अविनाश चौधरी
धनगढी, माघ २६ गते। सरकारले लगानीको लागि स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको उद्घाटनको क्रममा उनीहरुले यस्तो बताएका हुन। लगानीको वातावरण बनाउन सरकारलाई उनीहरुको आग्रह छ। महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो। “काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं”, उहाँले भन्नुभयो।
मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति र उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याउनुभयो। युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण उपलब्ध गराउन जरुरी रहेको उहाँको भनाइ थियो।
यसैगरी, महासंघकै अर्का उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो,“यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक छ। त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नु पर्दछ। साथसाथै, लगानी सम्मेलन गर्नु पर्दछ।”
यसैबिच, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारलाई सफल वा असफल बनाउनमा निजी क्षेत्रको ठुलो भूमिका रहने गरेको उल्लेख गर्नुभयो।
प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनु पर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको मन्त्रीको भनाइ थियो। देश विदेशको लगानीलाई यो प्रदेशमा कसरी भित्र्याउने भन्ने सवालमा प्रदेश सरकार गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो।