संसारमा कतिपय निर्देशक यस्ता छन् जसले आफ्नो प्रथम या दोस्रो चलचित्रदेखि नै परिपक्वता हासिल गरेको देखिन्छ र छोटो समयमा नै स्थापित हुन पुग्छन् । फेरि अर्काथरी यस्ता निर्देशक पनि छन् जसलाई परिपक्वता हासिल गर्न केही समय लाग्छ र केही वर्षपछि मात्रै उत्पात मच्चाउन सफल चलचित्र बनाउन थाल्छन् । यी दोस्रो खेमाका निर्देशकले बनाएका प्राथमिक चरणका चलचित्रमा पनि केही न केही जादु या विशेषता रहेको हुन्छ र फिल्म फ्यान ती चलचित्रलाई रुचाउने गर्छन् र चर्चा गर्न मन पराउँछन् । 
महान् निर्देशकले बनाएका तर अपरिपक्व भनिएका चलचित्रमा ती निर्देशकका खास गुणको अध्ययन गर्न सकिन्छ र फिल्म समीक्षक, विद्यार्थी आदिले अध्ययन अनुसन्धान गर्दै आएको पनि देखिन्छ । त्यस्ता अपरिपक्व भनिएका चलचित्रमा पनि साधारण दर्शकलाई बाँधेर राख्न सक्ने क्षमता भने अवश्य हुन्छ र नै ती सुरुवाती चलचित्रलाई पनि पछिल्लो चरणका परिपक्व चलचित्रलाई जत्तिकै माया गर्न पुग्छन् दर्शक । चाहे तीनले बजार हल्लाएका हुन् या नहुन्, समालोचकका आँखामा महान ठहरिएका हुन् या नहुन् । अल्फ्रेड हिचकक, यासुजिरो ओजु, आर डब्लु फास्विन्डर, केन्जी मिजोगुची, जँ रेन्वा आदि यस्तै जिनियस निर्देशकमा पर्छन् जसले अपरिपक्व हुँदा बनाएका चलचित्र हेर्नमा समेत अलग्गै आनन्द पाइन्छ ।
सन् १९४६ देखि फिल्म निर्देशनमा लागेका, सिनेमा क्षेत्रका दोस्तोएभ्स्की भन्न मिल्ने, इङ्गमार बर्गम्यानले सन् १९५७ मा जब ‘वाइल्ड स्ट्रबेरी’ र ‘सेभेन्थ सिल’ बनाए उनको क्षमतादेखि संसार नै नतमस्तक भयो र उनी एक विशिष्ट निर्देशकका रूपमा दरिए र संसारको ध्यान आकर्षित गर्न उनी सफल भए । अझ जब उनको देहान्त भयो तब उनका सम्पूर्ण रचनाको उत्खनन्, अध्ययन, अनुसन्धान र चर्चा हुन थाल्यो । आम दर्शक मात्रै होइनन् प्रख्यात निर्देशकसमेत बर्गम्यानलाई विरल कोटीको निर्देशकका रूपमा स्विकार्छन् ।
कस्ता छन् त बर्गम्यानका प्रथम चरणका (सन् १९४६ देखि १९५० सम्मका) चलचित्र ?
