• १४ फागुन २०८०, सोमबार
blog

नयाँ हाकिम यो अफिसमा सरुवा भई आउने चर्चा चलिसकेपछि मेरा एक जना साथीले प्रस्तावित हाकिमको चर्चा गर्न थाले, “उनी ज्यादै कडा पो छन् त । कामचोरलाई पटक्कै मन पराउँदैनन् । उनको आफ्नै काम गर्ने शैली छ ।” उनले सरुवा भई आउने हाकिमको बारेमा भन्दै थिए, “तपाईंहरूले कुनै पनि सोधेको कुरालाई स्पष्ट रूपमा प्रस्ट्याउनु पर्छ । केही नबुझेमा सम्बन्धित पक्षबाट क्लियर भएर बस्नु पर्छ । यदि अफिसमाथि केही प्रश्न उठे भने त्यसलाई दिने रेडिमेड उत्तर पनि तयार गरेर राख्नु पर्छ । परेको बेला ठिक जवाफ दिन सकियोस् ।”

समयको क्रममा नयाँ हाकिमको अफिसमा आगमन भयो । उहाँले आफ्नै शैलीमा प्रशासन चलाउन थाल्नुभयो । उहाँको तोक आदेश अनुसार सबैले काम गर्दथे । उहाँ गर्नुपर्ने काम स्पष्ट गर्न, बुझ्न र लेख्न निर्देशन दिनुहुन्थ्यो । समग्रमा भन्नुपर्दा कुन कर्मचारीलाई कसरी नचाउनु पर्छ, त्यसमा उहाँ खप्पिस हुनुहुन्थ्यो । विशेषतः यो कार्यालय निर्माण कार्यसँग सम्बन्धित भएकाले ठुलो रकमको टेन्डर आह्वान हुन्थ्यो । ती हाकिम यस कार्यमा ज्यादै निपुण भएकाले नै अन्तबाट सरुवा भएर आउनुभएको थियो । त्यति मात्र होइन उहाँलाई कुनचाहिँ निर्माणबाट कति फाइदा वा कमिसन पाइन्छ । त्यो पनि सबै थाहा थियो र आफ्नो कुर्सीलाई कसरी बचाउने यो पनि उहाँलाई राम्रैसँग थाहा थियो ।

 उहाँ सरुवा भएर आएपछि त्यस कार्यालयमा धेरै नै चहलपहल बढेको छ । मानिसको भिड त्यत्तिकै लागेको छ । सेवाग्राही र हाकिम भेट्नेको लर्को दिन दुईगुना त रात चौगुना भने झैँ बढेको बढ्यै छ । त्यसैले जागिर खाएको केही वर्षमा नै उहाँले चलाखी साथ तराईमा धेरै जग्गा जमिन जोड्न सफल हुनुभयो । अहिले उहाँको काठमाडौँमा घरघडेरी पनि छ । हिजोको भन्दा आज उहाँको जीवनशैली निकै बदलिएको छ । धेरै कर्मचारीलाई उहाँका बारेमा थाहा छ तर थाहा भएर पनि कसैले मुख फोर्न सकेका छैनन् । 

यस पटक कार्यालयमा विशेष चहलपहल बढेको छ । तराईका नदीमा पाँच वटा पुलको टेन्डर आह्वान भएदेखि कार्यालयमा खुट्टा राख्ने ठाउँसमेत बाँकी छैन । टेन्डर पार्न ठेकेदारहरू तँछाडमछाड गर्दै छन् । टेन्डर आह्वान भएको दिनदेखि नै घर कार्यालय कतै पनि उहाँलाई एकछिन फुर्सद छैन । त्यस्तै, फोनको जवाफ दिन पनि उहाँलाई फुर्सद कहाँ छ र ! “हेलो, हजुर म बोलिरहेछु .......नमस्ते..........भइहाल्छ नि .....यसो कार्यालय वा घरमा नै आउनुहोस् न.....कुरा गरौँला .........मेरै हातको कुरा त हो नि...........मिलिहाल्छ नि कत्रो कुरा हो र....नमस्ते नमस्ते ।”

