• १३ साउन २०८१, आइतबार

स्वास्थ्य चौकी भवनको उद्घाटन

blog

नवनिर्मित स्वास्थ्य चौकी भवनको उदघाटन गर्नुहुँदै सांसद खमबहादुर गर्बुजा । तस्बिर : साधन घर्ती

साधन घर्ती  

म्याग्दी (दरबाङ), माघ २१ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, स्थित दग्नाममा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख रुपियाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले आज उद्घाटन गर्नुभयो ।

बागलुङको बन्धन भगवती डेभ एण्ड सायर तिलक जेबीले २०७८ असारमा सो भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माणले सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सांसद गर्बुजाले भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि आवश्यक सामग्री व्यवस्थाको लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबिच सहकार्य र समन्वय गर्ने बताउनुभयो । 

सांसद गर्बुजाले जिल्लाका सबै वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा दिन आफूले थप पहल गर्ने बताउनुभयो । आयोजना कार्यालयका प्रमुख सुनिता श्रेष्ठका अनुसार दुई तलाको भवनमा दुई वटा आवासीय प्रयोजनसहित ९ वटा कोठा, सार्वजनिक शौचालय लगायत संरचना निर्माण भएका छन् । 

स्वास्थ्य चौकी इन्चार्ज सुकमति गर्बुजाले पहिले साँघुरो कोठा भएका भवनबाट सेवा दिँदैआएकोमा अब सहज हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले आठ लाख मूल्य बराबरको पाँच रोपनी जग्गा चार लाख रुपियाँ प्रदान गर्नुभएको थियो ।