• १० मंसिर २०८१, सोमबार

ज्येष्ठ नागरिक : जीवन भोगाइका पाठशाला

blog

राष्ट्रिय ज्येष्ठ नागरिक कोष भृकुटीमण्डप काठमाडौँले हालै ‘शताब्दी व्यक्तित्व’ नामक जर्नल प्रकाशन गरेको छ । जहाँ देशभरबाट सङ्कलित ६१ जना शताब्दी व्यक्तित्वको छोटो बायोग्राफी समेटिएको छ । गत असोजमा प्रकाशित सो जर्नलमा सय वर्ष बढी बाँच्नेहरूको जीवन भोगाइ तथा बाँच्नुको अनुभव समेटिएको छ । जुन अनुभव अहिलेका युवा पुस्ताका लागि जीवन जिउने शिक्षा र आधार बन्न सक्ने विश्वास गरिएको छ ।

पहिलो कुरा सय वर्ष बाँच्नु जीवनको ठुलो तपस्या हो । दोस्रो कुरा सय वर्ष बढी बाँच्नुभएका बाआमाहरू अहिलेका पुस्ताका जिउँदो इतिहास हुनुहुन्छ । उहाँहरूसँग जीवन भोगाइका सिङ्गो पाठशाला छ । जीवन जिउने क्रममा अनुभव लिएका र भोगेका सुख, दुःखका भण्डार उहाँहरूसँग छ । उहिले र अहिलेको समय भोगेको ताजा स्मरण मानसपटलबाट पुस्तकमा पोखिएको छ । जुन कुरा हाम्रा लागि मार्गदर्शन र आशीर्वाद दुवै हो । उसै पनि ज्येष्ठ नागरिकलाई जिउँदो देउताको संज्ञा दिइन्छ । उहाँहरूसँग अथाह ज्ञान, सिप र अनुभव छ । त्यसको पुस्तान्तरण हुन अनिवार्य छ । यो जर्नलले थोरै भए पनि ज्ञान र अनुभव पुस्तान्तरण गर्ने लक्ष्य लिएको देखिन्छ । उहिलेका इतिहास र अहिलेको समयलाई परख गरी नयाँ सिप र सिर्जना गर्न सक्ने माध्यम यो जर्नल बन्न सक्छ । 

जुनधरा पोखरेल (झापा) १०३ वर्षको हुनुभयो । विसं १९७७ मा जन्मनुभएकी पोखरेल अहिले पनि भुइँमा कमिलो दौडेको सजिलै देख्नुहुन्छ । ओखलढुङ्गाको बिकु टक्सारमा जन्मिनुभएकी पोखरेल अहिले मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा बस्नुहुन्छ । बिहान ४ बजे उठेर नुहाइ धुवाइ गरी पूजापाठ गर्ने उहाँको दैनिकी हो । दाल, भात, तरकारी, दुध र फलफूल उहाँको सामान्य दैनिक आहार हो । त्यहीँ भोजनले उहाँलाई जिउन सिकायो । भान्साको खानेकुरा र शौच गर्न उहाँ आफैँ शौचालय जान सक्षम रहेको अनुभव साट्नुभएको छ । उहिले र अहिलेको समय निकै परिवर्तन भएको सुनाउनु हुने पोखरेलको भनाइ छ, “हाम्रो जमानामा एक मोहरमा धार्नी खसीको मासु आउँथ्यो । अहिले हजार नाघेको सुन्छु ।” ‘हराभरा तोरी सानीमाकी छोरी’ बोलको गीत गाउँदै खेतबारीको आलीमा उफ्री नाचेको सम्झना उहाँको मानसपटलमा ताजै छ । दस वर्षको उमेरमा विवाह भएको सम्झँदै उहाँ भन्नुहुन्छ, “ध्वजापताकाले घर शृङ्गारिएको देखेर मक्ख थिएँ, विवाह के हो थाहा थिएन । नानी यता आइज भनेर आमाले हात समाएर टाँडमा लैजानुभयो । नयाँ लुगा लगाएर जग्गेमा बसाउनुभयो । बिहे भयो रे । मलाई त भाँडाकुटी खेले जस्तो लाग्यो ।”

उहिलेको समाजमा मानिस थोरै थिए । खेतबारी टन्नै हुन्थ्यो । घरमा काम गर्ने मानिस नहुँदा प्रायः सानैमा विवाहबारी हुने प्रचलन थियो । पढ्नलाई स्कुल, पाठशाला थिएन । घर खेतबारीको काममै मानिसहरू व्यस्त रहने गर्थे । दाङको तुलसीपुरमा विसं १९७० मा जन्मनुभएकी जानकी डगौरा थारू अहिले ११० वर्ष पुग्नुभयो । धनगढी–५, जाइँ गाउँमा अहिले बस्दै आउनुभएकी थारू दाङबाट बुह्रान झरेको बताउनुहुन्छ । थारू समुदायमा जन्मे हुर्केकाले खेती पिसानी काममै जीवन गएको उहाँ बताउनुहुन्छ । आफ्नै खेतबारीमा काम गर्ने, बारीको ताजा हरियो सागपात खाने, खोलाको माछा, गङ्गटा, घुङ्घी खाएरै आफू अहिलेसम्म बाँचेको उहाँको अनुभव छ । “ऊ बेला अन्न कुटान पिसानका लागि मिल थिएन । ढिकी, जाँतोमै पिसेर सन्तान हुर्कायौँ । घर, खेतबारीको कामले फुर्सद भएन, सायद त्यही ताजा खानाले मलाई जिउन सिकायो । अहिलेसम्म आँखा देख्छु, थोरै भए पनि कान सुन्छु” उहाँको अनुभव छ । 

