• १३ साउन २०८१, आइतबार

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

blog

गुणबहादुर रोका 

सुलीकोट, माघ २१ गते । गोरखा सिरानचोक गाउँपालिका-६ नयाँसाघुमा भएको निशुल्क मुटु जाँच स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् । सहिद सुरेश वाग्ले वासु स्मृति प्रतिष्ठान नेपाल, सिरानचोक गाउँपालिका र मुटु जोगाऔं काठमाडौंको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा एक हजार ८२ जनाले निशुल्क सेवा लिएको प्रतिष्ठानका अध्यक्ष विकास वाग्लेले जानकारी दिनुभयो । 

शिविरमा उपचार लिएकामध्ये दुई सय ७१ जनाले इसिजी र एकसय ९८ जनाले इको जाँच गराएका उहाँले बताउनुभयो । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टाराईको नेतृत्वमा रहेका ९ जना विशेषज्ञ चिकित्सकसहित २४ जना स्वास्थ्यकर्मीको टोलीले निःशुल्क उपचार प्रदान गरेका थिए । “उपचार सेवा लिएकामध्ये १४ जना मुटुरोगका गम्भीर बिरामी फेला परेका छन्, उहाँले भन्नुभयो, “गम्भीर प्रकृतिको समस्या देखिएका बिरामीहरुको छिटोभन्दा छिटो मुटुको अप्रेसन गर्नुपर्ने पाइएको छ ।”

मनमोहन काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर तथा सहिद गङ्गालाल ह्रदय केन्द्रको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा मुटु जाँचका लागि आएका व्यक्तिहरुलाई निशुल्क परामर्श सेवा सहित आवश्यकताका आधारमा औषधी वितरण गरिएको उहाँको भनाइ छ । 

उपचार सेवा लिएकाहरुले गाउँमै निशुल्क मुटुको जाँच गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले अन्यत्र अस्पतालमा पुगेर हजारौं रुपियाँ खर्च गरेर गर्नुपर्ने मुटुको जाँच सेवा स्थानीय स्तरमा विशेषज्ञ चिकित्सकबाट जाँच गर्न पाएको भन्दै खुशी व्यक्त गर्दै आयोजना गरी सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।