• २६ पुस २०८१, शुक्रबार

सडक सञ्जाल विस्तार मुख्य चुनौती

blog

यदुप्रसाद भट्ट

मनाङ, माघ २३ गते । मनाङ जिल्लाको विकट मानिने नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक पुग्न सकेको छैन । जिल्ला सदरमुकाम चामे आउन तीन दिनको पैदल यात्रा गर्नु पर्छ । मनाङका अन्य तीन स्थानीय तह सदरमुकामसँग सडक पहुँचमा छन् तर नार्पाभूमि गाउँपालिका अझै सदरमुकामसँग सडक सञ्जालमा जोडिएको छैन । मनाङका जनप्रतिनिधिलाई सडक सञ्जाल विस्तार गर्नु नै मुख्य चुनौती बनेको छ । 

स्थानीयको माग पनि सडक सञ्जाल विस्तार नै रहेको छ । नार्पाभूमि सडक सञ्जालमा नजोडिँदा नागरिकतालगायतका कामका लागि सदरमुकाम आउनै तीन दिन लाग्ने स्थानीयले गुनासो गरेका छन् । त्यसो त नार्पाभूमिले आफ्नो स्थानीय तहको कामका लागि पनि हिउँद महिनामा चामेमा सम्पर्क कार्यालय राखेको छ । हिउँदका पुस, माघ र फागुन तीन महिना नार्पाभूमि गाउँपालिकाका प्रायःजसो काम सम्पर्क कार्यालयबाटै हुने गरेको छ । गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वखेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ को क्षेत्रका रूपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन । स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ देखि चालु आवसम्म बजेट विनियोजन गर्दै आएको छ । 

प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्र्याक खोल्न लागिएको छ । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले मनाङमा सडक सञ्जाल विस्तार भएको दुई दशकपछि नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको बताउनुभयो । उहाँले सडकको ट्र्याक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट २५ लाख, गण्डकी प्रदेश सरकारबाट ४० लाख र गाउँपालिकाबाट ९० लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँदे अधिवेशनपछि प्रदेश र सङ्घ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ ।”

जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाए पनि प्रदेश र सङ्घ सरकारसँग समन्वय गरेपछि थप हौसला थपिएको अध्यक्ष लामाले बताउनुभयो । हालसम्म २६ किलोमिटर सडक खनिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्साभेटरको प्रयोग गरी अपरेटर र सहयोगी राखेर काम भइरहेको लामाको भनाइ छ । चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने लामाले बताउनुभयो । 

सडक विस्तारका लागि पूर्वमन्त्री मनाङेसहितका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । ट्र्याक खोलेर मात्रै नहुने भन्दै लामाले भिरको बाटोमा जोखिम कम गर्न नदीनालामा व्यवस्थित पुल निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिनुभयो ।  चामे गाउँपालिका–३, कोतोमा मस्र्याङ्दी नदीमा मोटरेबल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेबल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।