पठाउने चलन अद्यावधि छ । तर काठमाडौँ र पाटनमा भने लिच्छविकालीन इष्टदेवता मानेश्वरीलाई अलग्गै राखेर देगु तलेजु भनी छुट्टै पुज्ने गरेको पाइन्छ । मल्ल राजाहरूले आफ्नो कीर्तिहरू स्थापना गरेर अभिलेखहरू राख्ने क्रममा ती अभिलेखका शिरमा आफ्नो इष्टदेवतालाई सम्बोधन गर्ने क्रममा ‘ॐ नमो भवान्यै नमः, ॐ नमः मानेश्वरी नमः, ॐ नमःदुर्गा देवी ॐ नमः तलेजु माजु नमः’ उल्लेख गर्ने गरेका थिए । यी कीर्तिहरू अधिकतर सत्रौँ शताब्दीदेखि अठारौँको मध्यसम्मका छन् । त्यसमध्ये नेसं ८२२ (विसं १७५९) मितिको पाटनका राजा योगनरेन्द्र मल्ल र भक्तपुरका राजा भूपतिन्द्र मल्लको सन्धिपत्रमा पनि श्री ३ मानेश्वरी इष्टदेवता भनेर उल्लेख छ । 

मल्लराजाहरूमा यसको थालनी राजा जयस्थिति मल्लले गरेका थिए भने विसं १४४३ को पहिलो पुष्पिका वाक्यमा ‘श्री मानेश्वरी–वरलब्ध प्रसाद (प्रताप)’ भन्ने प्रशस्ति उल्लेखित थियो । यसभन्दा अलि अगाडि ‘श्री श्री मानेश्वरी वरप्रतिलब्ध’ भन्ने शब्दावलीको प्रयोग त्यति बेला भोंत भनिने बनेपा, नाला र पनौती क्षेत्रका महामन्त्री जयसिंह रामवर्धनका लागि गरिएको थियो (उनले नै सुरुमा जयस्थिति मल्ललाई राजा घोषित गर्ने कुराको विरोध गरेका थिए) । हालको मनमानेश्वरी देवीलाई त्रिपुरासुन्दरीको रूपमा पनि पूजा गर्ने गरिन्छ र त्यति बेला पनि उपरोक्त तीन वटै नाम (कान्ति, कान्तेश्वरी एवं त्रिपुरासुन्दरी) हरू मानेश्वरीका लागि प्रयोग गर्ने गरिएको देखिन्छ । सो देवी भाेंत राज्यको सिंहराम परिवारको आराध्य देवी थिइन् । भोंतमा सिंहराम परिवारको शासन र भादगाउँमा जयस्थिति मल्लको शासन समकालीन थिए (तर एक इतिहास अध्येताका अनुसार जयसिंह रामवर्धन परिवार बनेपा क्षेत्रका नभई काठमाडौँ उपत्यकाकै हुनु पर्छ । तिनीहरूले कुशादेवी, बिहावरको बाटो भई पनौती भेगलाई आफ्नो अधिनमा ल्याई भोगचलन गरेको हुनु पर्छ) । इतिहासको लामो कालखण्डले टाढा पुर्‍याएको भए तापनि मानेश्वरीको स्मृति र सम्मानलाई बनेपाको शासन सत्ताले पुनस्र्थापित गरेको देखिन्छ । विसं ११०२ मा भोंत राज्यको स्थापना भएसँगै मानेश्वरको केन्द्रलाई शाक्त मानेश्वरीमा रूपान्तरण गरिएको अनुमान गर्न सकिन्छ र त्यही यसको नामकरण भएको हुनु पर्छ । विसं १३३२ मा जयदेवको राज्याभिषेक मानेश्वरमा हुँदासम्म भने मानेश्वरले आफ्नो शैव स्वरूपलाई समेत कायम नै राखेको हुनु पर्छ । जयस्थिति मल्लले आफूलाई प्राचीन मानगृहको राजपरिवारको सन्तति हुँ भन्ने देखाउन मानेश्वरको मन्दिरमा प्रतिष्ठापित मानेश्वरीलाई ढोगभेट गरेको हुन सक्छ । यस कार्यले गर्दा अन्ततः भोंत राज्यको पनि अवसान भएर गयो ।

टुङ्ग्याउनी

अब फर्किउँ मानेश्वरीतर्फ नै । उबेला मानेश्वरी निकै उबडखाबड ठाउँ थियो, शायद बगर नै हुनु पर्छ । किनकि आडैमा बाँसडोल खोला र पुण्यमाता मानेश्वरीको बगलमै मिलन हुन्थ्यो । बेला बेलामा ठुल्ठुला बाढी आउँथे होला । बनेपा जानेतिर र पनौती भित्री बजारतिर जाने ठाउँतिर पक्कीपुल थिएन । मानेश्वरीको आमा मानिने सानो मन्दिर र मानेश्वरीबिच र मानेश्वरीबाट दक्षिणतिर सरस्वतीथान नपुग्दैको सानो खोला माथि ढुङ्गे साँघु मात्रै थियो । यता पूर्वतर्फ नमोबुद्ध जाने तिरको पक्कीपुल अनि बाँसडोलतिर जाने सानो पक्की पुल क्रमशः ४०/५० को दशकमा मात्र बनाइएको थियो । बिसको दशकमा मानेश्वरीको दक्षिण पश्चिम कुनामा फरेस्टरको भवन बनाइएको थियो, छाप्रो जस्तौ निकै सानो खालको । पछि त्यो नपुग भएपछि मानेश्वरीको बिचबिचतिर अलि ठुलो खालको बनाइयो । त्यसो त मानेश्वरी अगलबगलका निकै गाउँहरूको बाहिरिने थलो भएको कारण, त्यो बेला महाभारत वन एवं वरपरका वनजङ्गलका काठहरू अवैध रूपमा निकासी हुन सक्ने सम्भावना रोक्नका लागि फरेस्टरको अफिस बनाइएको भए पनि भुक्तभोगीका अनुसार कोही पनि फरेस्टर बस्न आएनन् । उक्त परित्यक्त भवनपछि केही समय प्राथमिक विद्यालयको रूपमा त एकाध पटक निर्वाचन केन्द्रको रूपमा प्रयोग गरियो । मानेश्वरीको उत्तरी ठाउँतिर ठुलो पोखरी जस्तो पानी जम्ने ठाउँ थियो, वर्षात्का बेला पानी निकै हुन्थ्यो । पछि बसपार्क बनाउने क्रममा सम्याउँदा बिचको भवन, आडैको उत्तरतर्फको पोखरी सबैको नामोनिसान मेटियो । मानेश्वरी पार्कले के मात्र भोगेन ? २०६२ माघमा माओवादीको सशस्त्र आक्रमण पनि भोग्यो ।

Author

डा. सुमनराज ताम्राकार