मीना कंडेल
कावासोती, माघ २५ गते । पूर्वी नवलपरासीमा घडियाल काव्य उत्सव हुने भएको छ । दुर्लभ घडियाल गोही संरक्षणसँगै नवलपुरको पर्यटन प्रवर्द्धनका लागि नवलपुरको देवचुलीमा घडियाल काव्य उत्सव तेस्रो संस्करण २०८० हुन लागेको हो ।
माघ २८ र २९ गते दुई दिनसम्म हुने घडियाल काव्य उत्सवमा लोपोन्मुख घडियाल गोही र प्रकृतिको संरक्षणमा टेवा पुग्ने विश्वास छ ।
नारायणी लगायतका देशका ठुला नदीमा विचरण गर्ने घडियाल गोही नदी प्रदूषणका कारण सङ्कटमा परेको संरक्षणविद् बताउँछन् । घडियालको संरक्षण गर्न पानी सफा राख्न र पानीको मुहान जोगाउनु पर्ने संरक्षणकर्मी डिभी चौधरीको भनाइ छ ।
कार्यक्रममा नवलपुरमा पर्यटन: हिजो, आज र भोलि, पृथ्वीको अन्तिम डायनासोरः घडियाल, अबको विकास: मनस्थिति र परिस्थिति, आँगनीमा लिट्–नेचर, प्रकृति, पर्यटन र साहित्य, मौलाकिालिकादेखि त्रिवेणी: सानो जिल्लाको विराटता, सिने पर्यटन: नवलपरासीदेखि नवलपुरसम्म, गोलमेच पालिका बहस विषयमा विभिन्न वक्ताहरूसँग प्यानल छलफल समेत गरिने आयोजक संस्था ह्याप्पी एफएमका प्रमुख बुद्धिराज कडरियाले बताउनुभयो ।
यस्तै, लोपोन्मुख घडियाल संरक्षणका लागि मात्रै नभई काव्य उत्सवले संरक्षणमा सकारात्मक सन्देश दिने र नवलपुरको पर्यापर्यटनको विकासमा टेवा पुर्याउने नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनुभयो । देवचुलीमा रहेको शास्वतधाम परिसरमा काव्य उत्सव हुनेछ ।