पहिलो चलचित्रदेखि नै अस्तित्ववाद बर्गम्यानको चलचित्रमा देखिन्छ, जसलाई पछिसम्म पनि निरन्तरता दिएका छन् । इसाइ धर्म र चर्चको विषय उनले द सेभेन्थ सिलदेखि मात्रै उठाएको देखिन्छ । महिला र पुरुषको सम्बन्ध, त्यस सम्बन्धले उत्पन्न गरेको जटिल मनोविज्ञान जस्ता कुरा बर्गम्यानका प्रायः चलचित्रको मूल विषय बनेर आएका छन् जसलाई उनले आफ्नो पहिलो चलचित्र ‘व्रmाइसिस’ (१९४४) देखि २००३ को टिभी फिल्म ‘साराब्यान्ड’ सम्म छोडेका छैनन् । महिला र पुरुषको सम्बन्ध अझ त्यसमा पनि विवाहको सम्बन्धलाई लिएर सन् १९७३ मा बर्गम्यानले साढे चार घण्टा लामो मिनी सिरिज नै बनाएका छन् । महिला पुरुषको प्रेम र विवाह सम्बन्धप्रति बर्गम्यानले अलि बढी नै लगाव राखेको अनुभूत जो कोहीलाई हुन सक्छ । बर्गम्यानले आफ्नो बुबा र आमाको सम्बन्धलाई समेत लिएर ‘द बेस्ट इन्टेन्सन्स’ १९९२ लागि कथावस्तु लेखेका छन् जसलाई बिल अगस्तले निर्देशन गरेका छन् । उनले वास्तवमा आफ्नो जीवनको अनुभवलाई पनि चलचित्रमा स्थान दिएको कुरा उनको जीवनी पढ्दा थाहा लाग्छ ।
अस्तित्व सङ्कट, आफ्नो विश्वास र आस्था विपरीतको माहोल, अन्योल र उहापोह, अभिभावकसँगको द्वन्द्वात्मक सम्बन्ध (विशेष गरी आमा छोरी तथा बाउ छोरा बिचको), व्यावहारिक संसारको जन्जालबाट पर रहेको यौवन, यौवनको स्वच्छन्दता र उन्मुक्तता तथा पश्चाताप आदिलाई बर्गम्यानले सुरुदेखि आफ्ना चलचित्रमा स्थान दिएका छन् । पात्रको मनोदशालाई क्लोजअपमार्फत देखाउन होस् या दर्शकलाई माहोलप्रति डुबाउन उनी क्यामेराको प्रयोग अत्यन्तै प्रभावकारी ढङ्गले गर्छन् ।
बर्गम्यानको प्रथम चलचित्रको कुरा गर्दा सन् १९४४ को ‘टोरमेन्ट’ लाई पनि छुटाउन मिल्दैन किनकि यस चलचित्रको कथावस्तु उनैले लेखेका र सहनिर्देशकको समेत भूमिका निभाएका थिए त्यसपछि मात्रै आफ्नो पूर्ण निर्देशनमा व्रmाइसिस बनाएका थिए । चलचित्र टोरमेन्टले स्कुले विद्यार्थी र व्रmुर शिक्षक बिचको द्वन्द्वात्मक अवस्थाको कथा देखाएको छ । तानाशाही प्रवृत्तिको शिक्षक आफूभन्दा सानो विद्यार्थीलाई व्यक्तिगत शत्रुको रूपमा व्यवहार थाल्छ र त्यस द्वन्द्वले हिंसात्मक अवस्थासमेत निम्त्याउँछ । टोरमेन्टको शिक्षकले द वाइल्ड स्ट्रबेरिजको प्रमुख पात्र (इसाक बोर्ग) को झल्को दिन्छ । यी दुवै पात्र अहंले ग्रस्त छन् र सबैबाट एक्लो छन् ।
सन् १९६० अगाडिको या २० औँ शताब्दीभन्दा अगाडिको समय, प्रकृतिको नजिक रहेका मानिस बर्गम्यानका धेरै फिल्ममा देखिन्छ । यस्तो लक्षण उनको प्रथम चलचित्रमा नै देखिन्छ । सन् १९४६ को व्रmाइसिसमा तत् समयको शान्त र सुन्दर एक स्विडिस गाउँभित्र बस्ने एक नव यौवना र दुई महिलाको कथा छ । सहरकी एक महिलाले गाउँकी एक आदर्शवान महिलालाई शिशु अवस्थामै पाल्न दिएकी हुन्छे । सहरी महिला पहिले वेश्यावृत्ति र मोज मज्जामा लागेकी र प्रौढ कालमा ब्युटी पार्लर चलाएर बस्ने गर्छे । शिशु हुर्किएर यौवन अवस्थामा पुगेपछि आफ्नी छोरीलाई ऊ फिर्ता