• १२ असोज २०८१, शनिबार

विद्यालय व्यवस्थापन समिति पदाधिकारीलाई तालिम

blog

विद्यालय व्यवस्थापन समिति पदाधिकारीका लागि आयोजित तालिमका सहभागी।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २५ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार विद्यालय व्यवस्थापन समिति (विव्यस) का पदाधिकारीलाई मङ्गलबार र बुधबार दुई दिने तालिम प्रदान गरिएको छ। गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा विव्यसका पदाधिकारी अर्थात् अध्यक्षहरूलाई क्षमता विकास तालिम दिएको थापाले बताउनुभयो।

शैक्षिक गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिको पनि महत्त्वपूर्ण भूमिका रहने हुँदा समितिको भूमिकालाई थप जिम्मेवार बनाउनका लागि विव्यस पदाधिकारीलाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। क्षमता विकास तालिमले विव्यस पदाधिकारीलाई आफ्नो भूमिका निर्वाह गर्नका लागि थप सक्रिय बनाउने र विद्यालय तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले बताउनुभयो।

पाँच वडा रहेको गाउँपालिकाभित्रका चारवटा माध्यमिक विद्यालय र अन्य आधारभूतसहित दर्जन बढी सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई तालिम प्रदान गरिएको हो। तालिम गाउँपालिकाको प्रशासकीय केन्द्र थलङ, साँवामा सञ्चालन गरिएको बताइएको छ।