• २० वैशाख २०८१, बिहिबार

कृषकको गुनासो : परिश्रमको फल मिलेन

blog

आफ्नो बारीमा फलाएको १० किलोभन्दा बढीको मुला देखाउँदै पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्की । तस्विर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले (धनकुटा), माघ १९ गते । धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गर्नुभएको छ ।

मूला राम्रो उत्पादन भए पनि विक्री नभएको उहाँको भनाइ छ । ब्यापारीले मुला प्रतिकिलो ५ रुपियाँभन्दा बढी नहाल्नेगरेको कार्कीले बताउनुभयो । मुलाखेतीमा लगानी समेत नउठ्ने उहाँको भनाइ छ । “मेरो टनेलमा एउटै १० किलोसम्मको मुला फल्यो यसमा हाम्रो धेरै मिहिनेत र परिश्रम भयो । तर बिक्री हुँदैन यो कुरा कसले बुझिदिने हो ?” कार्कीले भन्नुभयो । मुला बिक्री नहुँदा त्यतिकै खेर गएको उहाँले बताउनुभयो ।  

धनकुटाकै छथर जोरपाटी क्षेत्रमा पनि मुलाको अत्यधिक खेती हुनेगरेको छ ।  मुलाको स्थिर मूल्य नहुँदा पछिल्लो समय कृषकले मुलाखेती गर्न छाडेका छन् । मुलाले लगानीसमेत नउठाएको कृषकको गुनासो छ । लगानी नउठेपछि यसको खेती गर्न छाडेर अन्य खेतीतर्फ लागेको छथर जोरपाटी गाउँपालिका –१ का कृषक इन्द्र सारु मगरले बताउनुभयो । 

मुलाले लगानी धान्न प्रतिकिलो कम्तीमा पनि ११ देखि १२ रुपियाँ प्रतिकिलो पाउनुपर्ने कृषकको भनाइ छ । यो वर्ष मुला १० रुपियाँभन्दा बढीमा बिक्री नै नभएको उहाँको गुनासो छ । “मुलाले बर्सेनि भाउ नपाउने समस्या हुन थालेपछि हामीले यो क्षेत्रमा बर्सेनि  मुलाखेती घटाएर आलु बन्दागोभीजस्ता बालीको खेती बढी मात्रामा गर्न थालेको छौं” मगरले भन्नुभयो ।  

पहिलेदेखि करिब एकनास अति कम मूल्यमा मुला बिक्री गर्नुपरेको धनकुटा सिँधुवाका कृषक अमर घिमिरेले बताउनुभयो । ‘पहिले लगानी थोरै हुँदा पनि आठ दश रुपियाँमा बिक्थ्यो, अहिले लगानी पहिलेभन्दा दोब्बर हुन्छ । तर पनि मूल्य कहिले बढेन’ उहाँले भन्नुभयो । 

करिब १० रुपियाँको हाराहारीमा मूल्य पाउँदा मात्र कृषकलाई केही राहत हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो । त्योभन्दा पनि कम मूल्य भएमा कृषकले घाटा खाने उहाँको भनाइ छ । धनकुटामा बर्सेनि  पाँचसय ८५ हेक्टर क्षेत्रफलबाट १० हजार मेट्रिक टनको हाराहारीमा मुला उत्पादन हुनेगरेको छ ।