लैजान्छे । महँगा लुगा, अत्तर, नाचगान, मेकअप र स्मार्ट सहरी पुरुषको प्रेम पाएर पनि सहरको पाखण्डी र नैतिकताहीन जीवन त्यस छोरी चाहिँले पचाउन सक्दिनँ । जन्म दिने आमा र आफूलाई प्रेम गर्ने पुरुषको यौन सम्बन्ध थाहा नपाएकी छोरी चाहिँले जब त्यो रहस्य थाहा पाउँछे आफू छाँगाबाट खसे झैँ लाग्छ उसलाई । किनकि त्यस पुरुषले उसको कुमारित्व पनि भङ्ग गरिदिइसकेको हुन्छ । यति मात्रै नभएर उक्त पुरुष अपराधीसँग पनि सम्बन्ध रहेको हुन्छ । अन्तिममा चलचित्रकी नायिका, त्यस नव यौवना, गाउँमै फर्कन्छे । दिग्भ्रमको सिकार भएकी त्यस नव यौवनाले सरल देखिने मानव समाजको जटिल पाटोलाई राम्ररी मनन गर्न पुग्छे । मातले अन्धो भएर उसले आफ्नी धर्म आमाको चित्त दुखाउँछे । आमाको अर्थ के हो त भन्ने कुरा चलचित्रले राम्रोसँग देखाएको छ । आमा जन्मले हुने हो या कर्मले यस कुरामा चलचित्र व्रmाइसिस स्पष्ट छ । प्रेमको प्रसङ्ग पनि चलचित्रमा गम्भीर किसिमले आएको छ । महìवाकाङ्क्षाले ग्रस्त हुँदा गाउँले प्रेमीको एकतर्फी प्रेमलाई लत्याउनुको नतिजा पनि चलचित्रमा आएको छ ।
चलचित्रले त्यसबेलाको सहरी पुँजीवादी सभ्यता र गाउँको आदर्श जीवनको चित्रण गरेको छ । यहाँ यस्तो गाउँ देखाइएको छ जहाँ कुनै उद्योग छैन, हतार र भागदौड छैन, बालबालिका मटोमा बसेर खेल्छन्, पुराना माटाका घर, चर्च, तलाउ, खोला र हरियाली । जहाँ बस एउटा आइपुग्नु नै अत्यन्तै ठुलो घटना हुने गर्छ जसले पत्रिका, चिठी र नौला मानिस लेराउने गर्छ । त्यही शान्त देखिने गाउँभित्र लुकेर रहेको एउटा परिवारभित्रको उथलपुथलमय अवस्थालाई व्रmाइसिसले देखाउँछ ।
बर्गम्यानका चलचित्रको अर्को विशेषता भनेको यौवन, युवा र युवाजन्य सरलता, चञ्चलता, जोश अनि उनीहरूको निर्दोषता पनि हो । युवा बुढो पुस्ताबाट पीडित देखिन्छन् । युवालाई दुःख दिने बुढा पुस्ताको सुरुवात ‘टोरमेन्ट’ बाटै भएको देखिन्छ ।
सन् १९४६ चलचित्र ‘इट रेन्स अन आवर लभ’मा पनि बुढा पुस्ताबाट एक जोडी युवा प्रेमी पीडित भएको कथा छ । नायक र नायिका दुवै सर्वहारा वर्गका छन् । युवकको जीवन बाल्यकालदेखि नै डामाडोल छ र ऊ जवान भएपछि पटक पटक जेल पनि पर्ने गरेको छ । केटाको चरित्र बदमास र फटाहा किसिमको देखिँदैन । ऊ आदर्श ढङ्गले जीवन चलाउन चाहन्छ । युवतीको जीवन पनि नष्ट भ्रष्ट भएको छ । उसको धेरै पुरुषहरूसँग यौन सम्बन्ध गाँसिएर पनि प्रेम सफल हुन सकेको हुँदैन र ज्यादै निराश अवस्थामा हुन्छे । युवक प्रेमको अभावमा व्याकुल छ ।
चलचित्रको सुरुवात नै रेल स्टेसनबाट हुन्छ । रेलभित्र नै नायक नायिका भेट हुन्छन् र जोडी बन्छन् । गन्तव्यहीन भएर सहरबाट हिँड्छन् र एउटा गाउँ जस्तो स्थानमा पुग्छन् । पानी पर्छ र त्यसबाट बच्न एक व्यक्तिको कटेरामा अनधिकृत प्रवेश गर्न पुग्छन् । सहरबाट उनीहरूको पछि लागेर एउटा कुकुर पनि आउँछ । निर्दोषताको कुरा गर्दा कुकुरको जीवनप्रति समेत पनि युवती ज्यादै सचेत छे । जुन कटेरामा उनीहरू प्रवेश गर्छन्, त्यसैको मालिकले उनीहरूलाई त्यहाँ बस्न दिन्छन् र युवकले त्यही ठाउँको एक व्यक्तिको कृषक बुढाकहाँ काम गर्न थाल्छ । कृषककी बुढी अलि छोटा किसिमकी हुन्छे र श्रीमान्लाई समेत आफ्नो मुठीमा राख्ने प्रवृत्तिकी त्यस बुढियाले युवकलाई कित्ली चोरेको आरोप पनि लगाउँछे । उसको कथन छ कि युवक काममा आएदेखि सामान हराउन थालेको छ ।
