सिराज खान
नेपालगन्ज, माघ २५ गते। नेपाल भारत सीमा नाकामा रहेको नेपालगन्ज सहर र सो वरिपरिका ठाउँमा बसोबास गर्ने अधिकांश विद्यालयले सीमा पारी रुपैडिहाबाट विद्यालय पोसाक खरिद गराउने गरेकोमा नेपालगन्जका गार्मेन्ट व्यवसायीले विरोध गरेका छन्।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जका गार्मेन्ट व्यवसायीसँग गरेको छलफल कार्यक्रममा गार्मेन्ट व्यवसायीले उपमहानगरका धेरै विद्यालयले सीमापारिबाट विद्यालय पोसाक खरिद गर्न लगाउने गरेको गुनासो गर्दै सो रोक्न पहलको आग्रह गरेका हुन्।
गार्मेन्टस् उद्योग सङ्घ बाँकेका अध्यक्ष चन्द्र श्रेष्ठको नेतृत्वमा सो छलफलमा सहभागी गार्मेन्ट व्यवसायीले नेपालगन्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पोसाक अभिभावकले किन्ने वातावरण निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घसँग आग्रह गरेको बताउनुभयो।
उहाँले नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा विशेष गरेर निजी विद्यालयको समन्वयमा छात्रा तथा छात्रको स्कुल तथा कलेज ड्रेस सीमापारिबाट ल्याउने हुँदा त्यसलाई न्यूनीकरणको पहल गर्न अनुरोध गरिएको बताउनुभयो।