• १८ वैशाख २०८१, मङ्गलबार

वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी

blog

काठमाडौँ, माघ २६ गते । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । 

पछिल्लो पटक त वैदेशिक रोजगारीका नाममा ठगिएँ भनेर उजुरी गर्नेको सङ्ख्या उच्च दरमा बढेको छ । योसँगै पछिल्लो पटक मुद्दा फस्र्योटको दर पनि बढेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म तीन लाख ४३ हजार ४११ जना श्रम स्वीकृति लिएर विदेश गएकामा तीन हजार ४९५ जनाले वैदेशिक रोजगारीमा समस्या परी उजुरी दर्ता गराएका छन् । तिनमा एक हजार ५६० वटा (४४.६३ प्रतिशत) उजुरी फस्र्योट भएका छन् । त्यसबापत १३ करोड ८४ लाख ४५ हजार रुपियाँ क्षतिपूर्तिबापतको रकम भराइएको विभागले जनाएको छ । जब कि आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा तीन हजार ३५६ वटा उजुरी परेकामध्ये ३५९ वटा (१०.६९ प्रतिशत)  मात्रै फस्र्योट भएका थिए । 

विभागका निर्देशक कविराज उप्रेतीले पछिल्लो समय वैदेशिक रोजगारीका उजुरीलाई प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । उजुरीको फस्र्योट दर पनि विगतको तुलनामा धेरै बढेको उहाँको दाबी छ । 

चालु आवको पहिलो छ महिनामा विभागमा परेका ठगीका उजुरीमध्ये दुई हजार ८०५ वटा  व्यक्तिगत छन् भने संस्थागत उजुरीको सङ्ख्या ६९० वटा छ । व्यक्तिगत उजुरीमध्ये एक हजार १३० वटा विभागमा आएका हुन् भने एक हजार ६७५ वटा उजुरी प्रहरीसमक्ष आएका हुन् । 

विभागका अनुसार एक वर्षको अवधिमा विभागमा परेका संस्थागत र व्यक्तिगत गरी एक हजार ८२० उजुरी दर्ता भएका छन् । संस्थागत उजुरीबाट एक करोड ३९ लाख ४६ हजार रुपियाँ क्षतिपूर्ति भराइएको विभागले जनाएको छ । व्यक्तिगततर्फका उजुरीमा ११ करोड २८ लाख नौ हजार छ सय रुपियाँ क्षतिपूर्तिसहित मिलापत्र गराइएको विभागले जनाएको छ । यस्तै प्रहरीमा परेका एक हजार ६७५ वटा उजुरीबाट एक करोड ४२ लाख नौ हजार चार सय रुपियाँ क्षतिपूर्ति भराइएको जानकारी दिइएको छ । 

पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेका पाइएको छ । त्यसो त चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि तीन लाख ४३ हजार ४११ जना बिदेसिएका छन् । 

विभागका अनुसार आव २०७९/८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या सात लाख ७१ हजार ३३८ जना रहेको छ । अघिल्लो आव २०७८/७९ मा श्रम स्वीकृति लिएर विदेसिनेको सङ्ख्या छ लाख ३० हजार ९० थियो । आव २०७८/७९ मा एक हजार ७४२ वटा उजुरीबापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ माग दाबी गरिएको थियो । 

विभागका निर्देशक उप्रेतीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । 

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगततर्फका रहेका र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका निर्देशक उप्रेतीले व्यक्तिगत रूपमा हुने ठगीबाट युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखेकै व्यक्ति पीडित हुने गरेका र रकम पनि ठुलो परिमाणको हुने बताउनुभयो । 

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सलटेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेका उहाँको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ । 

यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीका नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छन् तर व्यक्तिगत उजुरी भने कानुनी दायरामा बढी जाने गरेका छन् । 

विभागका अनुसार चालु आवको सो अवधिमा परेका उजुरीमध्ये ८४ वटा मुद्दा अदालतमा दायर भएका छन् । तिनमा अधिकांश व्यक्तिगत ठगीविरुद्धका छन् भने सात वटा मुद्दा कन्सलटेन्सी, ट्राभल एजेन्सी र संस्थाविरुद्धका छन् । अदालतमा दायर मुद्दामा ११ करोड २८ लाख नौ हजार छ सय रुपियाँ क्षतिपूर्ति रकम दाबी गरिएको जनाइएको छ । विभागका अनुसार सो अवधिमा विभागमा दर्ता भएका उजुरीमध्ये २५६ वटाको मिलापत्र गरिएको छ । विभागका अनुसार चालु आवमा परेका उजुरीमध्ये ४५ जनालाई विभिन्न देशबाट संस्थागत म्यानपावरमार्फत स्वदेशमा उद्धार गर्न लगाइएको विभागले जनाएको छ ।