हाकिम साब टेलिफोन राखेर टेबुलमाथि रहेको गिलासको पानी घटघट पिउनुहुन्छ । फेरि टेलिफोनको घन्टी बज्छ । तब चर्को स्वर गर्दै हाकिमसाब भन्नुहुन्छ, “आ.....कति फोन आएको यो । झर्को पनि लागिसक्यो । कतै कुरा मिल्ने होइन ? अलि बढाएर भन्नु नि ।” पुनः टेबुलमाथि राखेको गिलासको पानी पिउनुहुन्छ । त्यति नै बेला फोन आउँछ । उहाँ फोन उठाउनुहुन्छ, “हेलो....हो....... ठिक छ ......१५ प्रतिशतको कुरा हो भने कुरा विचार गर्न सकिन्छ ......हवस् त नमस्ते ।”

अहिले भने नवीन हर्ष र उमङ्गको लहर आएको छ हाकिम साबको काम गर्ने शैलीमा । सर्त अनुसार १५ प्रतिशत रकम दिन तयार ठेकेदार कम्पनीको टेन्डर स्वीकृत भयो । टेन्डर परेपछि पुलको निर्माण दु्रत गतिमा चल्यो । निर्धारित समयमा नै पुलको निर्माण समाप्त भएपछि इन्जिनियरिङ मूल्याङ्कन भयो र ठेकेदारबाट सरकारलाई निश्चित मितिमा पुल पनि हस्तान्तरण गर्ने काम सम्पन्न भयो ।

 त्यस पुलको निर्माणसँगै धेरैले सुनौलो भविष्यको आशा गरेका थिए, वरपरका गाउँलेले आफ्नो भविष्यको सुन्दर कल्पना गरेका थिए तर बनेको एक महिना नबित्दै उक्त पुल भत्कियो । वरपरका गाउँलेले आफ्नो भविष्यमाथि खेलबाड भएको मात्र होइन बज्रपात नै भएको महसुस गरे । पुल भत्कँदा पुलसँगै केही गाडी पनि नदीमा खसे । उक्त दुर्घटनामा धेरै मानिसले ज्यानसमेत गुमाउन पुगे । पुल भत्किएको खबर एक कान दुई कान मैदान भयो । तत्पश्चात् व्यापक टीकाटिप्पणी आउन थाल्यो, कमेन्टले सामाजिक सञ्जालहरू पनि रङ्गिए । अन्ततः सरकारी स्तरबाट नै एउटा उच्चस्तरीय छानबिन आयोग गठन गरियो । निश्चित समयमा त्यस आयोगले आफ्नो प्रतिवेदन पनि बुझायो । कम गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भएका कारण नै उक्त पुल भत्किन पुगेको तथ्य सार्वजनिक भयो । छानबिन आयोगले ठेकेदार, इन्जिनियर, टेन्डर स्वीकृत गर्ने हाकिमसँग पनि स्पष्टीकरण माग्यो । यसपछि त सर्वत्र सम्बन्धित सबैलाई कारबाही गर्नुपर्ने कुरा पनि जोडदार रूपमा चल्यो । 

“विचरा ! हाम्रा हाकिम साबलाई पनि अख्तियारले पुर्जी काटेको छ रे नि त ?” कर्मचारी कर्मचारीबिचमै खासखुस सुनिन थालेको छ । अर्कोले भन्यो, “खोइ मैले पनि त्यस्तै कुरा सुनेको हुँ । हो होइन त्यो त केही समयपछि थाहा भई हाल्छ नि । टेलिभिजन, अनलाइन, पत्रपत्रिकामा खबर आइहाल्छ नि । नबिराउनु नडराउनु । जसले अङ्गार खान्छ उसैले कालो .......।”

