• ६ माघ २०८१, आइतबार

शैक्षिक सुधारको माग गर्दै शिक्षक धर्नामा

blog

धर्नामा बसेका फकिरचन्द गामी माध्यमिक विद्यालय बरकुर्वाका शिक्षकहरू । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २२ गते । शैक्षिक सुधारको माग गर्दै धनुषाको सबैला नगरपालिका-१२ बरकुर्वामा रहेको फकिरचन्द गामी माध्यमिक विद्यालयका शिक्षक धर्नामा बसेका छन् । विद्यालयका ११ जना शिक्षक शैक्षिक सुधारको १२ सूत्रीय माग राख्दै सबैला नगरपालिकाको कार्यालय परिसरमा धर्ना बसेका हुन् । 

उहाँहरू गत माघ १२ गतेदेखि धर्नामा बस्दै आउनुभएको छ । धर्नामा बसेका शिक्षक सुरेन्द्र यादवले विद्यालयका प्रधानाध्यापक बैजु साहले आर्थिक हिनामिना गरेको तथा विद्यालयको पठनपाठन खराब अवस्थामा पुर्‍याएकाले सुधारको माग राख्दै धर्नामा बसेको बताउनुभयो । 

प्रधानाध्यापक साहमाथि विद्यालयको जग्गाबाट उठेको रकम, छात्रवृत्ति लगायत विभिन्न शीर्षकमा विद्यालयलाई प्राप्त हुने रकम आफ्नो निजी बैङ्क खाता जम्मा गरेर आर्थिक हिनामिना गरेको र विद्यार्थीको पठनपाठनप्रति मतलब नराखेको आरोप छ । 

प्रधानाध्यापक साहमाथि छानबिन गर्न, गुणस्तरीय पठनपाठन लगायत विद्यालय व्यवस्थापनमा लागि पहल गरिदिन सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवलाई १२ सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएर धर्नामा बस्दै आएको शिक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो । 

यस्तै, आफूमाथि लागेको आर्थिक हिनामिनाको आरोप विषय झुटो रहेको प्रधानाध्यापक साह बताउनुहुन्छ । दश महिनाअघि आफू प्रधानाध्यापक भएर आएपछि बैङ्क खाता सञ्चालनका लागि नगरपालिकासँग पटक-पटक सिफारिस माग गर्दा पनि नदिएपछि वडा कार्यालयको सिफारिस बैङ्क खाता खोलेको र सोही खातामा विद्यालयका आम्दानी लगायत विभिन्न शीर्षकमा आउने रकम जम्मा गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । 

सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले धर्नामा बसेका शिक्षकको माग सम्बन्धमा मङ्गलबार भेला बोलाइएको बताउनुभयो । भेलाबाट नै विद्यालय सुधारको निकास खोजिने उहाँले जानकारी दिनुभयो । 

२०१६ सालमा स्थापना भएको यो विद्यालय कुनै समय जिल्लाकै उत्कृष्ट एवम् प्रतिष्ठित थियो । यसै विद्यालयमा पढेका कतिपय विद्यार्थी सफल राजनीतिकर्मी, मन्त्री र गर्भनरसम्मको ओहदामा पुगेका छन् । तर पछिल्लो केही वर्षयता कमजोर व्यवस्थापन र स्थानीय तहको कमजोर उपस्थितले विद्यालय जर्जर अवस्थामा पुगेको छ ।