• २२ वैशाख २०८१, शनिबार

योजना सम्झौतामै ढिलाइ

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ २४ गते । चालु आर्थिक वर्षको सात महिना सकिन लाग्दा रामेछापका स्थानीय तहमा सम्पन्न हुनुपर्ने विकास योजनाहरूको कामले अपेक्षित मात्रामा गति लिन सकेको छैन । रामेछापमा दुई नगरपालिका र छ वटा गाउँपालिकाको हालसम्मको प्रगति विवरण हेर्दा यहाँका स्थानीय तहले अपेक्षित रूपमा विकास योजनाहरूको काम गर्न सकेका छैनन् । यहाँका स्थानीय तह अझै असारे विकासको मानसिकताबाट मुत्तक्तहुन नसकेको देखिन्छ । 

जिल्लाका सबै पालिकामा धेरै विकास योजनाको सम्झौता नै हुन बाँकी छ । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले चालु आव २०८०/८१ को हालसम्म नगरपालिकाबाट स्वीकृत भएका ठुला साना गरी ३५८ वटा योजना र कार्यव्रmममध्ये ६७ वटा योजनाको काम सम्पन्न गरेको छ । 

१७८ वटा योजना सम्झौता भई कार्यान्वयनमा रहेको र १८० वटा योजनाको अझै सम्झौता गर्न बाँकी रहेको नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार १४ वटा वडा रहेको यस नगरपालिकामा अहिलेसम्म ५०.७२ प्रतिशत योजनाको सम्झौता भएको र १९ प्रतिशत योजनाको काम सम्पन्न भई भुक्तानी भइसकेको छ । 

चालु आवको हालसम्म रामेछाप नगरपालिकामा अझै ८० वटा विकास योजना सम्झौता हुन सकेको छैन । यो नगरपालिकामा छ वटा योजना ठेक्कामार्फत र १८१ वटा योजना उपभोक्ता समितिमार्फत सम्पन्न हुनुपर्ने छ । अहिले ठेक्काका सबै योजनाको काम भइरहेको र उपभोक्ता समितिमार्फत हुने १०३ वटा योजना सम्झौता भई कार्यान्वयन भइरहेको योजना शाखा अधिकृत नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार नौ वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म सात वटा योजना सम्पन्न भई भुक्तानी हुँदा ८० वटा योजनाको सम्झौता हुन बाँकी रहेको छ । 

खाँडादेवी गाउँपालिकामा अहिलेसम्म ११० वटा योजनाको सम्झौता नै हुन सकेको छैन । नौ वटा वडा रहेको यस पालिकामा चालु आवमा २८२ वटा योजना रहेकोमा हालसम्म १७२ वटा योजना मात्रै सम्झौता भएर कार्यान्वयनमा गएको योजना शाखाका सबइन्जिनियर अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ६० वटा योजना सम्पन्न भएकोमा ११ वटा योजनाको भुक्तानी भइसकेको छ । 

गोकुलगङ्गा गाउँपालिकामा हालसम्म ६५ वटा योजनाको सम्झौता नै हुन सकेको छैन । छ वटा वडा रहेको यो पालिकामा चालु आवमा २३८ वटा योजना रहेकोमा हालसम्म १७३ वटा योजना मात्रै सम्झौता भएर कार्यान्वयनमा गएको योजना शाखाका प्रमुख रामकुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार यो गाउँपालिकामा हालसम्म ३१ वटा योजनाको भुक्तानी भइसकेको छ ।