• १७ असार २०८१, सोमबार

कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण

blog

अग्रज पत्रकार गणेश जिसीको कथा सङ्ग्रह ‘मृत्युफूल’को विमोचन गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ २१ गते  । नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुचि राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो । 

साहित्यकारहरु सनत रेग्मी, हरिप्रसाद तिमिल्सेना, महानन्द ढकाल, विष्णुलाल कुम्हाल, लेखप्रसाद प्याकुरेल र लेखक नरेन्द्रजङ्ग पिटरले शनिबार जिसीको कथा सङ्ग्रह मृत्युफूलको संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै समालोचक चरित्रा शाहले जिसीको कथा सङ्ग्रहमा सामाजिक परिवेश र पात्र छनौटको सन्दर्भमा न्याय गरिएको बताउनुभयो । शाहले भन्नुभयो, ‘कथा सङ्ग्रहमा सामाजिक यथार्थ झल्किएको छ ।’ 

२४ वटा कथा रहेको कथा सङ्ग्रहमा सामाजिक र राजनीतिक विषयमा समाजको यथार्थ चित्रण गरिएको शाहको भनाइ छ । यसैगरी समालोचक गीता अर्यालले कथा सङ्ग्रहमा मुलुकको पछिल्लो सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई राम्रोसँग उजागर गरिएको बताउनुभयो । 

भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगञ्ज अन्तर्गतको भाषा तथा समालोचना विभागले आयोजना गरेको कथा सङ्ग्रह विमोचन, समीक्षा र रचना वाचन कार्यक्रममा नेपालगञ्जमा क्रियाशील विभिन्न साहित्यकारले रचना वाचन गर्नुभएको थियो । 

लामो समय नेपाली सेनामा बिताउनुभएका कथाकार जिसीले अवकाशपछि पत्रकारिता र साहित्यमा क्रियाशील रहँदै आउनुभएको छ । उहाँका विभिन्न पुस्तक, कथा, कविता, नाटक र खोज कृति गरी यसअघि ६ वटा साहित्यिक कृति प्रकाशित भएका छन् ।