‘बागलुङ्गे वैद्य’ को नामले चिनिनुहुने गोपाल वैद्य १०२ वर्षको हुनुभयो । विसं १९७८ जेठ २ गते प्युठानको खलङ्गामा जन्मनुभएका उहाँ पिता पुर्खाकै पेसा वैदिक औषधोपचारलाई अँगाल्नुभयो । त्यहीँ पेसा गर्दै उहाँको जीवन उत्तरार्ध लागेको छ । दरबार हाइस्कुलबाट मध्यमासम्मको अध्ययन गर्नुभएका वैद्य हाल पोखराको भैरव टोलमा बस्नुहुन्छ । बिहान ५ बजे उठेर नित्यकर्म गरी पूजापाठ गर्ने दैनिकी रहेको वैद्य साँझ ८ बजे नै सुत्नुहुन्छ । परिवारका सदस्यको राम्रो साथ र सहयोग पाएपछि आफू तन्दुरुस्त रहेको उहाँको भनाइ छ । जीवन प्रकृतिको नियमित प्रक्रिया रहेको उहाँको बुझाइ छ । मुलुक सम्मुन्नत भएको देख्ने आफ्नो धोको रहेको बताउँदै वैद्यले यो जुनीमा त्यो देखेर अस्ताउन पाए जीवन सार्थक भएको मान्ने अनुभव 

साट्नुभएको छ । सय वर्ष पार गर्दा पनि उहाँको जिउडाल बलियो छ । आँखाको चमक, कानको सुनाइ स्वस्थ छ । घरकै उत्पादन ताजा तरकारी, दालभात, दुध, फलफूल सेवन गर्दा आफूमा स्फुर्ति कायमै रहेको उहाँले अनुभव साट्नुभएको छ । 

विसं १९७६ मा जन्मनुभएकी दिलकुमारी महत अहिले १०४ वर्षको हुनुभयो । आफू लामो समय बाँच्नुको राज मुख्यतः आहार विहार भएको उहाँको बुझाइ छ । जतिसुकै कष्ट र दुःख परे पनि चिन्ता नलिने स्वभावले आफू निरोगी रहेको उहाँको भनाइ छ । १९९० र २०७२ का ठुला भूकम्पको सामना गर्दा पनि आफू नआत्तिएको उहाँले अनुभव साट्नुभयो । पहिलो सन्तानको रूपमा छोरी जन्मेपछि उहाँका श्रीमान् बित्नुभयो । ९० वर्षसम्म एकल जीवन बिताएर पनि उहाँ अहिले त्यत्तिकै बलियो हुनुहुन्छ । उहाँको अनुभव छ, “उहिले पैसा राख्ने आज जस्तो बैङ्क थिएन । कसको कति सम्पत्ति छ भन्ने बुझ्न परालको टौवा र मकैको थाक्रो हेरिन्थ्यो । त्यहीँ हेरेर चेलीबेटीको विवाह गर्ने प्रचलन थियो ।” उहिले सिक्का पैसा बढी प्रचलनमा रहेको र एक लाख रुपियाँ जम्मा भएपछि आफूलाई साहु भन्ने प्रचलन रहेको उहाँ सम्झनुहुन्छ । “एक लाख जम्मा भएपछि घरको धुरी चढेर गाउँलेलाई सुनाउने चलन थियो । अहिले जस्तो भए त उही राति चोर डाँका लाग्थे होला”, उहाँको बुझाइ छ ।

कोषका सभापति वसन्तराज कार्की जर्नलको प्रधानसम्पादक हुनुहुन्छ । जर्नलले युवा पुस्तालाई नयाँ ज्ञान दिने विश्वास उहाँ गर्नुहुन्छ । जीवनलाई जति सरल र सहज बनाउन सक्यो त्यति नै आयु लामो हुने रहेछ भन्ने सिकाइ शताब्दी व्यक्तित्व जर्नलबाट आफूलाई भएको उहाँको बुझाइ छ । ज्येष्ठ नागरिकलाई जति सम्मान र स्याहार गर्न सक्यो त्यति लामो आयु बाँच्ने वातावरण निर्माण हुने अनुभव सुनाउँदै सभापति कार्कीले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई वृद्धाश्रम होइन, परिवारका सदस्यसँगै घरमा राखौँ । उचित स्याहार र खानपानमा ध्यान दिउँ उहाँहरूको जीवन लम्ब्याउन सकिन्छ ।”

  

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका निमित्त सम्पादक हुनुहुन्छ ।