 जब उक्त घटना भयो तब ती हाकिमसाबलाई धेरैको फोन आउन छाड्यो । अहिले उहाँकहाँ आवातजावत गर्ने मानिसको सङ्ख्या शून्य नै छ भने पनि हुन्छ । अहिले नुन खाएर झोक्राएको कुखुराको झैँ निन्याउरो अनुहार छ उहाँको । कार्यालय नगएर घरै बस्नुभएको छ उहाँ । चिन्ताग्रस्त अनुहार लिएर श्रीमती पनि उहाँ नजिकै बस्नुभएको छ । “होइन चिन्ता नगर्नुहोस् जे हुनु भई गयो । अब पिर गरेर के हुन्छ र ? बाँकी रहेको सम्पत्ति बहिनीको नाममा छँदै छ । अख्तियारले भेट्टाउन सक्दैन क्या रे” श्रीमतीले सान्त्वनाको भावमा भन्नुभयो । श्रीमतीका कुरासँगै उहाँका मनमा झनै नानाथरिका कुरा उकुसमुकुस हुन पुग्छन् । चैत वैशाखको भुमरी झैँ उहाँको मन रुमल्लिन थाल्छ । 

त्यति नै बेला फोनको घन्टी बज्छ । श्रीमती मन नलगाई नलगाई फोन उठाउनुहुन्छ, “हजुर हो..... म बोली रहेछु ......के रे ? ...........गाडी दुर्घटना.... विजय पनि... ।”

फोनको कुरा नसकिँदै उहाँकी श्रीमती काम्दै भुइँमा थचक्क बस्नुहुन्छ । एक्कासि विजयको खबरले उहाँलाई नराम्रो झड्का लाग्छ । आँखाबाट आँसु बर्बर झर्न थाल्छ । उहाँ थचक्क बसेको देखेर श्रीमतीलाई सोध्नुहुन्छ–“हैन के भो विजयकी आमा ? तिमीलाई के भो ?” विजयकी आमा लरबरिँदो स्वरमा भन्नुहुन्छ, “विजयका बुबा हामी बरबाद भयाँै । हामी एक्लो भयौँ । यो संसारमा अब हाम्रो कोही पनि छैन, हामी बरबाद भयौँ ..... ।” विजयकी आमाको कुरा सुन्नासाथ उहाँ पनि थरथर काम्न थाल्नुहुन्छ र मसिनो स्वरमा सोध्नुहुन्छ, “होइन, के भनेकी विजयकी आमा ? ......आँखा खोल न ?” आँखाभरि आँसुको सागर छचल्काएर पीडा आघातलाई उकेल्दै उहाँले अन्तिम शब्द भन्नुभयो, “पुल भत्किँदा खसेको गाडीमा परेर हाम्रो छोरा विजय पनि .....। विजय अब....यस संसारमा रहेन ।” 

एकै छिनअघि काँखमा टाउको राखेर अन्तिम शब्द भनिरहनुभएकी विजयकी आमा पनि छोराकोे मृत्युको खबरसँगै यस संसारबाट बिदा हुनुभयो । उहाँको मुटु भक्कानो परेर आयो । श्रीमतीको मृत्युले उहाँलाई नितान्त एक्लो बनायो । उहाँ रुनुभयो, धेरै रुनुभयो । कराउनुभयो एक्लै बहुलाझैँ तर उहाँको कुरा कसैले सुनेनन् । उहाँ रुन थाल्नुभयो, कराउन थाल्नुभयो । आफ्नो परिवारको भयावह दुर्घटना आफ्नै आँखा अगाडि भएकोमा उहाँलाई आफैँप्रति खेद लाग्यो । अपार धनसम्पत्ति भएर पनि उहाँले केही गर्न सक्नुभएन । आज उहाँ एक्लो हुनुहुन्छ । नितान्त एक्लो । उहाँ विगत सम्झेर बर्बराउनुहुन्छ, “यो सबै मभित्रको असीमित धनको भोकले गराएको भयावह दुर्घटना हो विजयकी आमा । म अपराधी हुँ ....म भ्रष्टाचारी हुँ ।”