• १३ साउन २०८१, आइतबार

सरकारी शुल्कमा निजीमा क्यान्सर उपचार

blog

क्यान्सर । फाइल तस्बिर

चितवन, माघ २१ गते । चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापीलगायतका सेवा दिएको हो ।

इन्स्टिच्युटका रेडिएसन अङ्कोलोजिष्ट डा.सुवास ठाकुरका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको ठाकुरले बताउनुभयो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् ।

दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको उहाँको भनाइ छ । डा.ठाकुरले भन्नुभयो, “हामी कहाँ रेडियोथेरापीलगायत कुनै पनि उपचार र परीक्षणका लागि पालो कुर्नुपर्ने झन्झट हुँदैन ।” महिनौँ पालो पर्खुनुपर्दा क्यान्सर झन् फैलिन सक्ने भन्दै उहाँले पत्ता लागेपछि नियमित उपचारमा लैजाने बताउनुभयो ।

उहाँले थप्नुभयो,“रेडियोथेरापी गर्नुपरे आज योजना बनाएर भोलि नै गरिहाल्छौँ ।” उहाँले एक÷दुई महिनाअघि गरेको योजनाका आधारमा रेडियो थेरापी गर्दा योजनाभन्दा अन्यत्र क्यान्सर फैलिनसक्ने खतरा रहने बताउनुभयो । क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताउनुभयो । 

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, इण्डोस्कोपी, भिडियो एक्स-रे, एक्स-रे, ईसिजि, क्याथल्याब, ए ग्रेडको प्रयोगशाला, आइसियु, एनआईसियू, सिसियू रहेका छन् ।

यहाँ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्दछन् । बिरामीको उच्च चापका कारण पालो कुर्नुपर्ने हुन्छ । पालो नपाएर राजधानी काठमाडौँ र भारतलगायतका देशमा पुग्नुपर्ने बाध्यता रहेका बिरामी निजी क्षेत्रमा यही उपचार पाएका हुन् । रासस