केही दिन जीवन ठिक अवस्थामा हिँड्न थालेको देखिए पनि बिस्तारै युवा जोडीको जीवनमा ग्रहण देखा पर्न थाल्छ । उनीहरू विवाहका निम्ति दर्ता कार्यालयमा जाँदा अनेक समस्या देखिन्छ । अनेक कानुनी प्रव्रिmया पार गरेपश्चात मात्रै चर्चको रहोबरमा बिहे गर्न पाइने देखिन्छ । बिहेअघि केटा र केटीसँगै बस्न पनि नपाइने नियमविपरीत उनीहरू बसेको कुराले कामकुरो बिग्रने अवस्था आउँछ । केटीलाई कतै पठाइनुपर्ने कुरासमेत निस्कन्छ । युरोपको सन् १९६० अघिको संस्कृति कस्तो थियो भन्ने कुराको छनक यस दृश्यले दिन्छ । बिहे दर्ताको कुराबाट निराश भएको युवकलाई फेरि अर्को बज्रपात आइपर्छ । कटेरो मालिकले युवकलाई जानाजानी सार्वजनिकीकरण हुन लागेको जग्गा बेच्छ । अलि पनि जब एक सरकारी कर्मचारी सूचना बोकेर आउँछ, तब मात्रै यो कुरा युवकले थाहा पाउँछ । कटेरो भएको जग्गामा युवकले त्यस कर्मचारीलाई आवेशमा आएर पिट्छ र कुरा अदालतसम्म पुग्छ । अन्तिममा उसलाई काममा लगाउने, घर कटेरो बेच्नेदेखि लिएर अन्य व्यक्तिहरूले पनि उनीहरूकाविरुद्ध न्यायालयमा बोल्छन् । अन्त्यमा एक चिन्तनशील वकिलले युवकको पक्षमा बोलेर उसलाई कुनै पनि कारवाही हुनबाट जोगाउँछ र ऊ आफ्नी प्रेमीकालाई लिएर फेरि यात्रामा निस्कन्छ । कुकुर पनि फेरि उनीहरूलाई नै पछ्याउँदै हिँड्छ ।
पाको उमेरको पुरुषले निर्दोष युवकलाई सताउने काम सन् १९४७ को ‘अ सिप बाउन्ड फर इन्डिया’ मा पनि गरेको छ । समुद्रमा जहाज चलाउने एक प्रौढ क्याप्टेन, उसकी श्रीमती, उसको छोरा र एक युवतीको कथामा यो चलचित्र केन्द्रित छ । समुद्री किनारमा जहाजकै सेरोफेरोमा यिनीहरूको जीवन आश्रित छ । क्याप्टेन निरङ्कुश र व्रmुर किसिमको हुन्छ । छोराको ढाडको बनोट अलिकति असामान्य भएका कारण ऊ छोरालाई सानैदेखि घृणा गर्ने र मानसिक तथा शारीक यातना दिने गर्छ भन्ने कुरा उसकी श्रीमतीको भनाइबाट थाहा लाग्छ । छोरा चाहिँ आफ्नो बाउबाट दबिएको छ र आव्रmोशले उसको आत्मा खाइरहेको छ । छोरोको बिहे गर्ने समयमा घरमा श्रीमती छँदाछँदै कान्छी श्रीमतीका रूपमा एक वेश्या युवती घरमा ल्याएर राख्छ । युवती र छोराबिच सम्बन्ध जोडिन्छ । जब युवती आफ्नो हातमा आउँछे तब छोराको पौरुषतामा धार बसेको देखिन्छ । अब ऊ बाउलाई थप्पड लगाउन सक्ने हुन्छ । शिशु अवस्थाको छोरालाई मार्न प्रयास गर्ने क्याप्टेन कालान्तरमा आफ्नै जहाजको कामदारको हत्या गरेर आत्महत्याको प्रयाससमेत गर्न पछि पर्दैन । क्याप्टेनको छोराले वेश्या युवतीलाई आफ्नो वाचा अनुरूप बिहे गर्छ ।
