राधाकृष्ण डुम्रे
वालिङ, माघ २५ गते । स्याङ्जाको गल्याङ नगरपालिकाले छोटो अवधिमा उल्लेख्य काम गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आधारमा गल्याङले छोटो अवधिमा राम्रो सुधार गरेको देखिएको हो ।
पालिकाले सङ्गठन तथा प्रशासन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहमा, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, सहकार्य तथा समन्वयमा लगायतमा उल्लेख्य सुधार गरेको हो ।
आर्थिक वर्ष २०७९-८० मा पालिकाले लिजामा ८२.७५ अङ्क पाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ६०.७५ प्रतिशत थियो । यस्तै, आर्थिक वर्ष २०७६-७७ मा स्वमूल्याङ्कनमा जम्मा ३७ अङ्क प्राप्त गरेको थियो । यो आधारमा पालिकाले तीन आर्थिक वर्षको अन्तरालमा राम्रो प्रगति गरेको देखिएको हो ।
यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पालिकाले ६८ अङ्क पाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ४० अङ्क पाएको थियो । यसमा पनि पालिकाले सुधार गरेको देखिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोही मूल्याङ्कनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् । पालिकामा जनप्रतिनिधिहरू ले नै चासो लिएर हरेक सूचकहरूको अध्ययन गरेको र तोकिए अनुसारका सुधारका काम गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । आफूहरू निर्वाचित भएर आए पछि पालिकाको सबै पक्षमा सुधार गरेको उहाँको भनाइ छ ।
पछिल्लो वर्षमा पालिकाको बेरुजु घटेको छ भने योजनाको कार्यान्वयनमा राम्रो प्रगति भएको छ । पालिकाले सञ्चालन गरेका योजनाको अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाएको प्रमुख भट्टराईको भनाइ छ । विकास निर्माणमा सरोकारवालाहरूले दिने पृष्ठपोषणलाई अक्षरशः पालना गरेको उहाँले बताउनुभयो । कर्मचारी तथा जनप्रतिनिधि बिच विश्लेषण एवम् छलफल भई लिजा र एफआरएलाई महत्त्व दिएको उहाँको भनाइ छ ।
प्रदेश तथा केन्द्रसँग समन्वय गरी पालिकाका हरेक कामलाई अगाडि बढाएको छ भने प्रदेश एवम् सङ्घीय कानुन पूर्ण रूपमा पालना गरेको पालिकाको भनाइ छ ।
पालिकाले आन्तरिक नियन्त्रण प्रणाली तयार गरेको छ । नियन्त्रण प्रणालीलाई पूर्ण रूपमा लागु गरिएको प्रमुख भट्टराईले बताउनुभयो । जनप्रतिनिधिहरू बिचको छलफल र अन्तरक्रिया नियमित गर्दै सबै पक्षको सहकार्यलाई प्रभावकारी बनाउँदै लगेको उहाँले बताउनुभयो ।
सभाबाट स्वीकृत गरेका कार्यक्रममा तोकिएको सीमा र शीर्षकभित्र मात्र खर्च भइरहेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकाको योजना गाउँमा नै पुगेर समयमा नै सम्झौता हुन्छ र कार्यान्वयनमा जान्छ, जसको कारण आर्थिक परिचालन र विकास निर्माण राम्रो छ ।” पालिकाले कुनैपनि रकमान्तर नगरेको उहाँको भनाइ छ ।
भौतिक पूर्वाधारहरूमा उल्लेख्य वृद्धि गरेको नगरपालिकाले जनाएको छ । बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सङ्घ र प्रदेशबाट प्राप्त मार्गदर्शनको पालना र अख्तियारको निर्देशनको पालना गरेको अधिकृत शर्माको भनाइ छ ।
अझै धेरै क्षेत्रमा प्रगति हासिल गर्न बाँकी रहेको भन्दै शर्माले पालिका सुधारको बाटोमा अगाडि बढिरहेको बताउनुभयो ।