• २१ वैशाख २०८१, शुक्रबार

पूर्वाधार निर्माणमा पनि भगवानकै सहारा

सुरुङ निर्माणस्थलमा गरियो क्षमापूजा

blog

बाबुराम देवकोटा 

कुसुमटार (सिन्धुली), माघ २४ गते  । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुक्खा पहिरो झरेर सुरुङ निर्माण रोकिएपछि मङ्गलबार सुरुङ निर्माणस्थल कुसुमटारमा क्षमापूजा गरिएको छ ।  सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचेपछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको थियो । मङ्गलबार बिहान पण्डित लगाएर कमलामाई नगरपालिका–२, कुसुमटारमा ‘विश्वकर्मा बाबा’ को पूजा गरी क्षमापूजा गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार भौगर्भिक समस्याले गर्दा पहिरोका कारण यो चौथो पटक टिबिएम मेसिन रोकिएको हो । यसअघि पहिलो पटक सात दिन, दोस्रो पटक नौ दिन र तेस्रो पटक २९ दिन टिबिएम मेसिन पहिरो, हिलो लेदो तथा धुलो पाउडर खसेर टनेल निर्माणको काम रोकिएको थियो । विगतमा रोकिएको टिबिएम मेसिन बाइपास टनेल बनाएर काम नियमित गरिएको थियो ।

पछिल्लो पटक पहिरो पन्छाउन विभिन्न प्रयास गर्दा पनि ४५ दिनदेखि काम रोकिएर बसेको अवस्था छ । आयोजना प्रमुख मित्र बरालले निर्माणस्थलमा सबै किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरू (एक्सपोर्ट) हुँदा पनि पहिरो पन्छाएर मेसिन निकाल्न कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीहरूले ४५ दिनमा टिबिएम मेसिनलाई ‘फ्री’ गरिसक्यौँ । अब अगाडि ‘कटरहेड’ लाई ‘फ्री’ गर्ने र केही दिनमा नै पूर्वतयारीको उक्त कार्य सकेर काम नियमित गर्ने प्रयास गरिरहेका छौँ ।”

कुल १३.३ किलोमिटर लामो सुरुङमध्ये १० हजार ५४७ मिटर सुरुङ खनेपछि सुक्खा पहिरो खसेर मेसिन थिचिएर काम अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । उक्त सुरुङ २०७९ साल असोज २८ गतेदेखि कुसुमटारबाट खन्न सुरु गरिएको थियो । “कुसुमटारमा सुरुमा नै विश्वकर्मा बाबाको मन्दिर स्थापना गरिएको थियो,” आयोजना प्रमुख बरालले भन्नुभयो, “यो किसिमको मन्दिर भेरी बबई सुरुङ निर्माण गर्दा पनि थियो । त्यहाँ नियमित पूजाआजा हुने गर्दथ्यो । यहाँ पनि आज विषेश परिस्थिति पनि भएकाले सबैले विश्वकर्मा बाबाको पूजा गरौँ भनेकाले त्यहीँ नियमित पूजा गरेका हौँ । यसमा कुनै धर्म, जात र लिङ्ग छैन ।”  

सुनकोशी गाउ“पालिकाको ट्याङ ट्याङ खोलामुनि सुरुङ खन्ने क्रममा टिबिएम मेसिन फसेको हो । टिबिएम उपकरण फसेपछि काम नियमित गर्न विज्ञहरूबाट काम भइरहेको आयोजनाले जनाएको छ । टिबिएम निर्माण अमेरिकी कम्पनी रोविन्सका प्राविधिक, परामर्शदाताका विज्ञहरू, निर्माण व्यवसायी चिनिया“ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) प्राविधिकलगायतले काम अगाडि बढाउन लागि परेका छन् । मेसिन फसेको ठाउँबाट ९० देखि सय मिटर अगाडिसम्म बग्ने जमिन रहेको अनुमान आयोजनाको छ । टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्यका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएर काम गरिरहेको छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको छ । २२ महिना सुरुङ निर्माणको काम सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको हो । उक्त मेसिनद्वारा दैनिक २५ मिटरदेखि ३८ मिटरसम्म सुरुङ खन्ने गरिएको थियो । ५.५ डायमिटरको सुरुङमार्ग निर्माण गरिएको आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख बरालका अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको काम अगाडि बढाइएको छ । सुनकोशी नदीमा बाँध निर्माण गरेपछि उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । त्यहाँ पानी झारेर ३१.०७ मेघावाट विद्युत् उत्पादन गरिने छ । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु-याउने रहेको आयोजनाले जनाएको छ ।