• १३ साउन २०८१, आइतबार

शिशुलाई एनआइसियुमा भर्ना गर्नुपरेमा लगभग ४८ हजार खर्च हुने

blog

काठमाडौं, २२ माघ । नवजात शिशु बिरामी भएर अस्पतालको सघन उपचार कक्ष (एनआइसियु) मा भर्ना गर्नुपरेमा लगभग ४८ हजार खर्च हुने एक अध्ययन देखाएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको अध्ययनमा नेपालमा एनआइसियुमा भर्ना भएका २८ दिनसम्मका शिशुको उपचारका लागि परिवारले ४७ हजार ९७५ रुपियाँ खर्च हुने देखाएको हो ।  

एक महिनाभन्दा कम उमेरका शिशुहरूको जीवन रक्षाका लागि विशेष स्वास्थ्य उपचार गर्न  सघन उपचार कक्ष (एनआइसियु) को आवश्यकता पर्छ । उमेर नपुगी जन्मिएका, जटिल स्वास्थ्य समस्या भएका, कम तौल भएका नवजात शिशुलाई एनआइसियु अत्यावश्यक पर्छ । 

अनुसन्धानकर्ता उत्तम दवाडीले सरकारी अस्पतालमा एक जना नवजात शिशु भर्ना हुँदा २९ हजार ४८५ र प्राइभेट अस्पतालमा ४७ हजार ९७५ खर्च लाग्ने देखिएको जानकारी दिनुभयो ।   

उहाँका अनुसार खर्च सबैभन्दा बढी शय्या शुल्क, औषधी र प्रयोगशालामा लाग्ने गरेको छ ।  

परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले सरकारी र प्राइभेट गरी चार वटा अस्पतालका एनआइसियुमा भर्ना भएका तीन सय बिरामीका आफन्तलाई गत वैशाख २५ देखि असार ७ गतेसम्म विभिन्न चरणमा प्रश्न, अन्तरर्वार्ता लगायत गरेर तथ्याङ्क सङ्कलन गरी उक्त अध्ययन गरेको जानकारी दिनुभयो । 

उक्त अध्ययनले एनआइसीयूमा भर्ना भएका मध्ये २० प्रतिशत शिशु २० वर्ष भन्दा कम उमेरका आमाबाट जन्माएका थिए । 

एनआइसीयूमा भर्ना भएका मध्ये १३ प्रतिशत बच्चा शल्यक्रियामार्फत जन्मिएको उक्त अध्ययनमा उल्लेख छ । एनआइसीयूमा भर्ना भएका मध्ये २५ प्रतिशत शिशु कम तौलका रहेको उक्त अध्ययनले देखाएको छ । 

परिषद्का सदस्य सचिव डा. ज्ञवालीले अध्ययनले नवजात शिशुको उपचारमा लाग्ने खर्च, एनआइसीयूमा सरकारले गर्नुपर्ने लगानी र सुधार गर्नुपर्ने विषयबारेमा छलफल गर्न र नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।