• २३ वैशाख २०८१, आइतबार

भित्र खोक्रो बाहिर बोक्रो !

blog

भित्र खोक्रो बाहिर बोक्रो ! हो, यो पक्कै माझिएको उखान । उखान स्थानीय परिवेश, वातावरण अनुकूल चलन चलायमान रहेका ...। त्यसका गतिमान चलायमान रहे–भएका उक्ति । त्यसको आराधना–अभ्यर्थना–अर्थबोध स्थानीय परिवेशले निर्धारण गर्दाे ध्यानमै हाम्रो स्वतन्त्र भूपरिवेष्टित रहेर निर्बाध हुर्केका, हुर्कंदो अवस्थामा रहिआएको यथार्थ आख्यानका लगनशील स्वरूप । यस सत्य तथ्य स्वीकारोक्ति आयामिक छन् । आयाम फन्किनु । 

फन्किनु फन्को मार्नु होइन र ? चिल र गिद्धहरू माथि माथि फन्किन्छन् । हुन्छन् आँखा निकै साना ! पत्यार नलाग्दा ! हुन्छन् तर शक्तिशाली ! त्यत्रो उचाइबाट देख्छन् जमिनका सिनो–आहार । पखेटा दुवै खुम्च्याइ निमेष भरमै आहारा स्थलमा झर्छन् । प्रकृतिको लीला अपरम्पार । कसैको लागोइन दया.. ! न कहर, न हरिहर ! दुर्लभ भनुँ त सुलभ हाम्रै पहुँचमा छ । हाम्रै जीवनका कहानी यथार्थ । यथार्थ सपना होइन । निद्रित बेलामा भोगिने । विपनामा नि भोगिने यथार्थपरक विपनाका सपना समाज संस्कार, परिवेश सुधार्ने परिवर्तनकारी स्वस्थ पहल । पहल–प्रयास । मार्मिक कर्म स्वधर्म । धर्म एक कर्म तर स्वस्थ स्वनाम धन्य । स्वानम धन्य कर्म । बन्छ बोधिमर्म । मर्म बोधिज्ञान–परमार्थ । बुद्धलाई यही बोधि ज्ञानले बनाए भगवान् बुद्ध । यो अनुभूत गर्ने तत्वसार । 

तìवसार बुझिन्छ । खुल्छ जब तात्त्विक   ज्ञानपुञ्ज । कुञ्जहरूमा खुल्छ सग्लो पुञ्ज –ज्ञानका कुञ्ज । कुञ्ज कुञ्ज एकत्रित भएर बन्छ पुञ्ज । पुञ्ज कुञ्जै कुञ्जका विशाल रूपकार । नस्वीकारौँ किन र ? स्वीकारोक्ति जीवन । नकारोक्ति अहङ्कार । अहङ्कार आवेश । आवेश क्षणिक । रिसराग क्षणिक । दीर्घ जीवनार्थ स्वीकारोक्ति । मन पराउँछु मुस्कुराहत । हंसमुखले आनन्द सञ्चार गर्छ । जिउनु आनन्द प्रवाह गर्नु हो भन्छु । उमेरको बचपना बेलादेखि ‘यो हंसमुख ठिटो, थोते केटो’ मामाले भन्नुभएको झल्झली सम्झन्छु । सम्झन सक्ने खुबी बाल क्षमता । झाङ्गिँदै फैलनु सार्थकता । लाग्छ अहिलेका प्रहरमा झनै । झाङ्गिँदै फैलिनु कल्पवृक्षका रचगुण । कल्पवृक्ष आत्मभिज्ञान । स्वाभिमान आत्मबलबाट प्रज्जवलित रहन्छ । टेको चाहिन्न त्यसलाई कसैको नि । आत्मर्भिरता कल्पतरूको स्वाभिमान । स्वाभिमान आत्मनिर्भरताबाट निस्कन्छ । 

आत्मनिर्भरता आत्माबाट होइन प्रज्जवलित हुन्छ भित्रभित्रै आफैँबाट । आफूभित्रका उष्ण आत्मबलकै करामत । मतबाट जितिन्न निर्वाचनमा नेताले झैँ । आत्मबल अन्तरालबाट हुन्छ प्रज्जवलित आफैँ । न हाइ हाइ । न खाइ खाइ । लेखाजोखा हुन्न । चाहिन्छ नै किन र ? जहाँ कर्म छ । जहाँ मर्म हुन्छ । कर्म र मर्म जुम्ल्याहा हुन् । रूपाकृत उस्तै उस्तै । छुट्याउनै धाउधाउ । आमाले पनि कठिन साध्य गरी छुट्याउँछ । जुम्ल्याहा माताबाट सिके जानेको रामकहानी । यो ! सहोदर मेरी मुमा बाजे राम–लक्ष्मण पर्थे जुम्ल्याहा । दुवै जना उस्तै । राम बाजे भन्थेँ लक्ष्मण पथ्र्यो । लक्ष्मण बाज्या भन्थेँ राम पथ्र्यो । भुलभुलैयाको सुख कहानी । हुँदोरहेछ यस्तै । किंकर्तव्यविमुढ । प्रकृतिको लीला अपरम्पार । कहिल्यै यथास्थिति नरुचाउनु प्रकृतिको सारांश । सारांश सबै सारका पनि सार । अर्के मूल तत्व । सारगर्भित । 

