• १४ मंसिर २०८१, शुक्रबार

भिरकोटवासीको घर–घरमा खानेपानी

blog

भिरकोट –२ करुङमा निर्माण गरिएको खानेपानीको ट्याङकी । तस्विर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, माघ २१ गते । लामो समयसम्म खानेपानीको समस्याबाट पीडित भिरकोट नगरपालिका –१ र २ का स्थानीयको अहिले घर–घरमा खानेपानी पुगेको छ । 

जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना सङ्घीय खानेपानी कार्यालय पोखराको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा योजना सम्पन्न भएसँगै यहाँका नागरिक लाभान्वित भएका हुन् ।

बयघारी सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामार्फत सगरमाथा डिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि मण्डिकाटार काठमाडौँले बनाएको हो । २०७६ असार २९ गते निर्माण कम्पनीले सम्झौता गरेर काम सुरुवात गरेको थियो । दुई वर्षमा काम सक्नुपर्नेमा कोभिडका कारण डेढवर्ष ढिलाइ गरेर काम सकिएको छ । 

बयरघारी बजारबाट पाँचसय मिटर उचाइमा रहेको करुङमा चार लाख लिटरको रिजर्भ ट्याङकी निर्माण गरी सबै उपभोक्ता खानेपानीको व्यवस्था गरिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले खानेपानी कार्यालयले एक हजार ७७ घरधुरी र नौ हजार ७९५ जनालाई पुग्नेगरी योजना निर्माण गरेको बताउनुभयो । 

उहाँले अहिले यहाँ एक ट्याङ्कीबाट ८४४ घरधुरीका आठ हजार १८ जनालाई खानेपानी उपलब्ध भएको बताउनुभयो । खानेपानी योजना सात करोड २१ लख ८४ हजार ८४ रुपियाँमा खानेपानी निर्माण गरिएको हो । खानेपानी योजना सम्पन्न भए पनि अहिलेसम्म उपभोक्तालाई हस्तान्तरण गर्न भने बाँकी छ ।