सिप बाउन्ड फर इन्डियाबाट सुरु भएको बाउ र छोराबिचको सम्बन्धलाई बर्गम्यानले समर विथ मोनिका, वाइल्ड स्ट्रबेरिज, फ्यानी एन्ड अलेक्जान्डर जस्ता चलचित्रमा पनि निरन्तरता दिएको देखिन्छ । सन् १९५५ को ‘स्माइल्स अफ ए समर नाइट’ मा पनि जवान छोरा र बुबाको कथा छ । यसमा पनि प्रथम श्रीमती मरेको हुनाले बुबा चाहिँले दोस्री श्रीमती बिहे गरेर लेराउँछ । दोस्रो बिहे गर्नुअघि पनि बुबा चाहिँले रङ्गमञ्चकी सुन्दर र प्रख्यात कलाकारसँग प्रेम सम्बन्ध बनाएको हुन्छ । यो धनाढ्य परिवार हो ।
यस चलचित्रमा पनि छोरा चाहिँ बुबाको अघि लत्रिने र अपरिपक्व हुन्छ । बुबा चाहिँ सांसारिकता, महिला र प्रेमका कुरामा आफूले आर्जेको ज्ञानमा गर्व गर्छ र छोराको अपरिपक्वतालाई चुनौती दिँदै उसको अघि रवाफ छाँट्छ । कान्छी श्रीमती चाहिँ आफूभन्दा दुई तीन वर्ष जेठो सौतेलो छोरालाई प्रेम गर्न पुग्छे र अन्त्यमा सौतेनी आमालाई छोराले भगाउँछ ।
पोर्ट अफ कल १९४८ मा आमासँग द्वन्द्वात्मक सम्बन्ध भएकी एक किशोरीको कथा छ । आमासँगको खराब सम्बन्धका कारण घरबाहिर उसको अनेक पुरुषहरूसँग सम्बन्ध गाँसिँदै टुट्दै जान्छ । उसलाई सुधार केन्द्रमा समेत राखिन्छ जहाँ उसले आफू जस्तै बाटो बिराएर डामाडोल जीवन बिताउन पुगेका युवती र किशोरीहरू भेट्छे । आत्महत्या गर्न समुद्रमा हामफालेकी उसलाई एक युवकले बचाउँछ र प्रेम गर्छ तर ऊ कुमारी होइन भनेर थाहा पाउँदा बहुलाउँछ र झन्डै मानसिक नियन्त्रण नै गुमाउने अवस्था आउँछ ।
‘पोर्ट आफ कल’ र त्यसदेखि यताका चलचित्रमा बिहेअघिको शारीरिक पवित्रताको महìव के कति छ भन्ने कुरामा बर्गम्यान बढी घोत्लिएको देखिन्छ । यौनको सम्बन्ध शरीरसँग नभएर आत्मासँग या चेतना, अचेतनासँग रहेको कुरा पोर्ट अफ कल, थस्र्ट, टु ज्वाय जस्ता चलचित्रका पात्रले देखाउँछन् । यस कुराले केवल पुरुष मात्रै होइन महिला समेतमा बराबर मात्रामा मनोवैज्ञानिक असर गरेको कुरा पनि यी चलचित्रले देखाएका छन् । आफू हिलोमा परिणत भएको सम्झने थस्र्टकी नायिका आफ्नो प्रेमीलाई भन्छे कि आफू हिलोमा परिणत भए पनि कमसेकम प्रेमी त पवित छ । तर प्रेमी पनि बिहे अघि नै बिटुलो भइसकेको हुन्छ ।
१९४९ को ‘थस्र्ट’ नामक चलचित्रमा तीन सन्तानको बाबुमार्फत कुमारित्व गुमाएर गर्भपातका कारण सधैँलाई बाँझी बन्न पुगेकी एक युवतीको मानसिक पीडाको कथा छ । सन् १९५० को ‘टु ज्वाय’ दिनरात झगडा गर्ने नव विवाहित जोडीको कथा छ, जसले आफ्नो घर संसारलाई नरकमा परिवर्तन गर्दछन् । तर अन्तमा जब श्रीमतीको मृत्यु हुन पुग्छ तब केटालाई श्रीमतीसँगै नहुनुको पीडा महसुस हुन्छ ।
सन् १९४८ को चलचित्र ‘म्युजिक इन डार्कनेस’ भने अलि अलग खालको देखिन्छ । यसमा एउटा कुकुरको छाउरालाई गोली लागेर मर्नबाट बचाउँदा आफैँ दृष्टिविहीन हुन पुग्ने युवकको छटपटीको कथा छ । बर्गम्यानका प्रथम चरणका चलचित्रको चर्चा गर्दा प्रायः कतै पनि उल्लेख नगरिएको भए पनि ‘म्युजिक इन डार्कनेस’ कम मार्मिक छैन ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                