• १८ असार २०८१, मङ्गलबार

बाली सुक्न थालेपछि कृषक चिन्तामा

blog

प्रेमराज सिम्खडा 

कालीकोट, माघ २७ गते । यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् । 

कात्तिक/मङ्सिरमा छरिएका गहुँ र जौ केही ठाउँमा छर्दाखेरिको चिसो माटोका कारणले उम्रिए पनि जहाँ सुक्खा जमिन थियो उक्त ठाउँमा अझै उम्रिएको छैन । माघ महिना सकिन लाग्दा पनि पानी नपर्दा यहाँका नागरिकले छरेको हिउँदे बाली सुकेर पहँेलो भएको छ । छिटफुट परेको पानीले बालीलाई केही पनि राहत नगरेपछि उम्रिएको गहुँ र जौ सुक्न थालेको कृषकको गुनासो छ । पलाँता–१ का छत्र कार्कीले आजसम्म पानी नपरेकाले भोकमरी हुने पक्का जस्तै भएको बताउनुभयो । जहिले पनि माघमा पर्ने पानीको आस हुन्थ्यो, यसपालि पानी नै नपरेका कारण पलाँतामा भोकमरीको समस्या हुने कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँदे बाली लगाउँदा रहेको चिसोको आँतले बाली हरियो जस्तै देखिए पनि भित्रबाट सुकेर पहेँलो हुँदै गएको छ ।” 

पलाँता–४ का जयमल बुढाले अब हिउँदे बालीको आस मरिसकेको बताउनुभयो । अहिलेसम्म पानी नपरेका कारणले राडुनेटा, खिन, मुजुवाडालगायतका बाली उत्पादन हुने क्षेत्र पूरै उजाड भइसकेको बुढाको भनाइ छ । पलाँता–२ का गोरेबहादुर बमले भन्नुभयो, “पानी माघको अन्तिममा परे पनि बाली राम्रै उत्पादन हुन्थ्यो तर यसपालि अब पानी पर्ने छाँट देखिएन ।” माटो निकै मलिलो र उत्पादनमुखी छ, पर्याप्त पानी पर्दा यहाँका नागरिकलाई दुई वर्षसम्म पुग्ने गहुँ उत्पादन हुने उहाँले बताउनुभयो । पानी नपरेका कारणले खडेरी थेग्न नसक्ने पलाँता, पचालझरना गाउँपालिका मात्र होइनन्, सिँचाइको व्यवस्था भएका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, नरहरिनाथ, शुभकालिका गाउँपालिकामा पनि गहुँ बाली सुकिरहेको छ । जिल्ला सदरमुकाम मान्ममा पनि सिँचाइ छैन । पानी पर्ला र गहुँ छरौँला भनेर कुरेका किसान निराश छन् । 

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले पानी नपर्दा हिउँदे बालीसँगै स्याउ उत्पादनमा पनि कमी आउने बताउनुभयो । यो वर्ष हिउँदे बाली उत्पादनमा गिरावट आउने निश्चित भएको कार्यालयको अनुमान छ ।