• २२ वैशाख २०८१, शनिबार

सबैले सम्झिने प्रधानाध्यापक, चालिस वर्ष एउटै विद्यालय

blog

चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

 २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ ।  यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।  

समुद्री सतहदेखि एक हजार पाँच सय मिटरको उचाइमा रहेको यस विद्यालय भौतिक रूपमा पनि निकै नै आकर्षक छ । सुरुमा खुला आकाशमा सञ्चालन गरिएको यस विद्यालयको भौतिक संरचना अहिले साँच्चै नै आकर्षक र राम्रा भनिने निजी विद्यालयको भन्दा कम छैन । त्यति मात्रै होइन आवश्यकता अनुसार विद्यालयमा आवासीय सुविधासमेत छ ।  हाल यस विद्यालयमा कक्षा (इसिडी) देखि १२ सम्म अध्ययन हुँदै आएको छ भने यस विद्यालयमा ५७ जिल्लाका बालबालिकाले अध्ययन गर्दै आएका छन् । 

प्रतिकक्षा ४० जनाको क्षमता रहेको भए पनि विद्यार्थी बढी भएकाले कक्षा ७ देखि १० सम्म कक्षा विभाजन गरेर अध्यापन भइरहेको छ  ।प्रशस्त खुला स्थान, अब्बल भौतिक संरचना र रमणीय वातावरण रहेकाले यहाँ हरेक वर्ष विद्यार्थी थपिने क्रम बढिरहेको छ ।  

दक्ष विषयगत शिक्षकबाट अध्यापन गराइने र आवासीय सुविधाका कारण पनि पछिल्लो समय यस विद्यालय विद्यार्थीको रोजाइ बन्न थालेको छ । प्रविधिमैत्री कक्षाकोठा छन्, मुख्य सहरमा जस्तो धेरै हल्ला पनि यस विद्यालयमा छैन, विद्यालयकै बस सेवा छ । पछिल्लो समय नयाँ विद्यार्थी मात्रै होइन निजी विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी पनि यहाँ आउने गरेका छन् । कहिले विद्यालय भवन निर्माणका लागि त कहिले विद्यार्थी कसरी बढाउने भन्ने विषयमा स्थानीयलाई नै बढी खुसी बनाउनु पर्छ भन्दै कहिले हजुरआमा भेला, कहिले हजुरबुवा भेला, कहिले बालबालिका भेला त कहिले दिदीबहिनी भेला जस्ता कार्यक्रम गरेर स्थानीयको मन जितेर समुदाय र विद्यालयलाई जोड्ने काम गरेको प्रधानाध्यापकले बताउनुभयो । 

सुरुमा स्थानीय कम पढ्ने यस विद्यालयमा अहिले ३० प्रतिशत स्थानीय बालबालिकाले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।  विद्यालयले २५ रोपनी जग्गा ओगटेको छ भने विद्यालय भवनमा जम्मा ८४ कक्षाकोठा रहेका छन् ।  


विद्यालयको चुनौती 

विद्यालयले विगतलाई बचाइराख्नु मुख्य चुनौती रहेको प्रअले भन्नुभयो । हाल यहाँ अध्ययनरत विद्यार्थीलाई पढ्नु पर्छ भन्ने सोच भए पनि नैतिक शिक्षा कमी भएकाले आगामी तीन वर्ष सकेसम्म उनीहरूलाई नैतिकवान् कसरी बनाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँले बताउनुभयो । 

अन्य विद्यालयले अनुशासनमा राख्न नसकी निष्कासन गरेका विद्यार्थीलाई भर्ना लिई तिनीहरूलाई असल बाटोमा केन्द्रित गर्नु बाँकी कार्यकालको काम रहेको प्रअ पनेरुले अठोट गर्नुभयो । त्यसरी भर्ना गरिएका बालबालिकालाई उनीहरूको रुचि अनुसार नृत्यकला, भाषणकला, खेल क्षेत्रमा रुचि भएकालाई खेलमा नै सहभागी गराउने र पठनपाठनमै रुचि गर्नेलाई पठनपाठनमै सहभागी गराउने तयारी विद्यालयको रहेको छ । त्यस्तै विद्यालयलाई सबै किसिमबाट सुविधासम्पन्न बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।    विद्यालयको थप विकासका लागि कुनै कसर बाँकी राखिने छैन, नगरपालिका स्थापनाकालको छोटो समयमा नै कङ्काली विद्यालयले आफ्नो छुट्टै किसिमको पहिचान बनाउन सफल भएको हुनाले आगामी दिनमा पनि यस विद्यालयलाई नगरपालिकाको तर्फबाट गरिने सहयोगमा कुनै कन्जुस्याइँ नहुने चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाका वरिष्ठ शाखा अधिकृत बुद्धिप्रसाद भट्टले बताउनुभयो ।  

हाल यस नगरपालिकामा २४ वटा सामुदायिक विद्यालय सञ्चालित छन् । जसमा करिब ११ हजार विद्यार्थी अध्ययनरत छन् ।   पछिल्लो समय नगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थी बढिरहेको पनि उहाँले जानकारी दिनुभयो ।  चालु आर्थिक वर्षमा यस नगरपालिकाले शिक्षा क्षेत्रमा करिब छ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  शिक्षाको गुणस्तर कायम गर्नकै लागि शिक्षकलाई आवश्यकता अनुसार तालिमको व्यवस्था गरिएको, आवश्यकताको आधारमा दरबन्दी मिलानको काम गर्ने तयारी गरिएको पनि  अधिकृत भट्टले जानकारी दिनुभयो । 

बाल विकास केन्द्र सबलीकरण कार्यक्रम सुरुमा छ वटा विद्यालयमा गर्ने भए पनि व्रmमिक रूपमा बाँकी अन्य विद्यालयमा पनि सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो ।  

Author

शर्मिला पाठक