• १२ मंसिर २०८१, बुधबार

उपभोक्ताका लागि चामलमा पोषक तत्त्व मिसाइँदै

blog

एकिन्द्र तिमिल्सेना

टीकापुुर, माघ २४ गते । चामलमा पाइने पोषक तत्त्व कम हुन थालेपछि चामलमा पोषक तत्त्व मिसाउन थालिएको छ । पछिल्लो समय उपभोक्ताको चाहाना सेतो चामल भएकाले कारखानामै चामललाई पटक–पटक ताछेर (पालिस गरेर) सेतो बनाउन थालिएको हो । 

यसरी ताछदा चामलको बाहिरी भागमा रहने पोषक तत्त्व नासिरहेको छ । कारखानामा कुटेको धानको चामलमा रहेको पोषक तत्त्व ताछिएर जाने र कार्बोहाइड्रेट मात्र बच्ने गर्छ । तराईका उपभोक्ताले धेरै बस्तु उपभोग गर्दा भिटामिन, खनिज प्राप्त हुने भए पनि एकैखालको खाना खाने हिमाली क्षेत्रका महिला, बालबालिकालाई पोषण नै नपुग्ने हुँदा कर्णाली प्रदेशका जिल्लामा आपूर्ति गरिने चामलमा पोषक तत्त्व मिसाउन लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेले बताउनुभयो ।  

कर्णाली प्रदेशका हिमाली जिल्लाका लागि पठाइने चामलमा नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था कम्पनी लिमिटेडले मुख्य शाखा कार्यालय  राजापुरस्थित आफ्नै मिलमा चामलमा भिटामिन, खनिज, फोलिक एसिडको मिश्रणबाट तयार पारिएको चामलको आकारका कर्नेलहरू (एफआरके) मिसाइरहेको छ । 

कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालिकोटका लागि दुई वर्षसम्म ७२ हजार टन चामलमा एफआरके मिसाउन सुरु गरिएको छ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको राजापुर कार्यालयका सूचना अधिकारी चेतमान कठायतले भन्नुभयो, “एफआरके सबैतिरका उपभोक्तालाई चाहिएको छ, तर पहिलो चरणमा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका जिल्लाहरूमा पठाउन थालिएको हो ।”

नुन र चामलमा झण्डै सय वर्ष अघिदेखि आवश्यक मात्रामा पोषक तत्त्व मिलाउने गरिएको छ । नेपालमा यसअघि आयोडिन मिसाइएको नुन प्रयोगमा आए पनि चामलमा भने पहिलो पटक हो । खाद्य अनुसन्धान अधिकृत सुमन लामिछाने भन्नुहुन्छ, “चामल आकारकै भए पनि एफआरकेहरुको रङ फरक देखिन सक्छ, भारतबाट आयातित चामलमा एफआरके मिसाएको भेटिएको छ ।’ 

उपभोक्ताको रोजाइ सेतो चामल

अहिले बजारमा मसिना र सेता चामलको माग धेरै छ । विज्ञहरू भने धान मोटो मसिनो वनखैरो सेतो रङले फरक नपर्ने तर धान उत्पादन, भण्डारण, ढुवानीका बेला पोषण तत्त्व खेर गइसकेको वा धान कुटने बेला चामल धेरै ताछ्दा पौष्टिक तत्त्व खेर गएर गुणस्तरमा ह्रास भएको छकी भनेर ख्याल गर्नुपर्ने बताउनुहुन्छ । 

मानव स्वास्थ्यका लागि धानलाई उसिनेर कुटेको (उसिना) र धानको बाहिरी पत्र मात्रै हटाएको (खैरो) चामल लाभदायक छ । धानलाई उसिनेर कुट्दा चामलको पोषक तत्त्व एकातिर र बोक्रा अर्कातिर जान्छ र पोषण चामलमा रहन्छ । यस्तै, धानलाई कुट्दा बोक्रा मात्र छोडाउने हो भने पोषण चामलमै रहन्छ । तर पालिस गर्दा भने चामलको बाहिरी भागमा रहेको भिटामिन र तेल (स्टार्च) ताछिएर जान्छ र चामलको गुणस्तरमा ह्रास आउँछ । 

केही वर्षअघि टीकापुरमा उत्पादन गरेको उसिना चामल विदेश पठाएको हो, टीकापुरस्थित मौरनियाँ मोड्न राइस मिलका सञ्चालक नारायण गोयलले भन्नुभयो, “पोषणयुक्त उसिना चामलमाभन्दा मसिना  र सेतोमा आकर्षण बढेपछि उसिना चामल उत्पादन बन्द गरेका छौँ ।”