गर्भैमा सारतत्व निहित । निहित खाँदिएको । रूपाकार–रूप आकार लिन थालिएसँगै गर्भे बालक प्राकृत तवरले झन्झन् हृष्टपुष्टिदै जानु बढ्नु प्रकृतिको प्रारूप ! मान्छौँ, जान्छौँ, थाहा दिन्छौँ तर समलिङ्गी सहयोगी बाँड्छौँ । अनुभूति अनुराग । रागबाट हुन्छ उद्भव अनुराग । राग जपना ध्याउन्न । अनुराग अनतरमनको आशक्ति । आशक्ति छुटिन्न । चुँडाल्न खोजे कसैले प्रतिकारमय बन्छ । प्रतिकार व्यक्तिपरकमै रहन्न सीमाबद्ध । हुन्छ बरु राज्य परक नि ! राज्यपरक भन्नु कानुनी दायरा पुग्नु । दायरा कानुनका राज्य व्यवस्थाका पहुँच पुग्नु । 

दण्डनीय बन्छ । हुन्छ कानुनी दायरा । सीमाबद्ध हुनु गुपचुप राख्नु । गुपचुप दीर्घकालीन न्याय बन्दैन । उकुम बन्छ घाउ । उकुम बन्नु भित्रभित्रै मक्किनु । घाउको उपचार हुनु उत्तम बेलैमा । ढिलोपन व्यभिचार । उकुम क्यान्सर । बेलैमा उपचार भए जोखिममा परोइनन् ज्यान । समयको महिमा अपरम्पार । सबै सबै नै समयजिवी हामी । यस्तै त हो !

भित्र खोक्रो, बाहिर बोक्रो । माझिएको उखान–टुक्का । विषयान्तर त भएन र ? प्रश्नको पेटारो आफैँसित...! भइए नै पनि के भो र ! म निबन्ध नै त कोर्दै छु । निबन्धले काँचुली फेरेछ नै । यसमा के को लाज ? लाज त लाग्नु पर्छ ढाँट्नुमा । ढाँट्नु आफैँ प्रतिको अपराध । अपराध अन्याय आफँै प्रतिको । आफैँप्रतिको अन्याय ! योभन्दा नारकीय अपराध हुनु नै के छ ? चाहिनँ ढाँट्न आफैँसित । 

यो भन्दा महापाप अरू छैन के र ? जयतु संस्कृतम् ! जयतु संस्कृतम् । नारा थियो एकताका । संस्कृत महाविद्यालय तीनधारा पाठशालामा । सेताम्य धोतीकुर्ता, कालो कोट–मोजा, कालो जुत्ता । बिना टोपी एकआपसमा अभिवादन थियो –जयतु संस्कृतम् । सत्र अठाह्र वर्षे नव युवक । त्रिचन्द्र कलेजको पहिलो वर्ष थियो । मानचित्र फेरिएछ । नामोनिसान रहेन अहिले । शुरशमशेर जर्णेलका भव्य दरबार त्यहाँ । नारायणहिती (हिटी) दन्त्य नेपाल भाषाका (त) मूर्ढण्य ट नेपालीका । नारायणहिटी दरबार वर्तमान स्वरूपका थिएनन् । आकाश जमिनकै अन्तर । सम्झँदै लाग्छ कसो कसो...! ताजुब लाग्छ 

आफैँलाई ! हम्मेहम्मे । विचरणमा छु भित्र खोक्रो बाहिर बोक्रो उखान । सारगर्भित लाग्यो भित्रभित्रै आफैँलाई । भनेँ मनमनै आफैँलाई, ‘मित्रवर जितेन्द्रजी रसिक नितान्तै ! उहाँको अन्तराल विशुद्ध शुद्ध ! घरैमा थोरै मान्यवर, मित्रवर भेटाएको आत्मानुभूति । प्रसङ्ग भित्र खोक्रो बाहिर बोक्रो टुक्का नभन्नु भएको भए सर्लक्क उखान गढ्ने थिएन यो मनमा । निर्बन्ध निबन्धका आयामिक छलाङ कहाँ मार्न पाउथेँ ?